|

बुटवल : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारको आचरण र शैली संविधानविपरीत भएको भन्दै कार्यशैली सच्याउन सुझाव दिएका छन्।

नेकपाको दुई तिहाईको सरकार सधैका लागि नभएको भन्दै नेता खाँणले सरकारकै कारण संघीयता धरापमा परेको दाबी गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र कार्यशैलीकै कारण संघीयता संस्थागत हुन नसकेको भन्दै उनले संघीयतालाई संस्थागत गर्न कांग्रेसले अभियान चलाउने बताए।

‘संघीयताका पनि केही कमीकमजोरीहरु छन्, तिनलाई सच्याउँदै राम्रा पक्षलाई अघि बढाएर संस्थागत गर्नुपर्ने समयमा सरकारले भाषणमै दिन गुजारिरहेको छ', बुटवलमा रिर्पोटर्स क्लबले गरेको कार्यक्रममा बोल्दै उनले भने 'यसले संघीयतालाई सही बाटोमा अघि बढाउँदैन।’

सत्ताबाहिरका दलहरूलाई पनि साथमा लिएर संघीयता कार्यान्वयनका लागि सरकार अघि बढ्नुपर्नेमा विवादित काममा बढी ध्यान दिएको भन्दै खाँणले सरकारको कडा आलोचना गरे। उनले सरकारको कार्यशैलीकै कारण एकीकृत भएको कम्युनिष्ट पार्टीको आयुको गणना शुरु भएको भन्दै कम्युनिष्टहरू विघटनको बाटोमा अघि बढिरहेको दाबी गरे।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेको नेता खाँणले स्थायी गुटका कारण कांग्रेसले चाहेअनुसार काम गर्न नसकेको बताए। अबको चुनाबमा कांग्रेसलाई पहिलो शक्ति बनाउने अभियानका साथ कांग्रेस अघि बढ्ने उनले बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.