आगन्तुकहरूप्रति नागु क्षेत्रका स्थानीयको  अपार स्‍नेह

|

दार्चुला : सहरीकरणको प्रभावसँगै छरछिमेकको वास्ता नगर्ने प्रवृत्ति बढेको भए पनि सहरीकरणको आभासै नहुने पाहुनालाई देवता जस्तै सम्मान गर्ने गाउँहरूको पनि कमी छैन। सहरको स्वार्थपूर्ण परिवेशभन्दा भिन्न र आगन्तुकहरूप्रति अपार स्नेह पोख्ने गाउँका रूपमा दार्चुलाको नौगाढ गाउँपालिकाको वडा नम्बर १ को नागु क्षेत्रलाई लिन सकिने उक्त क्षेत्रसम्म पुग्नेहरू बताउँछन्।

जिल्ला सदरमुकामबाट एक दिनको यात्रापछि पुग्न सकिने नागु क्षेत्रसम्म पुग्न २०४३ सालमा निर्माण गरिएको घोरेटो बाटोले साथ दिएको छ। प्रतिकिलो ३० रुपैयाँ भाडा तिरेर नुन, चालम, तेल, लत्ताकपडाको जोहो गर्ने यो क्षेत्रका स्थानीयहरू नुन प्रतिकिलो ४० र मोटो चामल प्रतिकिलो ७५ रुपैयाँ तिरेर उपभोग गर्छन्।

महँगो खाद्यान्न खान परे पनि गाउँमा पस्ने पाहुनाहरूको खानपान र बासका लागि नागु क्षेत्रमा पर्ने लक्सेरी, मानकोट, जातरा र नागुका स्थानीय निक्कै अगाडि देखिन्छन्। स्थानीय युवाहरूको आग्रहमा लस्केरीमा आयोजित भलिवल प्रतियोगिता हेर्न पुगेका सर्वोच्च अदालत बारका सदस्य तथा अधिवक्ता प्रेमसिंह धामी नागुबासीको सत्कार अविस्मरणीय भएको बताउँछन्। औपचारिक कार्यक्रम कुनै सहरको भन्दा कम नहुने र पाहुनालाई सत्कार गर्ने चलनले आफू प्रभावित भएको अधिवक्ता धामीको भनाइ छ।

प्रतियोगिता अवधिमा प्रतियोगितास्थल लक्सेरीमा करिब तीन दिन बसेका जिल्ला खेलकुद विकास समितिका सदस्य दानसिंह कार्की विभिन्न ठाउँबाट आउने खेलाडी र व्यवस्थापकहरूलाई स्थानीयले गरेको सहयोग र सत्कार अन्य ठाउँमा नपाइने बताउँछन्।

प्रतियोगितामा सहभागिता जनाएका २४ टोलीका खेलाडीहरूलाई बेलुकाको खाना र बासको व्यवस्था लक्सेरीवासीले नि:शुल्क गरेको प्रतियोगिता आयोजक संस्था जनहित युवा समाज लक्सेरीका अध्यक्ष वीरसिंह डडालले बताए। पाहुनाहरूलाई गाउँमा कुनै अप्ठेरो नहोस् भनेर युवाहरू परिचालन गरिएको अर्को आयोजक संस्था महादेव बाल क्लबका अध्यक्ष जमनसिह डडालले बताए।

पहिले पहिले प्रत्येक परिवारले जति जनालाई बास दिने हो त्यति जनालाई बेलुकाको खानाको पनि व्यवस्था गर्ने गरिएको भए पनि यो वर्षदेखि बेलुका सामूहिक रूपमा एकै ठाउँमा खाने र बासका लागि प्रत्येक घरघरमा बस्ने व्यवस्था मिलाइएको स्थानीय शिक्षक करनसिंह डडालले बताए।

गाउँमा आउने पाहुनाहरूलाई सत्कार गर्ने मात्रै नभएर घर फर्किने बेला स्थानीयस्तरमा उत्पादित हुने दालसमेत उपलब्ध गराउने चलन रहेको स्थानीय व्यापारी राईसिंह डडालले बताए। ‘गाउँलेहरूले उपहारस्वरूप दालसमेत दिने गर्दछन्।’ स्थानीय व्यापारी डडाल भन्छन्।

गाउँमा आउने पाहुना र गाउँबाहिरका कर्मचारीहरूलाई समेत गाउँलेले उत्तिकै सम्मान गर्ने चलन रहेको महाकाली नगरपालिका-१ घर भई स्थानीय गौरिशंकर माविमा शिक्षण गर्ने शिक्षक मानसिंह धामीको भनाइ छ। दशैं र तिहारको अवसरमा जिल्लाकै सबैभन्दा बढी रकम भएको भलिबल प्रतियोगिता स्थानीय युवाहरूको दुई संस्थाले आयोजना गरेका थिए।

०४३ को बाटो, ९ लाखको मर्मत ९ ठाउँमा पहिरो

०४३ सालमा निर्माण गरिएको घारेटो बाटो गत वर्ष मर्मत गरिएको थियो तर नौगाढ गाउँपालिकाको ९ लाख बजेट खर्च गरेर निर्माण गरिएको उक्त बाटोमा ९ ठाउँमा पहिरो गएपछि नागुबासीलाई थप समस्या परेको छ। ‘भिर काटेर बनाइएको जोखिमपूर्ण घोरेटो बाटो त्यसमाथि ठाउँठाउँमा पहिरो, वर्षामा अतिआवश्यकबाहेक अन्य आवतजावत बन्द गर्नु पर्दछ।’ नागु क्षेत्रमा पर्ने लक्सेरीका कम्मानसिंह डडाल भन्छन्।

खच्चडसमेत हिँड्न नसक्ने भएपछि समान ढुवानीको एक मात्र साधान भेडाबाख्रा बनेको उनी बताउँछन्। वर्षा कोही बिरामी परे बोकेर सदरमुकाम लैजानुपर्ने बेलाबाहेक अरूबेला विरलै आवतजावत हुने महादेव बाल क्लबका अध्यक्ष जमनसिंह डडाल बताउँछन्। बाटो मर्मतका लागि यो वर्ष पनि बजेट विनियोजन गरिएकाले स्थानीयलाई आउँदो वर्षामा धेरै समस्या नहुने वडाध्यक्ष करनसिंह डडाल बताउँछन्।

कसरी पुग्ने नागु क्षेत्र

जिल्ला सदरमुकामबाट करिब २ घण्टाको कच्ची बाटोमा जिपको यात्रापछि पैदल यात्रा सुरु हुन्छ नागु क्षेत्रको। जिपबाट उत्रिएपछि आधा घण्टाको तेस्रो र एक घण्टाको ओरालो बाटोपछि नागु क्षेत्र छिर्ने चुनौतीपूर्ण बाटो सुरु हुन्छ। नौगाढ गाउँपालिका-२ सुण्डमुण्डको ओरालो काटेपछि करिब चार घण्टाको जोखिमपूर्ण बाटो छिचोलेर नागु क्षेत्र पुगिन्छ। यही क्षेत्रमा महादेव तथा छिपला केदारको मन्दिर पर्दछ भने यही बाटो भएर पवित्र धार्मिक चुली सिद्धटोपी तथा यो क्षेत्रमा पर्ने तीन दहसम्म पुग्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.