|

तेह्रथुम : जोगी समुदायको पुर्ख्याैली पेशामा पुरुषहरू जाने गरेका छन् भने जोगी समुदायका महिलाहरू यति बेला व्यवसायिक अकबरे खुर्सानी खेतीमा लागेका छन्। पुरुषले गाउँ सहरबाट ‘फेरी’ लगाएर ल्याएको चामल पैसाले मात्रै घरखर्च चलाउन मुस्किल पर्दै गए पछि जोगी समुदायका महिलाहरू अकबरे खेतीबाट मनग्ये आम्दानी गर्न थालेका हुन्।

तेह्रथुमको फेदाप गाउँपालिका २, ओयाक्जुङमा रहेका जोगी समुदायका पुरुषहरू आफ्नो पुर्ख्याैली पेशा फेरी लगाएर जीविकोपार्जन गर्ने काममा छन् भने महिलाहरू अकबरे खुर्सानीखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्। आफ्नो बारी नभए पनि अर्काको बारी भाडामा लिएर चार वर्षदेखि अकबरे खेती गरेको करुणा जोगीले बताइन्। 

पहिले पहिले पुरुषहरू गाउँ सहरतिर गएर फेरी लगाउँदै अन्न पैसा ल्याउँथे। त्यसकै भरमा घर चलाउनु पर्थ्याे तर आजकाल थोरै लागनीबाट धेरै आम्दानी लिन सकिने अकबरे खेती जोगी समुदायका महिलाको मुख्य आम्दानीको स्रोत बनेको छ। खोर्सानी बेचेको पैसाले खान, लगाउन र घर व्यवहार चलाउन पनि सजिलो भएको बालकुमारी जोगीले बताइन्। 

अकबरे खोर्सानी यस वर्ष प्रतिकेजी ३०० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ। गतवर्ष २० हजार रुपैयाँको अकबरे बेचेकी निशा जोगीले यसवर्ष ५० हजार रुपैयाँको बिक्री गर्ने बताइन्। गाउँमा उत्पादन गरेको अकबरे खरिदका लागि आजकाल बारीमै ब्यापारीहरू आएर लैजाने गरेका छन्। घरखर्च चलाउन महिलाहरूले उत्पादन गरेको खुर्सानीको आम्दानीले सहज भएकोले आफूलाई पनि व्यवहार टार्न सजिलो भएको देवनारायण जोगीले बताए।

अलैंची र अदुवापछि जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अकबरे खुर्सानी बिक्री गरेर जोगी समुदायका किसानले छोटो समयावधिमा लाखौं रुपैयाँ गाउँमा भित्र्याउन सफल भएका छन्। पुरुषले फेरी लगाएर ल्याएको अन्न पैसा र महिलाले अकबरेबाट गरेको आम्दानीले घर खर्च चलाउन, छोराछोरी पढाउन, मीठो मसिनो खान, राम्रो लाउन सहज भएको उनीहरूको भनाई छ। 

यसक्षेत्रमा उत्पादित अर्गानिक खुर्सानी नेपालको पूर्वी तराई र भारतका सिलिगुढी, दार्जीलिङ र जोगवनी लगायतका बजारमा निर्यात हुने गरेको छ। यसपटक ३०० बोट खुर्सानीबाट २० हजारको आम्दानी गरेको सुकमाया जोगीले बताइन्। अर्गानिक अकबरे खुर्सानीको माग भारतीय बजारबाट समेत आउन थालेपछि यसवर्ष खुर्सानी खेती बढाएको उनले बताएकी छन्। 

लेक तथा औलो दुबै क्षेत्रमा फस्टाउने यो बालीतर्फ अहिले कृषकको लगानी समेत बढ्न थालेको छ। अहिले जोगी समुदायका महिलाहरूले धान तथा मकै फल्ने खेतबारी मासेर अकबरे खेती गर्ने गरेका छन्। बजारमा बिक्री गर्ने समस्या नभएको भए पनि उनीहरूले खुर्सानीको अचार बनाएर समेत बेच्ने गरेका छन्। स्थानीय बजारमा बिक्री हुनुका साथै अकबरे धनकुटा, धरान, इटहरी, विराटनगर र काठमाडौंसम्म कोशेलीको रुपमा पनि लैजाने गरेका छन्। 

एकातिर नगद आम्दानी हुने अर्कातर्फ अकबरे खुर्सानी दैनिक खाँदा विभिन्न रोगको औषधि समेत हुने गरेकाले अकबरे खेतीको आकर्षण बढ्न थालेको हो। यो व्यवसाय महिलाहरूको आर्थिक स्तर उकास्नका लागि राम्रो आम्दानीको माध्यम बन्न थालेको छ। आम्दानीको मुख्य स्रोत बनेपछि अकबरे खेतीतिर कृषक उत्साहित बनेका हुन्। 

जोगीहरूको परम्परागत फेरी लगाउने पेशा दिनानुदिन संकटमा पर्दै गएपछि जीवनयापनका लागि व्यवसायिक विकल्प खोज्नु उनीहरूको आवश्यकता बनेको छ। गरिब तथा लोपोन्मुख जातिको सूचीमा रहेका जोगी, माझी जस्ता समुदायका लागि स्थानीय सरकारले दीर्घकालीन योजना बनाएर सहयोग गर्न सके उनीहरूको जीवनयापन सहज हुने अगुवाहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.