|

काठमाडौं : २०५५ सालतिरको कुरा हो। विनोद बानियाँलाई खोज्दै केही मान्छेहरू कास्कीको हेम्जा पुगे। सशस्त्र जनयुद्धको बेला कोही नयाँ मान्छे देख्दा तर्सिने बेला थियो। उनी घरमा थिएनन्। आमा घरमा बसेर सिलाइबुनाइको तालिम दिन व्यस्त थिइन्। घरमा नयाँ मान्छेले आफ्नो जवान छोरो खोज्दै आउँदा आमाको मनमा चिसो पस्ने नै भयो। आमाको अनुहारमा डरको रङ पोतियो। दु:खले हुर्काएको छोरालाई खोज्दै आउँदा आमा आत्तिनु स्वाभाविक थियो। आमा आत्तिएको देखेर तिनीहरूले सान्त्वनाको भावमा भनिदिए, 'तपाईंको छोराको गायकी सुन्दर छ। उसको स्वरमा जादू छ। हाम्रो रेस्टुरेन्टमा गायकको रूपमा जागिर गर्छ कि भनेर सोध्न आएको।' आमाको अनुहारमा चमक आयो।

केही समयअघि थाहाखबरसँग गायक विनोद बानियाँले आफ्नो अतीत खोतल्दै थिए। उनको नयाँ 'लाइदेऊ छपक्कै' बोलको गीत रेकर्डका लागि उनी यतिबेला काठमाडौंमा छन्। मन क्षेत्रीको शब्दमा रहेको उक्त गीत फिल्मका लागि रेकर्ड गरेको उनी बताउँछन्। उनी भन्छन्, 'फिल्मका लागि यो मेरो पहिलो गीत हो। पप र आधुनिक गीतमा आफूलाई स्थापित गरेका उनमा फिल्ममा कस्तो प्रतिक्रिया आउँछ भन्ने कौतूहल त छँदै छ। तर उत्साहित पनि छन्।

विक्रमको साठीको दशकमा उनले गाएको 'तिमी हाँसिरहे' आज पनि नेपाली संगीत पारखीलाई मनपर्ने गीतमध्ये एक हो। उनले पोखरालाई नै आफ्नो कर्मथलो बनाएका छन्। आफ्नो लक्ष्यलाई अन्तिम रूप दिन काठमाडौंको बाटो तताउने पुस्ताको संख्या बढ्दो छ। मिहिनेत र लक्ष्यप्रति दृढसंकल्प हुनेले नाम र काम प्रशस्त पाउने सम्भावना काठमाडौंमा ज्यादा छ। यही सोचेर उनका समकालीन साथीहरू उनलाई सधैँ भन्थे, 'काठमाडौं गएर सांगीतिक यात्रालाई अझ फराकिलो बनाउन सक्छस्। तँ जानुपर्छ, समस्या परे हामी छौँ।'

साथीहरूको उक्त सुझावले उनी खुसी हुन्थे। धर्मराज थापा, अली मियाँ, अमृत गुरुङलगायत नेपाली सांगीतिक क्षेत्रका हस्ती जन्माइसकेको छ पोखराले भने काठमाडौंको मुख ताक्नु आवश्यक नरहेको ठम्याइका साथ उनले पोखरा छाड्न मन गरेनन्।

उनी भन्छन्, 'मेरा लागि पोखरा केन्द्र हो,काठमाडौं मोफसल। पोखराले मलाई आफ्नोपन दिएको छ भने यही भूमिमा नै श्रम र पसिना बगाउने अठोट लिएँ।' उनको केही समय अगाडि आएको 'पार्वती' बोलको गीत पनि उत्तिकै चर्चित छ। पोखरामा हुने मोफसलको ठूलो प्रतियोगिता आहा रारा गोल्डकपको थिम गीतमा स्वर पनि उनकै छ। मोफसल होस् या राष्ट्रिय खेलमा चाहिने थिम गीतमा उनको स्वरका लागि आयोजकको अनुरोध उनी सामु आइरहन्छ। व्यापार, कन्सर्ट र घरपरिवारका लागि समय व्यतीत गर्नुपर्ने भएकाले थिम गीतका लागि मन भए पनि समय मिल्न नसकेको उनको भनाइ छ।

कास्की जिल्लाको हेम्जामा जन्मिएका उनी बाल्यकालमा चञ्चले स्वभावका थिए। यद्यपि, पढाइमा भने अब्बल थिए। बाल्यकालको सम्झना आउँदा उनी रोमान्चित बने। अब्बलको एउटै चिनारी कक्षामा प्रथम हुनु हो। उनी पढ्दा वा लेख्दा रेडियो सुन्थे। रेडियोमा बज्ने गीतको लयले उनको पढाइको लयलाई थप मजबुत बनाउँथ्यो। घरमा उनी र आमा मात्र थिए। आमा, जसले उनलाई बाबुको माया दिइन्। शिक्षा दिइन्। कुनै पनि कुराको अभाव हुन दिइनन्। आमाले आफ्नो सन्तानप्रति गर्नुपर्ने हरेक कर्म गरिन्।

उनी पढेको स्कुलको नाम थियो- गौरी शंकर उच्चमावि, जहाँ उनले आफ्नो स्कुल जीवन बिताए। स्कुलमा हुने आन्तरिक कार्यक्रममा दर्शक बन्थे। दर्शक हुँदाको समय अगाडि गएर गाउनेहरू देख्दा उनी मनमनै सोच्थे, 'म पनि गाउन सक्छु कि क्या हो!' तर शिक्षकलाई भन्ने आँट आउँदैनथ्यो। स्कुलमा एउटा मादल थियो। उनी सोच्थे, 'यो मादल बजाउन पाए पनि हुने। चाहेको कुरा सजिलै पाइँदैन। कुनै पनि चिज पाऊँ भन्न सक्न आँट चाहिन्छ। पाइसकेपछि चलाउन र प्रयोग गर्न सक्ने साहस चाहिन्छ। उनमा दुवै चिज भएन। त्यो मादल सम्झँदै उनी घरमा भएको टेबल टठाउँथे, जहाँबाट मीठो धून आएको महसुस हुन्थ्यो उनलाई।

एक दिन माथिल्लो कक्षामा गीत गाउने कार्यक्रम थियो। उनी झ्यालबाट हेर्दै थिए। हेरेको त्यो मादललाई थियो, गीत गाउने मान्छेलाई होइन। कक्षाभित्र शिक्षिका लता सापकोटा थिइन्। उनले विनोदलाई त्यहाँ झुण्डिएको देखेर गाली गरिन्। उनी सम्झिन्छन्, 'म्याम मायालु हुनुहुन्थ्यो। यही मौका हो भनेर मैले बजाउँछु भनेर भन्ने साहस निकालेँ। म्यामले अनुमति दिनुभयो।' उनले उक्त मादल बजाए। मादलबाट आएको धूनबाट गीतमा सास भरियो। सबैले मनपराए। त्यो दिनदेखि उनी स्कुलका 'मादलिस्ट' बने।

स्कुलमा हुने जुनसुकै गीति कार्यक्रममा उनीबिना खल्लो हुन थाल्यो। मादल बजाउँदै जाँदा उनी आफैँ गाउन थाले। मादलको तालसँगै उनको स्वरले पनि स्कुलमा प्रशंसा पायो। स्कुलमा प्रशंसा पाउँदै जाँदा उनको एसएलसी सकियो। त्यसबेला उनका मामाले उनलाई गितार उपहार दिए। दिनरात उनी गितार बजाउँथे। गाउँमा उनको अर्को परिचय थपियो- गितारिस्ट। उनी तबला सिक्छु र तबलावादकको रूपमा स्थापित हुन चाहन्थे। त्यो समय हुन्छु भनेर भइहालिने अहिलेको जमाना जस्तो थिएन। त्यसका लागि सिक्न जरुरी थियो। सिकाउने गुरुको खाँचो थियो। सिक्नका लागि त्यसबेला कहाँ जाने, के गर्ने? उनलाई थाहा थिएन।

गर्छु भनेर भनिसकेपछि गर्नै पर्ने उनको बानी आज पनि छ, हिजो पनि थियो। उनले आफ्ना नजिकका दाजुहरूलाई सुनाउँथे। त्यसबेला हेम्जाबाट पोखरा आउने गाडीको व्यवस्था थिएन। दीपक खड्का नाम गरेका दाइले उनलाई रेडियो नेपालको क्षेत्रीय प्रशारणबाट पोखरामा संगीत सिकाउने ठाउँ रहेको तर ठेगाना आफूले पत्ता लगाउन नसकेको अधकल्चो सूचना लिएर आए। दुवै जना रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र मालेपाटन पुगे। त्यो विज्ञापनबारे सोधे तर कसैले भन्न सकेनन्। बानियाँको अनुहारमा निराशा देखियो। एउटा फुच्चेको अनुहारमा छाएको निराशाले त्यहाँ एक जना कर्मचारीले अड्कलमा भनिदिए, 'जोजिजु संगीतालय रानीपौवामा', उनी भन्छन्, 'ती दाइ आज कहाँ छन्, थाहा छैन तर ती दाइको गुन म कहिल्यै भुल्न सक्दिनँ।'

उनी जोजिजुमा हानिएर गए, जहाँ उनले देखे रामभक्त जोजिजु। उनलाई विनोदले टिभीमा देख्थे पनि। उनले जोजिजुलाई भेटेपछि आफू संगीत सिक्न आएको बताए। जोजिजुले तबलाबाहेक सबै सिकाउने र छ महिनाको अठार सय रुपैयाँ लाग्ने बताए। उनी अठार सय रुपैयाँको खोजीमा घर फर्किए। सिलाइबुनाइको तालिम दिने आमाले छोराको लगाव देखेर अठार सय रुपैयाँको बन्दोबस्त गरिदिइन्। उनी जोजिजुका विद्यार्थी बने। उनी भन्छन्, 'जोजिजु सरसँग संगीत सिक्दा म सोच्ने गर्थें- म भाग्यमानी व्यक्ति हुँ। मलाई अब कुनै पनि तागतले गायक र वाद्यवादक हुनबाट रोक्दैन।'

संगीतमा भोका उनले छ महिनाको संगीत सिकाइमा गुरुको मन जिते। गायन पनि निखारिँदै गयो। उनी जोजिजुका बेस्ट विद्यार्थी बने। संगीत सिकाइको क्रममा घरबाट जाने आउने भाडा हुँदैनथ्यो। उनले बसका सहचालकहरूसँग दोस्ती बढाउँथे। कहिले फ्रिमा गाडी चढ्थे, कहिले उधारोमा चढ्थे। उनी अभावले सिकाएको रोमाञ्चककारी यात्रा सम्झन्छन् र मुसुक्क हाँस्दै भन्छन्, 'उनीहरू एकदमै मनकारी थिए। उनीहरूको पनि खुब याद आउँछ।'

संगीत सिकेपछि त्यसका लागि देखाउने ठाउँको खोजीमा थिए उनी। एक दिन उनका नजिकका दाइ कृष्ण कुँवर, जसलाई सबैले 'टाइगर कृष्ण' भनेर बोलाउँथे, उनले गजल रेस्टुरेन्टमा लगे। उनलाई गजल गाउन लगाइयो। उनले शानदार तरिकाले गाइदिए। रेस्टुरेन्ट मालिक खुशी भए।

उनको परिचय गायक मात्र होइन, उनी शिक्षक पनि हुन्। कुनै बेला आरजे पनि भए। भिजे पनि भए तर समय क्रममा जे जस्तो पेसामा आवद्ध भए पनि उनी सांगीतिक क्षेत्रमा आजको दिनसम्म पनि अनवरत रूपमा लागिरहेका छन्।  वि.सं. २०५३ देखि आजको दिनसम्म नेपाली संगीत क्षेत्रमा रहेका उनी हाल फूलबारी व्यारेकमा सैनिक विद्यालयमा संगीत शिक्षक छन्। उनी भन्छन्, 'मेरो संगीतको लामो यात्राको सारथि शिशु निकेतन विद्यालय पनि हो, जहाँ मैले एक वर्ष म्युजिक शिक्षकको रूपमा काम गरेँ। पछि तात्कालीन फूलबारी ब्यारेकका करसाहेब राम राणाले मलाई सैनिक विद्यालयमा आवद्ध हुन आग्रह गर्नुभयो। यो मेरा लागि अवसर थियो।'

त्यहाँ विगत १३ वर्षदेखि उनी संगीत शिक्षकको रूपमा आवद्ध छन्। विद्यार्थीलाई संगीत सिकाउँदा आफूले पनि सिक्ने अवसर पाउने उनको भनाइ छ। १३ वर्षको अन्तरालमा उनका आफ्ना विद्यार्थीले विभिन्न कार्यक्रममा कयौँ पुरस्कार जितेका छन्। तिनै विद्यार्थीहरूले गाएको गीतलाई समेटेर उनको 'आलोक' एल्बम पनि बजारमा आएको छ।

पोखरामा उनको आफ्नै मेलोडी क्याफे छ। उनी आफैँ मालिक हुन् त्यसको भने आफैँ गीत गाउने गर्छन्। मेलोडी क्याफेबाट हरेक वर्ष पोखराबाट नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई २५ हजार रुपैयाँको पुरस्कार दिने व्यवस्था पनि उनले गरेका छन्। उनले आजको दिनसम्म पप, आधुनिक, गजल तथा खेलकुदका थिम गीतलगायतका तीन दर्जन गीत बजारमा ल्याएका छन्। तीन दर्जन बढी गीतमा संगीत पनि भरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.