|

बुटवल : दशैँको समयमा प्रदेश ५ मा भएका गाडी दुर्घटनामा २५ जनाको मृत्यु भएको छ। असोज २४ गतेदेखि कात्तिक ७ गतेसम्मको अवधिमा प्रदेश ५ का १२ जिल्लाका विभिन्न स्थानमा भएका गाडी दुर्घटनामा २५ जनाको मृत्यु भएको हो।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न ५५ स्थानमा गाडी दुर्घटना भएका थिए भने ७३ वटा गाडी दुर्घटनामा परेका थिए। ती दुर्घटनामा परी ७८ जना घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए। साविकको पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्ला कार्यक्षेत्र रहेको ट्राफिक प्रहरीको तथ्यांकअनुसार गत वर्ष दुर्घटनामा ३१ जनाको मृत्यु भएको थियो।

प्रदेश ५ का जोखिमपूर्ण सडक 

प्रदेश ५ का १० सडक क्षेत्रलाई ट्राफिक प्रहरीले जोखिमपूर्ण क्षेत्र (रिस्क जोन) मा राखेको छ। तीमध्येको सबैभन्दा बढी जोखिम भएको क्षेत्र हो, नवलपरासी दाउन्ने एस मोड र कम जोखिम भएको क्षेत्र बुटवल पुष्पलाल पार्क।

पूर्वपश्चिम राजमार्गको मध्यखण्डमा पर्ने अंग्रेजीको एस जस्तै घुमाउरो मोडमा सबैभन्दा बढी दुर्घटना हुन्छन्। पहाडको घुम्ती र उकालो ओरालोका कारण यो क्षेत्रमा सबैभन्दा बढी दुर्घटना हुने प्रदेश ५ ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दको भनाई छ। त्यसपछि, कपिलवस्तुको धानखोला, पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रको १० किलोमिटर क्षेत्र, रुपन्देहीकै सालझण्डीको फायरलाईन क्षेत्र, अर्घाखाँचीको पत्थरकोटदेखि भेँडामारेसम्मको क्षेत्रको उकालो घुम्तीमा पनि बढी दुर्घटना हुन्छन्।

अन्य क्षेत्रको स्थान विशेष तथ्यांक न भएपनि सिद्धबाबा खण्डमा १० वर्षको अवधिमा ६० भन्दा बढी यात्रुको मृत्यु भएको तथ्यांक छ। पहाडबाट खस्ने ढुंगासहितको पहिरो र तिनाउमा गाडी खस्ने खतरा भएकै कारण यो सडकखण्डलाई ज्यानमारा सडकका नामले चिनिन्छ।

अर्को दुर्घटना संभावित क्षेत्रमध्येको हो, अर्घाखाँची घुम्ती–नरपानी क्षेत्र। जिल्लाकै सबैभन्दा ठूलो घुमाउरो सडकका कारण अर्कोतर्फबाट आएको गाडीको आवाज नसुनिने भएकाले यहाँ धेरै दुर्घटना हुन्छन्। यस्तै, देवदहको भलुही पुल आसपासको क्षेत्र, बुटवलको तिनाउ पुल क्षेत्र, बुटवलकै धागो कारखाना आसपासको क्षेत्र र बुटवल पुष्पलाल पार्क नजिकको क्षेत्रमा पनि सवारी ठोक्किने गरेका घटना प्रहरी रेकर्डमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.