|

उदयपुर : नृत्यमा अत्यधिक रुचि राख्थे उदयपुरका गायक शिव थापा मगर। मगर घरबाट चलचित्रको हिरो बन्न दुई दशकअघि काठमाडौँ छिरे। तर अन्ततः उनी हिरो नभएर गायक बने। अहिले गीत गाउँदै जीवन विसाउने चौतारी खोजिरहेका छन् उनी। ‘२०५६/०५७ सालतिर म प्रवेशिका परीक्षा दिएर हिरो बन्न काठमाडौं छिरेको थिएँ’, मगरले भने, ‘अहिले गायक बनेर घर फर्कें भन्दा फरक पर्दैन।’

व्यावसायिक रूपमै गायन क्षेत्रमा जम्दै गरेका मगरले ६० भन्दा बढी गीतहरू बजारमा ल्याइसकेका छन्। ‘लोक जोडिएका आधुनिक, पप तथा रक आइटमका गीतहरू बजारमा ल्याएको छु’, थापा मगरले भने, ‘मगर भाषामा आधारित संस्कार सँस्कृतिसँग जोडिएका गीतहरू पनि गाउने गर्छु।’

यसरी बने गायक

२०३८ सालमा उदयपुरको उदयपुरगढी गाउँपालिका– ५ डुम्रिटारमा बुबा प्रेम थापा मगर र आमा मोतीमाया मगरको कोखबाट जन्मिएका सात सन्तानमध्ये गायक मगर चौथो सन्तान हुन् अर्थात् कान्छो छोरा। गाउँ नजिकै रहेको श्री धुवाजन माध्यमिक विद्यालय बाहुनीटारबाट ०५६ सालमा प्रवेशिका परीक्षा दिए उनले। ‘मलाई सानैदेखि चलचित्रको हिरो बन्ने रहर थियो, सानोमा खुब नाच्थेँ’, उनले भने, ‘प्रवेशिका परीक्षा दिएपछि नृत्य सिक्न काठमाडौँ गएँ।’ मगरले विगत यसरी स्मरण गरे, ‘काठमाडौंको कोटेश्वरमा रहेको मनमन्दिर कला केन्द्र नृत्य सिक्न भर्ना भएँ। त्यहाँ एक साता नृत्य सिकेपछि फेरि संगीत सिक्न थालेँ।’ 

मगरले एक साता नृत्य सिकेपछि संगीत सिक्न थालेका हुन्। ‘म नृत्यको कक्षा सुरु हुनुभन्दा एक घण्टाअघि नै पुग्थेँ’, उनले भने, ‘एक दिन मैले त्यहाँ सुरिलो भाकामा सारेगमपधनिसा भनेको सुनेँ अनि गुरुलाई म पनि संगीत सिक्छु भनेँ। गुरुले स्वरको परीक्षण गर्नुभयो, पास भएँ अनि सिक्न थालेँ।’ 

त्यहीँबाट चलचित्रको नायक बनेर रमाउने सपना मारेका मगरले दुई वर्ष निरन्तर रूपमा संगीत सिके। ‘घरमा आर्थिक अवस्था कमजोर, गाउँको मान्छे, कुनै पेसामा आवद्ध भएर काम गर्दै पढ्नुपर्ने अनि सिक्नु पर्ने थियो। दुई वर्षसम्म सिकेँ अनि सिक्नलाई कक्षा छाडे पनि अभ्यास भने गरिरहेँ। अहले गायकको रूपमा दर्ज छु’, उनले फिस्स हाँस्दै भने।

मगरका एल्बमहरू

मगरले दुई वर्ष लगाएर संगीत सिकेपछि एल्बम निकाल्ने रहर अधुरै रह्यो। ‘०५७ सालदेखि भण्डै ०६० सालसम्म सिकेँ। करिव दुई वर्ष पूरा संगीत सिकेँ तर एल्बम निकाल्न सकिनँ’, दुखेसो गर्दै मगरले भने, ‘०६२ सालमा दुईवटा गीत समावेश गरेर पहिलो एल्बम सोल्टीज्यू निकालेँ।’

मगरको सोल्टीज्यूमा ‘सोल्टीज्यू’ र ‘सुनाखरी पाखैमा...’ पूर्वेली भाकाका गीत थिए। सोल्टीज्यूपछि मगरले विभिन्न प्रकारका सातवटा गीत समावेश भएको ‘भुमरी’ एल्बम बजारमा ल्याएको बाताउँछन्। ‘भुमरीपछि मैले सातवटै गीत समावेश गरेर ‘एक्सेप्ट मी’ नामक एल्बम ल्याएँ’, उनले भने, ‘भुमरीका गीतहरू दर्शक श्रोताले धेरै मनपराइदिनुभयो अनि पुनः बजारमा ‘उत्साह’ लिएर आएँ।’ एक दशक गायन क्षेत्रमा लागेका मगर भन्छन्, ‘म धेरै एल्बम निकालेको गायक बन्न पनि रुचाउँदिनँ। बाँच्नलाई गाउने गायक पनि हुँ।’ 

चप्पल नलगाईकन नाच्दा प्रथम

पहाडी क्षेत्रको दुर्गम गाउँमा जन्मिएका मगर रेडियो नेपालका गीत सुनेर नाच्ने अभ्यास गर्थे। भन्छन्, ‘गाँउबाट दुई घण्टा पैदल हिँडेर श्री बाहुनीटार धुवाजन माध्यमिक विद्यालय पुग्नुपथ्र्यो। त्यहाँ म नाचेर सबैलाई जित्ने गर्थें’, मगर सम्झँदै भन्छन्, ‘कक्षा ४ मा पढ्दै गर्दा २०५० सालतिर सदरमुकाम गाईघाटमा जिल्लास्तरीय नृत्य प्रयोगितामा भाग लिन विद्यालयमा पत्र आयो। विद्यालयले मलाई पनि नृत्य प्रतियोगितामा सहभागी गराउन लग्यो, त्यहाँ म प्रथम भएँ।’

कटारी बजारसम्म सात घण्टा पैदाल हिँडेर आउनुपथ्र्यो। उनले भने, ‘त्यो बेला चप्पल नलगाईकन नृत्यमा भाग लिएको थिएँ। अहिले सम्झँदा विरक्त लागेर आउँछ। चप्पल नलगाईकन नाच्दा सबैले मलाई हेरे’, उनले भने, ‘प्रथम भएपछि सबै साथीहरू रमाए। पैसा पनि पाएका थियौँ। कटारीमा आएर सामूहिक फोटो खिच्यौँ। त्यहाँबाट चलचित्रको हिरो बन्ने सपना थियो तर अहिले गायक बनेँ।’

‘अहिले समय बदलिएको छ, एल्बम र गीतहरू बजारमा ल्याएरभन्दा पनि स्टेज कार्यक्रममा आफ्नो कला बेच्न सकियो भने जीवन गुजारा गर्न केही सजिलो हुनेरहेछ।’ 

गायन क्षेत्रमा खर्च र आम्दानी दुवै बराबर

लोक जोडिएका पप, आधुनिक, रक, पूर्वेली अनि भाषाभाषीका गीतमा समेत दख्खल राख्ने मगरले बजारमा ल्याएका एल्बमका गीतले लगानी उठाउने गरेका छन्। ‘गायन क्षेत्र मेरो खासै उत्साहाजनक पेसा बनेको छैन’, उनले भने, ‘मेरो अनुभवमा आय र व्यय बराबर नै भएको छ।’ 

गायक बन्ने ठूलो रकम लगानी गरेर गीत गाउनेहरूको भीडमा मगर पनि एक हुन्। मगर भन्छन्, ‘म पैसा खर्च गरेपछि पैसा उठाउनुपर्छ भन्ने मान्यता राख्छु। मैले गाएका गीतहरूमा दर्शक, श्रोताको मायाले होला, अहिलेसम्म लगानी डुबाउनुपरेको छैन, नाफा कमाउन पनि सकेको छैन।’

शब्द लेखन, संगीत भर्ने र आफ्नो गीतको म्युजिक भिडियोमा अभिनयसमेत गर्ने मगर देशका चर्चित गायक गायिकासँग पनि संयुक्त गीत गाएको बताउँछन्। उनले विभिन्न चलचित्रका गित गाउने अनि डकुमेन्ट्रीमा आवाज दिने र ससाना चलचित्रमा संगीत भर्ने काम गरेका छन्। ‘मेरो गीत गाउनु फरक पाटो र शोख पनि हो’, उनले भने, ‘म मरेर जाँदा पनि मेरा गीतहरू मेरा सन्तानहरूले सुनुन्, मेरो आवाज रही रहोस् भनेर पनि कृतिका लागि पनि गाउने गरेको छु।’

एल्बमभन्दा स्टेजमा कमाइ

गायक, गायिका हुँ भन्नेहरू बजारमा बाक्लै भेटिने गरेका छन्। त्यही भीडबाट नाम र दामको खोजीमा संगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् मगर पनि। मगर भन्छन्, ‘अहिले समय बदलिएको छ, एल्बम र गीतहरू बजारमा ल्याएरभन्दा पनि स्टेज कार्यक्रममा आफ्नो कला बेच्न सकियो भने जीवन गुजारा गर्न केही सजिलो हुनेरहेछ।’ 

स्टेज कार्यक्रममा कार्यक्रमको लगानी हेरेर मात्र पारिश्रमिक लिने गरेको बताउँछन् उनी। ‘मैले पूर्वी नेपालमा आयोजना हुने मेला महोत्सवमा सानातिना धेरै कार्यक्रममा प्रस्तुति दिएको छु’, उनले भने, ‘कार्यक्रमको लगानी हेरेर मात्र पारिश्रमिक लिने गरेको छु।’

काठमाडौं, विराटनगर, पोखरालगायतका देशका ठूला र साना शहरमा भएका कार्यक्रममा प्रस्तुति दिएको बताउँदै उनले भने, ‘अधिकांस कार्यक्रम आयोजकहरूले प्रस्तुति हेरेरै त होला, घाटा पर्ने गरी दिने गरेको पाएको छु।’

केही समयअघि दुवईसमेत गएर प्रस्तुति दिएका मगरले पछिल्लो समय विदेश यात्रामा सहभागिता जनाउन थालेका छन्। ‘पछिल्लो सयम फाट्टफुट्ट विदेशमा आयोजना हुने सांगीतिक कार्यक्रमबाट पनि निम्तो आउने गरेको छ’, उनले भने, ‘हङकङ, सिंगापुरबाट पनि निम्तो आएको छ, समय फिक्स भएको छैन।’

अवार्डले थप्यो उत्साह

सन् २०१२ मा म्युजिक खबरले आयोजना गरेको म्युजिक खबर अवार्ड, २०१२ पाएपछि थप उत्साह मिलेको बताउँछन् मगर। ‘मैले वेस्ट पप स्टार विधामा आवार्ड पाएको थिएँ’, उनले भने, ‘थोरैथोरै गीत गाउने र राम्रो गाउनेलाई धेरै गीत गाउनु नपर्ने रहेछ भन्ने लग्यो।’ त्यो अवार्डले जीवनभर गायन क्षेत्रमा सक्रिय रहन प्रेरणा दिएको उनले बताए।

‘रहरले होइन, व्यावसायिक रूपमा लागौँ’
आफ्ना गीत संगीतमा नृत्य गर्ने, संगीत भर्ने र शब्द लेखनलाई समेत एक साथ लिएर हिँड्ने मगर भन्छन्, ‘सांगीतिक क्षेत्रमा रहरले होइन, व्यावसायिक रूपमा आउन जरुरी छ। प्रतिस्पर्धाको युग हो यो। सबैको भन्दा फरक र नयाँपन दर्शक र श्रोतालाई दिनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.