|

पोखरा : गत महिना (असोज) मा गुर्जा हिमालमा भएको दुर्घटनापछि समग्र पर्यटन क्षेत्रमै सँधैको भन्दा केही बढी त्रास पैदा भएको छ। दशैँको मुखमै म्याग्दीको गुर्जा हिमाल आरोहण गर्न गएको विदेशीको टोली दुर्घटनामा परेको थियो। मध्यरातमा आएको हिमआँधी तथा हुरीका कारण आरोहण दलका नौ जनाले ज्यान गुमाउनु पर्‍यो।

दोस्रो आरोहणमै नौजनाको मृत्यु

यही वर्ष स्थानीय तहको पहलमा बल्लतल्ल आरोहणका लागि अनुमति पाएको गुर्जा हिमालले दुई हप्ताअघि मात्रै नौ जनालाई एकै साथ मृत्युको मुखमा पुर्‍यायो। यस हिमालको पहिलो आरोहण भने सन् १९६९ मा जापानी टोलीले गरेको गुर्जा गाउँपालिका–१ का वडा अध्यक्ष झकबहादुर छन्त्याल बताउँछन्। त्यसबेला जापानी टोलीले पश्चिमी भागबाट हिमालको आरोहण गरेका थिए। अहिले दुर्घटनामा परेको टोली भने हिमालको दक्षिणी मोहोडाबाट आरोहणको यात्रामा थियो।

किलर माउण्टेनको उपमा पाएको मनास्लु हिमाला पछि दोस्रो जोखिम (किलर माउण्टेन) हिमालको नाम पाएको गुर्जाले आफ्नो चुचुरोमा पुग्न जोखिम नै रहेको पुष्टि गर्‍यो। ७१९३ मिटर उचाईको गुर्जा आरोहणमा गएका पाँचजना आरोही दक्षिण कोरियाली र उनीहरुका चार जना नेपाली गाईडलाई आँधीले एउटै ठाउँमा मृत्युको मुखमा पुर्‍यायो। 

गाउँ छोड्यो, सञ्चार टुट्यो

गुर्जा हिमाल आरोहणमा गएको उक्त विदेशीको टोली दुर्घटनामा परेको भनेर दुई दिन पछि मात्रै बाहिर हल्लाभयो। आरोहण दलको टोली गाउँबाट हिमालतर्फ दुर्घटना भएकै दिन बिहीबार गएको स्थानीय बताउँछन्। गाउँसम्म अलिअलि नेपाल टेलीकमको सिडिएमए फोन चल्ने भए पनि गाउँबाट छुटेपछि टेलिफोन सम्पर्क पूर्णरूपमा विच्छेद हुने वडाध्यक्ष छन्त्यालको भनाइ छ।

‘घटना भएको ठाउँ हाम्रो गाउँबाट जम्माजम्मी साढे दुई घण्टाको बाटो हो,’ छन्त्यालले भने ‘टेलिफोन सम्पर्क मात्रै हुने भइदिएको भए हामीले केहीलाई उद्धार गर्न सक्थ्यौँ होला। सबै जना एकै झट्कामा मरेको त होइन होला। हामीले हाम्रो आफन्त पनि त्यही टोलीसँग गएको र दुई दिन सम्म पनि किन फर्केन भनेर खोज्न जाँदा मात्रै घटना थाहा पायौँ।’

उनले यो घटनालाई राज्यले गम्भीररूपमा लिनुपर्ने र तत्कालै जुन ठाउँमा जस्तो सञ्चारको पहुँच पुर्‍याउन सकिन्छ, त्यस्तै सञ्चारको व्यवस्था गर्न माग समेत गरे। गुर्जा हिमाल दुर्घटनाको खबर थाहा पाउनै दुई दिन लाग्यो। घटना थाहापाएपछि उद्धारका लागि पनि थप दुई दिन लागेको थियो। अन्नपूर्ण, मनास्लु क्षेत्रमा यतिबेला देशी विदेशी पर्यटकहरुको ताँती लाग्न थालिसकेको छ। पर्यटकीय मौसममै भएको गुर्जा दुर्घटनाले साहसिक पर्यटनको व्यवसाय गर्दै आएका व्यवसायीहरूलाई पनि चुनौती थपिदिएको छ। 

हुदहुद आँधीकै सम्झना

दुई हप्ता अघि मात्रै भएको गुर्जा हिमाल आरोहण दलको दुर्घटनालाई पर्यटन व्यवसायीहले तीन वर्ष अघिको हुदहुद आँधीकै रूपमा सम्झेका छन्। अन्नपूर्ण क्षेत्र विश्वमै कहलिएको पदमार्ग पनि हो। यही क्षेत्रको पदमार्ग तथा हिमाल आरोहणको क्रममा भएका घटनाले पोखराका मात्रै होइन अन्य क्षेत्रलाई आधार बनाएर साहसिक व्यवसाय सञ्चालन गर्दै आइरहेकाहरु पनि उत्तिकै त्रसित छन्।

‘म सोलुको मान्छे, दशैँको बेलामा पोखरा घुम्न आएको,’ सोलुखुम्बुको नाम्चेबजारमा एभरेष्ट भ्यू नामक होटलका सञ्चालक टासी शेर्पाले बिहीबार पोखरामा भेट हुँदा भने, ‘हामी १४ जनाको टोली अहिले पोखरा घुम्न आएका छौँ। हाम्रो लक्ष्य एबीसी क्याम्पसम्म जाने थियो। गुर्जा हिमालको दुर्घटनाको त्रासले जानै सकेनौँ। हामी १५ दिनको यात्रामा हिँडेको एबीसी जान नसकेपछि पोखरा आसपासकै क्षेत्रमा सात बिताएर फर्किन लागेका छौँ। हामीले त हुदहुद आँधी नै सम्झियौँ। एकै ठाउँमा नौ जनाको ज्यान जानु भनेको ठूलो कुरो होनी।’ हुदहुदले अन्नपूर्ण राउण्डमा मात्रै ४२ जनाको ज्यान लगेको थियो। 

शूल्क मात्र लिने कि काम पनि गर्ने ?

पदमार्ग तथा हिमाल आरोहणका लागि आएको पर्यटकले विभिन्न शीर्षकमा कर तिर्ने गर्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाकै पनि हरेक वर्ष बाटोघाटो मर्मत, खानेपानीको  व्यवस्था, बासबस्ने ठाँटी, धर्मशाला बनाउनेलगायतको कार्यक्रम भएपनि सञ्चार सञ्जाल विस्तारमा उसको पनि प्राथमिकतामा छैन्। हुदहुद आँधीले अस्तव्यस्त बनाएको अन्नपूर्ण क्षेत्र अहिले पनि उही हालतमा छ। नेपाल सरकार र व्यवसायीहरुले पनि यसलाई प्राथमिकतामा राखेका छैनन्। पर्यटकहरुले अन्नपूर्ण क्षेत्रको विभिन्न भागका जानका लागि भनेर टुरिजम बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई समेत शुल्क तिर्ने गर्छन्। 

टावर चाहियो

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष हरि भूजेलले सरकारले बेवास्ता गरेका कारण पटक पटक यस्तो घटना भइरहेको बताए। ‘हामीले अन्नपूर्ण क्षेत्रमा सञ्चारको पहुँच बढाउन भनेर सरकारलाई घच्घचाइरहेकै छौँ,’ उनले भने ‘हामीले के भूमिका पूरा गर्नुपर्छ त्यो गर्छाैँ भन्दा पनि सरकारले सुन्दैन। हामीले राउण्ड अन्नपूर्णको विभिन्न क्षेत्रमा टावर, इन्फरमेशन सेन्टर स्थापना गरौँ भनेका हौँ।’ अन्नपूर्ण क्षेत्रको मौसम पहिले जस्तो अनुमानको भरले पत्ता नलाग्ने उनको भनाइ छ । ‘राउण्ड अन्नपूर्णको मौसम कति बेला चेन्ज हुन्छ कसैलाई पत्तो छैन।

अनुमान एउटा हुन्छ भइदिन्छ अर्कै। जल जलवायू परिवर्तनले पनि असर परेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा फँसेको मान्छेलाई सञ्चारको कति महत्त्व होला। आजकाल हामीले नै पठाएको मजदुरको खबर थाहा पाउन मुस्किल छ। ऊ सम्पर्कमा नाआएसम्म यहाँ सुखको सास फेर्न नपाइने स्थिति छ।’


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.