|

जनकपुरधाम : लामो समयदेखि प्रदेशको राजधानी र नाम तथा भाषाको टुंगो लगाउन नसकेको भन्दै अालोचना खेप्दै आएको समयमा प्रदेश २ सरकारले राजधानी र नामाकरणका लागि आयोग गठन गरेको छ। प्रदेश २ को राजधानी र नामाकरणको विषयमा पटक–पटक विपक्षी दलसहित सत्तापक्षका सांसदहरुले राजधानी तथा नामको टुङ्गो लगाउन माग गर्दै आएको बेलामा सरकारले संवाद तथा सुझाव आयोग गठन गरेको हो।

प्रदेश २ को आइतबार बसेको मन्त्रिपरिषदको बैठकबाट योजना आयोगका उपाध्यक्षसमेत रहेका डा. हरिवंश झाको संयोजक र रामप्रवेश बैठा र मोहनलाल चौधरी सदस्य रहने गरी ३ सदस्यीय आयोग गठन गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।

आयोगले प्रदेशको राजधानी र नामाङ्कनको विषयमा प्रदेश २ का विभिन्न राजनितिक दल, नागरिक समाज, व्यक्ति, संघसंस्था तथा बढी भन्दा बढी व्यक्तिसंग सल्लाह र सुझाव संकलन गर्नेछ। साथै आयोगले प्रदेशको स्थायी राजधानी र नामाङ्कनको विषयमा ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ। आयोगले आवश्यक पूर्वाधारको तयारीसंगै कामको थाल्नी गर्ने जनाइएको छ।

देश संघीयतामा गएपछि ७ वटा प्रदेशमध्ये ३ वटा प्रदेशले आफ्नो नामाकरण र राजधानी टुंगो लगाइसकेका छन् भने, प्रदेश १, २, ३ र ५ ले नामाकरण र राजधानीको टुंगो लगाउन सकेको छैन। यता प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पनि हिजै मात्र एकमहिना भित्र प्रदेशको राजधानी टुङ्गो लगाइसक्ने उद्घोष गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.