|

सिन्धुपाल्चोक : नेपाल र चिनियाँ सरकारको प्रमुख व्यापारिक तातोपानी नाका भूकम्पपछि बन्द छ। जुरे पहिरोले आशिंक असर पारेको नाका सञ्चालनमा भूकम्पले पूर्णरूपमा ठप्प पार्‍याे। तर, अझै तातोपानी नाका खुल्नेमा शंका उत्पन्न भएको छ।

नाका सञ्चालनमा नआउँदा नेपाल र चीन दुवै देशको अर्थतन्त्रमा ठूलो नोक्सानी परेको छ। अरनिको राजमार्गको बाह्रबिसेदेखि चीनको सीमासम्मको सडक क्षतविक्षत भएको हुँदा नाका सञ्चालनमा थप समस्या परेको हो। ०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुलाउने स्थानीय प्रयत्नलाई सडककै कारण असम्भव भएको छ। राजमार्गको बाह्रबिसे लिपिङ खण्डको २६ किलोमिटरमा दर्जन बढी ठाउँमा पहिरो गएको छ। सडकमा पूरै पहिरो गएकाले नाका सञ्चालनमा कठिनाइ भएको छ। 

दशैंअघि तातोपानी नाकाको निरीक्षण गर्न आइपुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नाका सञ्चालन छिट्टै हुने आश्वासन दिएका थिए।बाह्रबिसेदेखि तातोपानीसम्मको सडक निर्माणमा दुई देश सहमत उनले जनाए। नाका सञ्चालनको पहिलो समस्या सडक सञ्जाल भएकाले सडक निर्माण पश्चात् छिट्टै नाका खुल्ने उनको भनाइ छ। 

नाका सञ्चालनमा दुवै पक्ष सकारात्मक भएकाले नाका खुल्नेमा स्थानीयलाई ढुक्क रहन आग्रह गरे। चिनियाँ पक्षसँगको भेटमा नाकाको विषयमा चिनियाँ पक्ष गम्भीर भएको उनले जनाए। ‘सरकारले तातोपानी नाको सञ्चालनमा ल्याउन धेरै पहल गरेको छ। त्यसैले तातोपानी नाका सञ्चालन हुन्छ’ उनले भने। चिनियाँ पक्षले तीन वर्षदेखि रोकिएको तातोपानीस्थित लार्चामा रहेको सुक्खा बन्दरगाह निर्माणको कामलाई तीव्रता दिएपछि नाका सञ्चालन हुनेमा स्थानीयकाे आशा जागेको छ।तातोपानी नाकालाई प्रमुख चुनावी एजेण्डा बनाएका सांसद अग्निप्रसाद सापकोटाले नाका सञ्चालन छिट्टै हुने बताए।

खासाबाट बाटो सुधारको, बाटो निर्माणको काम तीव्र गतिमा भइरहेकाले नाका सञ्चालन हुने जनाए। बाह्रबिसेदेखि तातोपानी सम्मको सडक खण्डको कामको लागि पनि मन्त्रालयमा सम्झौता भइसकेको उनको भनाई छ। चुनाव जितेपछि जिल्ला समन्वय समितीले गरेको शुभकामना तथा बधाई कार्यक्रममा तीन महिनाभित्र नाका सञ्चालन आउने बताएका थिए। 

नाका सञ्चालनको प्रमुख जड सडक

सीमाक्षेत्रको कोदारीमा सडक तलबाट भोटेकोशीले कटान गर्ने र माथिबाट पहिरोले पुर्ने गर्दा नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था सिर्जना भएको छ। स्थानीय तहको बजेट अपुग हुने भएकाले पटक पटक सरकारका विभिन्न मन्त्रालयमा आग्रह गर्दा पनि सडक निर्माणमा ध्यान नदिएको सीमा क्षेत्र समेटिएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए। ‘नाका सञ्चालनको प्रमुख जड सडक हो। त्यसैले सडक निर्माणमा सरकारले ध्यान दिनुपर्छ’ अध्यक्ष पौडेलले भने,‘नदीबाटै जग उठाएर सडक निर्माण गर्नुपर्ने अवस्था छ। गाउँपालिकाको स्रोतबाट सडक निर्माण गर्नै सकिँदैन।’ 

नाका सञ्चालनमा नआउँदा यहाँका सयौँ व्यवसायी विस्थापित भएको उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले जनाए। भूकम्पपछि प्रत्येक पटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री, अर्थ मन्त्री, परराष्ट्र र भौतिक योजना मन्त्रीलाई संघको अगुवाई ध्यानाकर्षण गराउँदा समेत सरकारी पक्षलेनै नाकालाई अपहेलना गरेको उनको भनाइ छ। 

‘नाका सञ्चालनमा ल्याउन सबै सरकारले आश्वासन मात्र दिने गरेको जनाए। चुनावमा तातोपानी नाका सञ्चालन र सडक निर्माण पहिलो एजेन्डा बनाएर भोट मागेका नेताले पनि नाकालाई आफ्नो विकासे प्राथमिकताको योजनामा नराखेको उनले आरोप लगाए। पटक पटक गरेका उच्चस्तरीय चिनियाँ टोलीले नेपालतर्फको सडक सञ्चालनमा आए नाका सञ्चालनमा आउन सक्ने जनाएको थियो। टोलीले नाका सञ्चालन गर्न नेपालतर्फकै सडक बाधक भएको निर्क्याैल निकालेको थियो। तर पटक पटकको निरीक्षण र निष्‍कर्षले मात्रै नाका सञ्चालनमा नआउने पक्का छ। 

चीनबाट स्थलमार्ग हुँदै सामग्री ढुवानी हुने मुख्य व्यापारिक मार्ग तातोपानी सञ्चालनमा नआउँदा नेपाली व्यापारीहरूले रसुवाको केरूङ तथा लामो समुद्रीमार्ग हुँदै भारतको कोलकाताबाट सामान ढुवानी गर्न बाध्य भएको छन्। भूकम्पले संरचनामा क्षति पुर्याएको भन्दै बन्द रहेको तातोपानी नाका २०७३ सालमा आएको भोटेकोशी बाढीले लिपिङदेखि तातोपानीसम्मको चार किलोमिटर सडक ठाउँ ठाउँमा कटान गरेपछि यातायात सञ्चालन हुन सकेको छैन। 

भूकम्पपछि मुस्किलले जोडेको ट्रयाक पनि बाढीले क्षतबिक्षत बनाएपछि दुई वर्षदेखि सीमा क्षेत्रमा यातायातका साधन आउन सकेको छैन। बाह्रबिसेदेखि तातोपानीसम्म जलविद्युत आयोजनाले पटक पटक सडकको पहिरो पन्छाउँदै बेलाबेलामा यातायात सञ्चालन गरे पनि तातोपानी लिपिङ खण्डमा कसैको ध्यान पुगेको छैन। 

तातोपानी क्षेत्रमा पूर्वाधार पुनर्निर्माणको काम सुरू भए पनि उक्त व्यापारिक नाका खोल्ने विषयमा चिनियाँ अधिकारीहरूले औपचारिक जानकारी गराइ नसकेको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जनाइन्। चीनबाट सामग्री ढुवानी गर्ने मुख्य नाका भए पनि भूकम्पले निकै क्षति पुगेपछि चिनियाँ पक्षले आफ्नो ध्यान रसुवाको केरूङ नाकातर्फ केन्द्रीत गरेको छ। भूकम्पको जोखिम भन्दै तिब्बतपट्टिको खासा बजारको बस्ती समेत चीनले हटाएपछि नाका संञ्चालन हुनेमा दुविधा कायमै छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.