|

बारा : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दोस्राे अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका बारेमा आफ्नो बोली फेरेका छन्। एकमहिना अघि असोज ३ गते फेसबुकमा स्टाटस लेख्दै सर्लाहीको सागरनाथमा सार्नुपर्ने विचार सार्वजनिक गरेका नेता कोइरालाले सोमबार बारा पुगेर नीजगढको विकल्प नखोज्न सरकारलाई सुझाव दिएका हुन्।

नेपाली कांग्रेस नीजगढ नगर कमिटीले सोमबार बाराको नीजगढमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले आफ्नो विचारलाई फेरेका हुन्। नीजगढमा द्रुतमार्गको कामले गति लिइसकेकाले विमानस्थल नीजगढ मानै बन्ने कुरामा शंका नगर्न समेत नेता कोइरालाको आग्रह छ। विमानस्थल निर्माणस्थलमा रहेका बस्ती व्यवस्थापनको कामलाई तत्काल सम्बोधन गर्नसमेत कोइरालाले सरकारलाई आग्रह गरे।

असोज ३ गते फेसबुकमा स्टाटस लेख्दै कोइरालाले यस्तो भनेका थिए, 'नीजगढनजिकै अवस्थित सर्लाहीको सागरनाथमा रहेको करिब ३ हजार बिघामा रहेको खाली जग्गामा विमानस्थल बनाइनु उपयुक्त हुन्छ।' सरकारका दुई मन्त्रीबीच नै विमानस्थल निर्माण स्थलको रुख कटानका विषयमा फरक धारणा आउनु दुःखद रहेको उल्लेख गर्दै सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह समेत गरे।

रुख र पर्यावरणको संरक्षणले सबैलाई फाइदा पुग्ने भएकाले विमानस्थल निर्माणका क्रममा घना जंगलको कम क्षति गर्नेतर्फ ध्यान दिनुपर्ने कोइरालाको भनाई थियो। नीजगढस्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै नेता कोइरालाले सरकारको काम कारवाहीले सरकार संघीयताको विपक्षमा लागेको स्पष्ट देखिएको आरोप लगाउँदै संघीयताको जगेर्ना गर्ने दायित्व कांग्रेस कार्यकर्ताको काँधमा आएको बताए।

गुट उपगुटको लडाइँ त्यागेर सबै कांग्रेस एकजुट हुनुपर्ने बेला आएकाले त्यसतर्फ ध्यान दिन समेत नेता कोइरालाले कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा प्रतिनिधि सभासदस्य सञ्जय गौतम, देविप्रसाद तिमल्सिना, नेपाली कांग्रेस बाराका सभापति जयचन्द चौरसिया, पूर्व जिल्ला सभापति राधेचन्द्र यादव, नीजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनाल लगायतले सम्बोधन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.