|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको सबै काम पूरा गर्नका लागि खाका बनाउने जिम्मा सचिवालयका दुई नेतालाई दिएको छ।

नेकपाको बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै कामबारे गृहकार्य गर्न महासचिव विष्णुप्रसाद पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादललाई जिम्मेवारी दिएको हो।

पार्टी एकताको काम टुंग्याउन पार्टीले आफू र नेता बादललाई जिम्मेवारी दिएको महासचिव पौडेलले बताए। यसअघि पार्टीले निर्माण गरेको कार्यदलको सिफारिसलाई आधार बनाएर निश्चित मापदण्डका आधारमा प्रदेश तथा जिल्ला कमिटी गठनको खाका तयार गर्ने जिम्मवारी दुई नेतालाई दिइएको हो। 

यस्तै, नेकपाको जनवर्गीय संगठनको एकताको जिम्मेवारी समेत दुई नेतालाई दिइएको छ। 'पहिले कार्यदलले दिएको सिफारिसका आधारमा प्रदेश, जिल्ला, विभाग, जनसंगठनहरूको एकताको खाका बनाउने जिम्मा महासचिव विष्णु पौडेल र सदस्य रामबहादुर थापालाई दिइएको छ', एक सचिवालय सदस्यले भने, उहाँहरूले मापदण्ड सबै कुरा हेरेर एकताको खाका तयार गरेर सचिवालयमा पेश गर्नुहुन्छ।'

नेकपाले प्रदेश कमिटीको इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिव भने यसअघि नै तोकिसकेको छ। यसअघि आफ्नो अनुपस्थितीमा प्रदेश नेतृत्व तोकिएको प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति जनाएका थिए। गएको सचिवालय बैठकमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गम्भीर त्रुटि भएको र आगामी दिनमा नदोहोर्‍याउने प्रतिवद्धता जनाएपछि नोट अफ डिसेन्ट लेख्दै नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्णयमा सहमति जनाएका थिए।

त्यसपछि सचिवालय बैठकले प्रदेश कमिटीको सदस्य चयनका लागि प्रस्ताव तयार पार्न कार्यदल नै गठन गरेको हो।

कार्यविभाजनको खाका बनाउने

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको लामो समय भइसकेको छ। यसबीचमा दुई पार्टी मिलेर नेकपा पुनर्गठन भएर केन्द्रीय कमिटी निर्माण भएपनि एकताले तल्लो तहमा मुर्त रूप लिन सकेको छैन। यता एकतापछि केन्द्रीय कमिटीमा परेका नेताहरूले पनि कुनै जिम्मेवारी पाउन सकेका छैनन्। यसले विशेषतः भुगोलमा पार्टी गतिविधि अगाडि बढाउन समस्या उत्पन्न गरिरहेको छ। यसै सन्दर्भमा नेकपाले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्न महासचिव पौडेल र सचिवालय सदस्य बादललाई जिम्मेवारी दिएको हो। 'केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको दुई सदस्यीय कार्यदल गठन गरेको छ', महासचिव पौडेल जानकारी दिँदै भने।

दुई नेताहरूले पार्टीको तेस्रो तहको कमिटी पोलिटब्युरोमा को-को रहने भनेर खाका बनाउनेछन्। त्यस्तै उनीहरूले जिल्ला इञ्चार्ज, जनवर्गीय संगठनको विभागीय प्रमुखहरूमा कसलाई जिम्मेवारी दिने भन्ने कुरा समेत खाका बनाउनेछन्। यसैगरी पार्टीको विभिन्न केन्द्रीय विभागहरूको विभागीय प्रमुखको समेत खाका बनाउने जिम्मेवारी नेकपा सचिवालयले यी दुई नेतालाई दिएको छ।

दुई नेताले खाका तयार गरिसकेपछि नेकपाको सचिवालय बैठकमा उक्त खाका पेश हुनेछ। सचिवालयमा खाका पेश भएर त्यहाँबाट पास भइसकेपछि स्थायी समितिमा ती एजेन्डाका विषयमा छलफल हुने एक सचिवालय सदस्यले बताए।

पार्टी एकता र केन्द्रीय नेतृत्वको कार्यविभाजनको खाका तयार गरी नेता पौडेल र बादलले सचिवालय बैठकमा पेश गर्नेछन्। सचिवालयमा छलफल भएपछि त्यसलाई स्थायी समिति बैठकले अनुमोदन गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.