|

चितवन : सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजस्वबढ्ने भएको छ। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा नेपालीले मूल्य अभिवृद्धि कर (भ्याट)सहित १५० रुपैयाँ, सार्क देशकाले एक हजार र अन्य देशकाले दुई हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। 

यसअघि निकुञ्ज प्रवेश गर्दा नेपालीले ११३, सार्कले ८४७ रुपैयाँ ५० पैसा र अन्य देशकाले एक हजार ६९५ रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो। त्यसैगरी व्यावसायिक जङ्गल यात्रामा कारले तीन हजार र जिपले पाँच हजार रुपैयाँ तिर्नुपर्ने छ। यसअघि जङ्गल यात्रामा सबै सवारीले चार हजार ५२० रुपैयाँ तिर्नुपर्ने हुन्थ्यो। 

यसैगरी हात्ती यात्रामा व्यक्तिको मात्रै नेपालीलाई ५००, सार्कलाई एक हजार ५०० र अन्य देशकालाई दुई हजार ५०० रुपैयाँ निर्धारण भएको ढकालले जानकारी दिए। यसअघि हात्ती यात्रामा बच्चाका लागि ५० प्रतिशत छुट भए पनि अहिले छुट दिइएको छैन। 

हात्ती चढ्दा पर्यटकले निकुञ्ज प्रवेश शुल्क र हात्ती शुल्क तिर्नुपर्ने हुन्छ। हाल हात्तीमा घुम्ने नेपालीले एक हजार १००, सार्क मुलुककाले एक हजार ६०० र अन्य मुलुककाले दुई हजार १०० रुपैयाँ हात्तीका लागि तिर्नुपर्ने हुन्छ। 

त्यसैगरी जिप सफारीका लागि पर्यटकले प्रवेश शुल्कबाहेक जिपका लागि एक हजार २५० रुपैयाँ बुझाउनुपर्ने हुन्छ। सरकारले राजपत्रमा नयाँ शुल्क प्रकाशन गरेसँगै असोज २९ गतेबाट लागू गरिएको ढकालले जानकारी दिए। 

होटल व्यवसायीले शुल्क वृद्धिको पूर्व जानकारी नहुँदा मर्कामा परेको जनाएका छन्। ढकालले भने पूर्वजानकारी भएमा घटाउन लबिङ हुने हुँदा एकै पटक शुल्क सार्वजनिक गर्ने गरिएको बताए। 

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्कवापत १६ करोड ७८ लाख ५४ हजार ६५० रुपैयाँ र सवारी शुल्कवापत तीन करोड २५ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। निकुञ्जले कूल राजस्व २४ करोड ८१ लाख ९९ हजार ९९८ रुपैयाँ सङ्कलन गरेको थियो। गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.