|

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक दोस्रो पटक स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। प्राविधिक कारणले आगामी मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद सचिवालयले सूचना टाँस गरेर जानकारी दिएको हो।

यसअघि सरकारले आव वर्ष ०७५/०७६को विनियोजन विधेयकको रातो किताब नदिएको र प्रदेशका पदाधिकारीको सेवासुविधासम्बन्धी विधेयकअघि नबढाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले बैठक अवरुद्ध गरेका थिए। त्यसपछि लगातार दुईपटक सूचना टाँस गरेर प्रदेशसभाको बैठक स्थगित भएको हो।

कांग्रेसका प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले आफ्नो कारण बैठक स्थगित नभएको बताए। ‘सरकारका कारण नै बैठक स्थगित भएको हो’, उनले भने ‘हामीले पहिले नै सरकारका काम कारबाही र सुस्तताका बारेमा कुरा उठाएका थियौँ तर अहिलेसम्म पनि सरकारले आफ्नो तयारी नगरेकाले सरकार आफैँले प्राविधिक कारण देखाउँदै बैठक स्थगित गरेको हो।’

सत्तापक्षका सांसद ठम्मर बिष्टले सरकारको तयारी नपुगेकाले बैठक स्थगित भएको सूचना पाएको बताए। दशैँका कारण लामो समयसम्म बैठक स्थगित भए पनि सरकारले काम गर्न नसकेको प्रति उनले असन्तुष्टि जनाए। ‘नाम र राजधानी तोक्ने क्रममा पहिलो भए पनि पछि अन्य प्रदेशले काममा उछिन्ने अवस्था आएको छ,’ उनले भने ‘अब सरकारले सक्रियता बढाउन गेयर बदल्न आवश्यक देखिएको छ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रतिपक्ष दलका मागहरूको विषयमा सकारात्मक रूपमा काम भइरहेको र केही तयारी नपुगेका कारण बैठक स्थगित भएको जनाए।

‘आउँदो मंगलबारसम्म सरकारकातर्फबाट काम पूरा हुन्छन्,’ उनले भने ‘भौतिक पूर्वाधार मन्त्रालयले रातो किताबका लागि केही तयारी नपुगेकाले बैठक स्थगित भएको हो, सम्पूर्ण तयारी पूरा गरी आउँदो मंगलबार बैठक सुचारु हुन्छ।’ भौतिक पूर्वाधार मन्त्रालयबाहेक अरू मन्त्रालयले रातो किताब तयार पारिसकेको मन्त्री भन्डारीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.