|

श्रीलंकाको सत्तामा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेको पुनरागमन भएको छ। पूर्वराष्ट्रपति राजापाक्षेले नाटकीयरूपमा भएको राजनीतिक परिवर्तनकाबीच शुक्रबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाको दल सत्तारूढ गठबन्धनबाट बाहिरिएसँगै श्रीलंकामा राजनीतिक अन्योलता सिर्जना भएको थियो। श्रीलङ्काका वरिष्ठ मन्त्री महिन्दा अमरावीराले राष्ट्रपतिको दल यूनाइटेड पिपुल्स फ्रिडम अलायन्स (यूपीएफए)ले गठबन्धन छोड्ने निर्णय गरेको बताएका थिए। उनको यो घोषणासँगै सरकारको भविष्यमाथि गम्भीर शङ्का उब्जिएको थियो।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राजीनाम दिएका थिए। उनको उत्तराधिकारीका रूपमा लामो समय श्रीलंकको राष्ट्रपति बनेका राजापाक्षे सत्तामा आएका हुन्।

राष्ट्रपति मैत्रीपाला सिरीसेनाको कार्यालयले प्रधानमन्त्रीमा राजापाक्षेलाई नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ। श्रीलंकाका सञ्चारमाध्यमले राजापाक्षेलाई शपथ ग्रहण लिएको समाचार प्रकाशन प्रशारण गरेका थिए।

यसअघि निर्वाचनका क्रममा राष्ट्रपति सिरीसेना र प्रधानमन्त्रीमा नियुक्त भएका राजापाक्षेबीच कडा प्रतिस्पर्धा भएको थियो। जसमा सिरीसेनाले जितेका थिए। सिरीसेनाले आफ्नो प्रमुख विरोधीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेर सबैलाई अचम्ममा पारेका छन्।

आर्थिक नीति र दैनिक प्रशासनिक कामकाजलाई लिएर सिरीसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच विवाद चुलिएसँगै श्रीलंकामा सरकार परिवर्तन भएको हो। विक्रमासिंघेको पार्टी सन् २०१५ देखि सरकारको नेतृत्मा थियो। राष्ट्रपति कार्यालयले विक्रमासिंघेको मन्त्रिपरिषद् भंग गरिदिएको र राजापाक्षेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेको घोषणा गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.