प्रहरीसहित शंकाको घेरामा

|

विराटनगर : इलाका प्रहरी कार्यालय रानी विराटनगरको थुनुवा कक्षबाटै हत्याका दुई जना अभियुक्त फरार हुनुमा सामूहिक संलग्नताको आशंका गरिएको छ।

शुक्रबार बिहान विराटनगर- १७ का मोहम्मद अस्फकको अपहरणपछि हत्याका आरोपी मोहम्मद सद्दिम हुसेन र मोहम्मद आरिफ आलम भेन्टिलेसनको रड काटेर फरार भए। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ भने फरार हुनुमा दोषीको पहिचान गर्ने काम भइरहेको छ। तर फरार काण्डको अनुसन्धानमा गठित टोलीका अधिकांश सदस्यहरूले नै यो एक दिनको र एक जनाको मात्रै संलग्नता भएजस्तो नदेखिएको बताएका छन्।

‘एक रातमा छवटा रड काट्न सकिँदैन’, स्रोत भन्छ, ‘त्यो पनि एक भित्ताका सामान्य पत्तीले।’ व्यावहारिक हिसाबले पनि झण्डै एक वित्ताका साना पत्तीको भरमा एकै रातमा छवटा रड काट्न मुस्किल छ। ‘यो घटना गराउन लामो समयदेखिको प्रयास भएको हुन सक्छ,’ ‘अनुसन्धानमा संलग्न प्रहरी कै आशंका छ, ‘त्यसमा प्रहरी संगठनका केहीको संलग्नता पनि हुन सक्छ।’

२४सै घण्टा प्रहरीको पहरा। बन्द कोठा, गेटमा ताला। प्रहरीको हिरासत कक्षबाटै थुनुवा सहजै भेन्टिलेसनको रड काटेर कसरी भाग्न सक्छ? आममा उठ्ने प्रश्न हो यो। बिहीबार राती दुई जनाको आलोपालो ड्युटी थियो। हत्या आरोपी फरार भएको रात इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौला भने बिदामा थिए।

प्रहरी निरीक्षक बिदामा हुनु, निमित्त प्रमुख मेलाको ड्युटीमा जानु, अभियुक्तलाई अदालतले लिने बयान समाप्त भएर पहिलो फैसला शुक्रबार नै आउने तयारी हुनु, थुनुवालाई महिला थुनुवा कक्षमा राखिनुमा संयोग मात्रै नभएको भन्दै धेरैले शंका गरिरहेका छन्। ‘दालमा कुछ काला हे’, एक प्रहरीले भने, ‘यसले प्रहरीलाई यहाँका मानिसले हेर्ने नजर खराब भयो।’

स्रोतका अनुसार फरार अभियुक्तको भारतीय नागरिकता पनि रहेको बताइन्छ। प्रहरीले इलाका प्रहरी कार्यालयका सबैलाई छानविनको दायरामा ल्याएको बताएको छ तर फरार फेला नपरेसम्म सबै कुरा नखुल्ने प्रहरीको भनाइ छ। कंचनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्या र अपराधीलाई उन्मुक्ति दिने खेल सार्वजनिक भइरहेकै बेला प्रहरीकै मिलेमतो देखिने थुनुवा फरार काण्डले प्रहरी संगठनलाई अझै बदनाम बनाएको छ।

हिरासत कक्षको पूर्वपट्टिको भित्तामा दुईवटा भेन्टिलेसन छन्। हावा आवतजावतका लागि बनाइएको भेन्टिलेसनमा दुई लेयरमा राखिएका छवटा रड काटेर हत्या आरोपी भागेका थिए। भेन्टिलेसनबाट बाहिर निस्किएको भन्ने विषयमा पनि आशंका छ। अनुसन्धानमा संलग्न केही अधिकारीले त भेन्टिलेसनको रड काटिएको भए पनि गेटबाटै बाहिर पठाएको हुनसक्ने पनि आशंका गरेका छन्। केहीले भने भेन्टिलेसनसम्म पुग्ने गरी बाहिरबाटै भर्‍याङ राखिदिएको हुनसक्ने पनि बताउँछन्।

‘रड पनि बाहिरबाटै काटेजस्तो देखिन्छ’, अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘त्यो पनि अस्वाभाविक हिसाबले उल्टोपट्टिबाट काटिएको छ।’ थुनुवा फरार हुनुमा लाखौँ रुपैयाँको चलखेल भएको हुन सक्ने सर्वसाधारणको आशंका छ। ‘फरार मोहम्मद आरिफका काका बिहार रामगंजका मुखिया हुन्। आरिफको घर पनि त्यहीँ पर्छ’, स्रोतले भन्यो, ‘उनका बुबा करोडौँ रुपैयाँको चलखेल गर्नसक्ने व्यक्ति हुन्।’ तर मोरङका प्रहरी प्रवक्ता निशान थापाले अनुसन्धानको रिपोर्ट तयार नभएसम्म केही भन्न नसक्ने बताए।

मोरङ प्रहरीले गत शुक्रबार नै प्रवक्ता थापाको नेतृत्वमा अनुसन्धान टोली निर्माण गरेर खटाएको छ। अनुसन्धान टोलीको म्याद पाँच दिनको रहेको छ। सोमबार चार दिनको समयावधि सकिँदासम्म अनुसन्धान जारी रहेको बताइए पनि ठोस निष्कर्ष नजिक नपुगेको बताइएको छ। ‘हामी छानविनकै चरणमा छौँ’, थापाले भने, ‘अनुसन्धान रिपोर्ट तयार भएपछि हामी सबै कुरा सार्वजनिक गर्नेछौँ।’

सात जनालाई अनुसन्धानका लागि जिल्ला तानेको प्रहरीले तत्काल ड्युटीमा रहेका एक प्रहरी हवल्दार र एक जवानलाई निलम्बन गरेर छानविन पनि गरिरहेको छ। ड्युटीमा प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जिरालाल रौनियार तथा जवानहरू रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगन्नाथ बाँस्कोटा थिए।

प्रहरी हवल्दार जिरालाल र जवान जगन्नाथ निलम्बनमा परेका छन्। उनीहरूको बयान लिने काम सकिन लागेको स्रोतको भनाइ छ। इलाका प्रहरी कार्यालय रानीमा १९ जना थुनुवा थिए। अस्फाक हत्या आरोपमा पक्राउ परेका पाँचमध्ये मुख्य अभियुक्त हुसेन र आरिफलाई छुट्टै कक्षमा राखिएको थियो।

अस्फाक हत्यामा हुसेन र आरिफलाई सहयोग गरेको आरोपमा पक्राउ परेका अन्य तीन थुनवासहित १७ जना छुट्टै कक्षमा थिए। प्रहरीले फरार थुनुवा भारततर्फ भागेको हुनसक्ने आशंका गरेको छ। ‘हामीले खोजी पनि उतैतिर सोझ्याएका छौँ’, प्रहरी प्रवक्ता थापाले भने, ‘जति दिन समय लम्बिँदै जान्छ, त्यति नै हामीले अनुसन्धानको क्षेत्र पनि बढाएका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.