|
तस्विर : रासस

काठमाडौं : सधैँ टिकट काटेर जान पाउने भृकुटीमण्डपस्थित बगैचामा शनिवार सबैले निःशुल्क प्रवेश पाए। भेटघाटको स्थल मानिने भृकुटीमण्डप शनिबार भने शुभकामना आदानप्रदान गर्ने स्थल बन्यो। जहाँ बिहान ११ बजेदेखि बाक्लो भिड जम्मा भयो।

सन्दर्भ थियो सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान। दशैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका पर्वहरूका सन्दर्भमा नेकपाले चियापान कार्यक्रमको आयोजना गरेको थियो।

भिआइपी र सर्वसाधारण सबैका लागि खुला गरिएको उक्त चियापान कार्यक्रममा दुई समय तोकिएको थियो। पार्टी कार्यकर्ता र सर्वसाधारणका निम्ति १२ बजे र विशिष्ट व्यक्तिका लागि ३ बजे। त्यसैगरी चियापन कार्यक्रममा सर्वसाधारण र विशिष्ठ व्यक्तिलाई छुट्टाछुट्टै परिकार राखिएको थियो। सर्वसाधारणले चिया केरा लड्डु र निमकि खाए भने भिआइपीलाई स्याण्डवीच र पेडा वितरण गरियो। 

सर्वसाधारणलाई शुभकामना दिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, अन्य नेताहरू बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, विष्णु पौडेललगायत तैनाथ थिए।

१२ बजेबाट शुरू भएको चियापान दिउँसो ३ बजेसम्म सर्वसाधारणका निम्ति चल्यो। बगैचाको पूर्वतिर भिआइपीका निम्ति छुट्टै मञ्च निर्माण गरिएको थियो। ३ बजेसम्म कार्यक्रमस्थलमा भिड जम्मा गरिरहन दक्षिणतिर छुट्टै सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिएको थियो।

अध्यक्ष ओली सहभागी भएनन

सर्वसाधारणलाई ३ बजेसम्मका लागि समय दिए पनि कार्यक्रमस्थलमा बेलुकीसम्म उस्तै भिड थियो। कारण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रतीक्षा र प्रधानमन्त्री सहभागी भएपछि उनको २ कुरा सुनेर फर्कने सुरमा अधिकांश सहभागी देखिन्थे।

तर बेलुकी ४ बज्दा पनि प्रधानमन्त्री ओली आफ्नै पार्टीले आयोजना गरेको चियापानमा सहभागी नहुँदा कार्यक्रम खल्लो भयो। प्रधानमन्त्री ओली अचानक बिरामी परेपछि उनी कार्यक्रममा जान नसकेका हुन्। रुघाखोकी, ज्वरो र भाइरलका कारण प्रधानमन्त्री ओली कार्यक्रममा उपस्थित हुन नसकेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए।

यद्यपि कार्यक्रममा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य भने उपस्थित भइन्। नेकपा महासचिव विष्णु पौडेल स्वास्थ्यमा समस्या देखिएका कारण प्रधानमन्त्री चियापानमा सहभागी भएको जानकारी दिए। 'रुघा खोकी र छातीमा सामान्य समस्या देखिएका कारण प्रधानमन्त्री ज्यू यहाँ सहभागी हुन सक्नुभएन,' महासचिव पौडेलले भने, 'शारीरिक रुपमा उहाँ यहाँ उपस्थित नभए पनि भावनात्मक रुपमा यो चियापानमा उपस्थित हुनुहुन्छ।'

प्रधानमन्त्री बिरामी, चियापान कार्यक्रममा गएनन्

पार्टीको सांगठनिक तथा भावनात्मक एकताबारे राखिएको जिज्ञासामा पौडेलले सांस्कृतिक अर्थ राख्ने चाडपर्वका अवसरमा अयोजना गरिएको कार्यक्रममा राजनीतिक अर्थ नखोज्न आग्रह गर्दै त्यसका लागि उपयुक्त समय र ठाउँ नभएको बताए।

चियापानमा कडा स्वयंसेवा!

नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि आयोजना गरिएको पहिलो चियापान कार्यक्रमलाई स्वभावले धेरै संख्यामा सहभागी हुने नै भए। नेकपा सचिवालयका अनुसार ५० हजारलाई निम्ता दिइएको चियापान कार्यक्रम व्यवस्थापन गर्न करिब तीन सय स्वयंसेवक खटाइएको थियो।

कार्यक्रमस्थलको मुख्य-मुख्य विन्दुमा स्वयंसेवक खटाइएको थियो। अझ बढी स्वयंसेवक भिआइपी कार्यक्रमस्थलमा खटिएका थिए। २:४५ बजेमात्रै भिआइपी कार्यक्रमस्थलमा पत्रकारले प्रवेश पाए। तर त्यसअघि केही पहुँच हुने पत्रकारहरू भने भिआइपी स्थलमा प्रवेश गरेर अन्तरवार्ता लिनसमेत भ्याइसकेका थिए।

तर अधिकांश पत्रकारले भने लामो समय गेटमै प्रतीक्षा गर्नुपर्‍यो। ढिलोगरी कार्यक्रमस्थलमा प्रवेश पाएका पत्रकारले भित्र प्रवेश गरिसकेपछि पनि केही समय मेहनत गर्नुपर्‍यो।

को-को सहभागी भए ?

चियापान कार्यक्रममा संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा भने ढिलोगरी सहभागी भए। यसअघि उनी कार्यक्रममा नआउने जानकारी दिइएको भए पनि कार्यक्रमको अन्तिमतिर भने उनी सहभागी भए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संचारकर्मीलाई एकताको खाँचो रहेको र त्यो सत्तापक्षको हातमा रहेको संक्षिप्त प्रतिक्रिया मात्र दिएर बिदा भए।  

नेकपाले एकीकरणपछि पहिलो पटक आयोजना गरेको पहिलो चियापानमा भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम यचुरी, कांग्रेस नेता अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ सहभागी थिए। यसैगरी मन्त्री, सांसदहरू, विभिन्न कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू कार्यक्रममा सहभागी थिए।

नेकपाको चियापानमा कांग्रेस सभापति देउवा सहभागी

हेर्नुस् केही तस्विरहरूः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.