|

कालीकोट : कालीकोट जिल्लामा शिक्षिकाले धानेको नमुना विद्यालयका रूपमा तिलागुफा नगरपालिका- १ घडेराको जगन्नाथ आधारभूत विद्यालय रहेको छ। कक्षा १ देखि ३ सम्म पढाइ हुने यस विद्यालयमा तीन जना शिक्षिका रहेका छन्। विद्यालयमा शिक्षिका मात्र रहेका भए पनि जिल्लाकै नमुना विद्यालय हो यो। 

जगन्नाथ आधारभूत विद्यालयमा प्रधानाध्यापकका रूपमा बिमला ढुंगाना, शिक्षिका, शारदा केसी र जिल्ला शिक्षा कार्यालयबाट दरबन्दी भएर इसिडी कक्षा शिक्षिकाका रूपमा गीता बुढा कार्यरत छन्। यी तीन महिला शिक्षिका मिलेर चलाएको विद्यालयमा कुनै सेवा सुविधा निजीको विद्यालयभन्दा कम छैन। यो विद्यालय पढाइ, बाल कक्षा संचालन र सबै विषयमा कक्षा कोठाको सजावटलगायतका क्षेत्रमा अब्बल रहेको छ।

जगन्नाथ आधारभूत विद्यालयमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका- ५ की बिमला ढुंगाना २०६६ सालमा राहत शिक्षक र सुर्खेत गुराँसे गाउँपालिकाकी शारदा केसी अस्थायी करार शिक्षकका रूपमा कार्यरत भएर विद्यालय हाजिर हुँदा स्थानीयहरूले ‘के आइमाईले पनि पढाउन सक्छन्?’ भनेर प्रश्न खडा गरे। 

ढुंगाना र केसीलाई सधैँ यी दुई कुराले घोचिरहे। विद्यालयमा हाजिर भएपछि ढुंगानाले प्रधानाध्यापकको रूपमा र केसीले सहयोगी शिक्षिकाको रूपमा काम गरे। नौ वर्ष त्यहाँ कार्यरत रहँदा अहिले ढुंगाना र केसीले नमुना विद्यालयका रूपमा विद्यालयलाई स्थापित गरेका छन्। 

विद्यालयमा हाजिर हुँदा स्थानीयले आफूहरूलाई आइमाईले चलाएको विद्यालयमा के पढाइ हुन्छ? भनेर अन्य पुरुष स्थानीयले भनेको कुरालाई संझँदै ढुंगाना र केसीले अहिले नमुना विद्यालयका रूपमा प्रस्तुत गरेका छन्। 

यहाँ पढाइ हुने विधि शहरमा मन्टेश्वरीमा भन्दा कम नरहेको स्थानीय अभिभावक सेते दमाईंले बताए। ‘सुरुमा आइमाईले पनि स्कुल चलाउन सक्छन् र? भनेर स्थानीय भन्ने गरेका थिए’, उनले भनिन्, ‘ढुंगाना र केसी म्याडमले शहरमा महँगोमा पढाइ हुने मन्टेश्वरी र बोर्डिङ स्कुलभन्दा पनि धेरै राम्रो पढाउनुभएको छ।’

सुरुमा आउँदा विद्यालयमा निकै चुनौती रहेको, अव्यवस्थित कक्षा कोठा, सरसफाईमा कमी, पढाइ साम्रगीको अभावलगायतका समस्या नै समस्या रहेको र आफूले धेरै प्रयास गरेर विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्था, कक्षा कोठाको सजावट गरेको, विभिन्न संघसंस्थाहरूबाट विद्यालयमा शैक्षिक सुधारका विषयमा छलफल गरेर सहयोग पाएको प्रधानाध्यापक ढुंगानाले बताइन्। ‘सुरुमा विद्यालयमा आउँदा निकै चुनौती थिए’, उनले भनिन्, ‘तर ती सबै चुनौतीलाई सामना गर्ने दृढ अठोट लिएँ। सबै काममा सजिलै सफल भयौँ।’

कक्षा १ देखि ३ सम्म पढाई हुने त्यस विद्यालयमा विद्यार्थीलाई पढाउनका लागि विद्यालयमा प्रशस्त शैक्षिक सामग्री र खेलौनाको व्यवस्था गर्न विभिन्न संघसंस्थाहरूले साथ दिएको र संघसंस्थाको सहयोग र आफ्नो लगनशीलताले विद्यालय सानै भए पनि निकै राम्रो काम गर्न सकिएको प्रधानाध्यापक ढुंगानाको भनाइ छ। ‘खुला चौरमा विद्यालय थियो। खानेपानीको व्यवस्था थिएन’, उनले भनिन्, ‘हाम्रो लगनशीलतामा संस्थाले पनि साथ दिए। सबै काम गर्न सजिलो भयो।’

विद्यालयमा अहिले कम्प्युटर र प्रोजेक्टर ल्याएर विद्यार्थीलाई पढाउने गरेको र त्यसले सजिलो बनाएको प्रधानाध्यापक ढुंगानाले बताइन्। ‘अहिले हामीले कम्प्युटरबाट पढाउने गरेका छौँ’, उनले भनिन्, ‘यसले अहिले सजिलो बनाएको छ। विद्यार्थीहरूले रुचि दिएर पढ्ने गरेका छन्।’ 

जगन्नाथ आधारभूत विद्यालय नगरपालिकाभित्रकै नमुना हाे। दुई शिक्षिकाकाे मिहिनेतले विद्यालयले शैक्षिक सुधारको अभियानमै अगुवाइको काम गरेको तिलागुफा नगरपालिकाकी उपप्रमुख दमन्ता नेपाली (दर्शना)ले बताइन्। ‘यो नगरपालिकाभित्रकै नमुना विद्यालय हो’, उनले भनिन्, ‘यो विद्यालयमा महिलाहरू मात्र शिक्षक रहेका छन्। महिला मात्र शिक्षक भए पनि विद्यालय अब्बल दर्जाका रूपमा स्थापित भएको छ।’

महिला मात्र शिक्षक भएको विद्यालयमा शैक्षिक सुधारमा निकै मिहिनेत गरेको देखेर बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था सेभ द चिल्ड्रेनले विद्यालय र विद्यार्थीको पढाइमा सुधार ल्याउन शैक्षिक सहयोग गरेको सेभ द चिल्ड्रेन कालीकोटका टिम लिडर विजय विश्वकर्माले बताए। ‘विद्यालयमा पढाउने शिक्षिकाहरूको लगनशीलता देखेर हामीले शैक्षिक सामग्री सहयोग गरेका थियौँ’, उनले भने, ‘यस विद्यालयका शिक्षिकाहरूले सही उपयोग गरेका छन्।’

अरू विद्यालयभन्दा यो विद्यालय निकै उत्कृष्ट रहेको जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख मकरबहादुर भण्डारीले बताए। ‘महिलाहरू मात्र शिक्षक रहेका विद्यालयहरू जिल्लामा निकै न्यून रहेका छन्’, उनले भने, ‘त्यसमध्येको जगन्नाथ विद्यालय जिल्लाकै नमुना विद्यालय रहेको छ।’ 

शिक्षिकाले मात्र संचालन गरेको कर्णाली अंचलमा नै सम्भवत पहिलो हुनसक्ने र अरूभन्दा शैक्षिक क्षेत्रमा निकै अनुशासित र नियमियतामा पहिलो भएको राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका उपनिर्देशक रमेश थापाले बताए। ‘शिक्षिका मात्र भएको यो कर्णाली अंचलकै एउटा मात्र विद्यालय हुनसक्छ’, उनले भने, ‘शैक्षिक वातावरण राम्रो भएको यो नमुना विद्यालय हो।’  

विद्यालय वरिपरि खुला भएका कारण विद्यालयमा कहिलेकाहीँ छाडा पशु चौपाया आउने र साना विद्यार्थीलाई पढाइमा बाधा गर्ने गरेको प्रधानाध्यापक ढुंगानाले बताइन्। ‘स्कुल वरिपरि खुला चौर रहेको छ’, उनले भनिन्, ‘खुला ठाउँलाई केही घेरबार गर्न पाएको भए हुन्थ्यो। खुला भएका कारण पशु चौपायाले विद्यार्थीलाई दु:ख दिन थाले।’

विद्यालयलाई नमुनाका रूपमा विकास गर्नका लागि ठूलो मिहिनेत र काम गर्नुपरेको प्रधानाध्यपक ढुंगानाले बताइन्। ‘नमुना विद्यालय नमुनाकै रूपमा रहन दिन ठूलो काम गर्न बाँकी नै छ’, उनले भनिन्, ‘केही गरेर देखाउन पनि अझै मिहिनेतको आवश्यकता छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.