|

धनकुटा : गाउँगाउँमा गरिएको व्यावसायिक फूल खेतीका कारण यतिबेला धनकुटा ढकमक्क बनेको छ। गाउँघर र टोलटोलका आँगनदेखि बारी समेत मखमली र सयपत्री फूलले मनमोहक बनेका छन्। तिहारका लागि आवश्यक पूर्वका अधिकांश ठूला सहरको मागलाई धान्ने सयपत्री फूल उत्पादन गर्दै आएको धनकुटाका फूल किसानले यस वर्ष पनि लाखौं मूल्यको फूल बिक्रीका लागि तयार गरेका छन्।

धनकुटा नगरपालिका–३ सयपत्री फूलले ढाकेर ढकमक्क बनेको छ। यस वडाका लाँकुरे, चिउरेबोटे, सिप्तिङ, स्याउले, निगाले र कागतेमा सयपत्री फूलको व्यवसायिक खेती गरिन्छ। फूलको व्यवसायिक खेती गर्दै आएका यस क्षेत्रका ३० किसानले फूल बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन्।

फूलको पकेट क्षेत्रको रुपमा रहेको यस वडाका प्रायः घरका करेसाबारी र बारीहरुमा फूल फुलेका छन्। फूल खेतीलाई प्रवद्र्धन गर्न यस वर्ष वडा कार्यालयको ७५ प्रतिशत अनुदानमा फूलको बिउ वितरण गरेको थियो। वडाका १५० कृषकलाई दुई लाख ५० हजार बराबरको उन्नत जातको बिउ वितरण गरेपछि किसानहरु फूल खेतीमा झन् आकर्षित भएका हुन्।

मखमली र सयपत्रीबाट यथेष्ट आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएको स्थानीय दुर्गा थापाले बताइन्। खाद्यान्नभन्दा बढी आम्दानी हुने भएपछि खेतको आली, डिल र मकैसँगै बारीमा फूलखेती गर्ने गरेका उनको भनाइ छ।

जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ। फूल बिग्रिएन भने एक सिजनमा प्रतिरोपनी ७० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने किसानहरु बताउँछन्। तर, पछिल्लो समयमा धेरै उत्पादन गर्ने लोभमा विषादीको प्रयोग गर्न थालेपछि फूल उत्पादन घट्दै गएको उनीहरुको भनाइ छ।

जितेन्द्र राईले १७ हजार रुपैयाँको बिउ छरेर २० रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन्। यो मौसममा रोपिने कोदो खेती छोडेर उनले सयपत्री गर्न थालेको उनले बताए। पाँच वर्षदेखि सयपत्री खेती गर्दै आएका राईले यस वर्ष कम्तीमा दुई लाख आम्दानी गर्ने बताउँछन्। पाखो बारीमा रोपिने सयपत्रीलाई अन्य बालीजस्तै मेहनत गर्न नपर्ने भएपछि यसतर्फ आकर्षित भएको उनको भनाइ छ।

सयपत्री खेतीमा किसानको आकर्षण देखेर वडा कार्यालयले किसानलाई ७५ प्रतिशत अनुदानमा सयपत्रीको बिउ उपलब्ध गराएको वडाध्यक्ष विकास घिमिरेले बताए। करिब २०० रोपनीमा लगाइएको सयपत्री फूलबाट ७५ लाख रुपैयाँभन्दा आम्दानी हुने अनुमान छ। 

फूल बिक्रीका लागि बजार धाउनु नपर्ने भएपछि किसानलाई सहज भएको छ। बारीमा नै व्यापारीले अग्रिम बुकिङ गर्दै रकम उपलब्ध गराउने गरेको किसानहरु बताउँछन्। यहाँ उत्पादित फूल धनकुटा, धरान, इटहरी, विराटनगर, सप्तरी, सिरहा लगायतका बजारमा खपत हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.