|

डडेल्धुरा : परशुराम नगरपालिकाको कार्यालय सार्ने विषयमा चुलिएको विवाद साम्य भएको छ।

नगरपालिकाको आफ्नै भवनको निर्माण कार्य सम्पन्न भएपछि नयाँ भवनमा दैनिक कामकाज गर्नेगरी कार्यालय सार्ने विषयमा चुलिएको विवाद साम्य भएको हो।

बुधबार विवाद समाधान गर्न जोगबुडा पुगेको जिल्ला र प्रदेशस्तरीय टोलीले अन्तिम निष्कर्ष निकालेको हो। जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले सहमति जुटाएको हो।

दुई महिनामा आवश्यक जग्गा खरिद गरेर नयाँ भवनबाट कार्य सञ्चालन गर्ने नगरप्रमुख भीमबहादुर साउँदको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। टोलीले नगरपालिकाको ४ किल्ला अनुगमन गरी स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ बमोजिम अवश्यक पर्ने जमिन खरिद तथा भौतिक पक्ष व्यवस्थापन गर्न समिति गठन गरिएको हो।

समितिको सदस्यमा वडा नम्बर १२ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य गणेशप्रसाद जोशी, वडा नम्बर ७ का अध्यक्ष केशव बोहरा, कार्यपालिका सदस्य महावीर कामी र परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य रहेका छन्।

उक्त समितिले दुई महिनाभित्र सम्पूर्ण व्यवस्थापकीय पक्ष मिलाएर कार्यपालिका बैठकमा प्रतिवेदन पेश गर्नुपर्ने निर्णय समेत गरिएको छ। यसका साथै आवश्यक पर्ने थप भवन निर्माण गर्नका लागि योजनाअनुसार तला थप्न प्रदेश सरकारसंग माग गर्न नगर कार्यपालिकालाई सुझाव दिने निर्णय समेत गरेको जनाइएको छ।

डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेही, महेशकुमार महरा, प्रदेश सांसद कुन्ती जोशी, पुर्वजिल्ला विकास समिति सभापति गजेन्द्र शाही, नेपाली कांग्रेस पूर्व सभापती रघुवर भट्ट, जिल्ला समुन्वय समिति अध्यक्ष गणेशराज भट्टलगायतको सहभागितामा उक्त निर्णय गरिएको हो।

नगरपालिकामा देखिएको विवाद तत्कालका लागि समाधान भइसकेकाले बिहीबारदेखि निरन्तर रूपमा नगरपालिकाबाट हुने सम्पूर्ण काम गर्न सकिने परशुराम नगरपालिकाका नगरप्रमुख साउँदले जानकारी दिए।

के थियो विवाद?

असोज २५ गते बसेको कार्यपालिका बैठकमा बहुमत सदस्य कार्यालय सार्ने पक्षमा उभिएका थिए। तर, नगरप्रमुख भीमबहादुर साउँदले कार्यालय सार्ने निर्णयका विषयमा भवन पूर्णरूपमा तयार भइनसकेकाले सम्पूर्ण पूर्वाधार निर्माण भइसकेपछि मात्रै कार्यालयको व्यवस्थापन हुने दाबी गरेका थिए। नगरप्रमुख साउँदले उपलब्ध भवन र जमिनको भोगाधिकार पूर्णरूपमा पाएपछि उक्त भवनमा जाने बताएका थिए।

नगरपालिकाका बहुमत कार्यपालिका सदस्य, नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता तथा स्थानीयले परशुराम नगरपालिकाको कार्यालय तत्काल कार्यालय सार्नुपर्ने दवाब सिर्जना गर्दै हात र टाउकोमा कालो पट्टी बाँधी नाराबाजी गरेका थिए।

मंगलबार जोगबुडा बजारमा नेकपाको आयोजनामा र्‍याली निकाली बजार परिक्रमा गरिएको थियो। जोगबुढा रहेको नगरपालिकालाई नयाँ बनेको भवनमा सार्नुपर्ने र लिखित निर्णय गर्नुपर्ने भन्दै नेकपा कार्यकर्ता र जनप्रतिनिधिले केही सातादेखि दबाब दिँदै आएका थिए। मंगलबार आन्दोलनका कारण स्थानीय जोगबुडा बजार पूर्ण रूपमा बन्द भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.