चार महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

|

बुटवल : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) पक्की गर्न सुरु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मंगलबार धावनमार्गको कालोपत्रे उद्घाटन गरे। 

आगामी ४ महिनाभित्र विमानस्थलको स्तरोन्नतिको काम सकिनेगरी काम अघि बढिरहेको भन्दै उनले ६ महिनाभित्रै उडान सुरु गर्ने बताए। ‘भौतिक पूर्वाधारको काम ४ महिनामा सक्ने लक्ष्य छ। त्यसपछि अरु तयारी पूरा गरेर ६ महिनामै अन्तर्राष्ट्रिय उडान सुरु गरिनेछ। उनले भने, 'धावनमार्गमा कालोपत्रे र लाइटको काम बाँकी रहेको छ। त्यो छिटै पूरा हुन्छ।’ 

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मत गर्ने अवस्थामा रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यसका लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सुचारु गर्नु पर्ने बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको निर्माण सम्पन्न भएलगतै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको मर्मत सुरु गर्ने सरकारको तयारी छ। 

३ किलोमिटर लम्वाईको धावनमार्ग ४ महिनामा पक्की गरेर सकिने गौतमबुद्ध विमानस्थल निर्माण आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।ठेकेदारका प्रतिनिधिले मन्त्री अधिकारीसमक्ष धावनमार्ग निर्माणका लागि ८० प्रतिशत नदीजन्य पदार्थलगायत अन्य साम्रगी भण्डारण रहेकाले तोकिएको समयअगावै नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन्। 

धावनमार्ग पक्की भएर लाइट राखेपछि आन्तरिक उडानहरू पनि नयाँ धावनमार्गबाट हुने र हाल सञ्चालनमा रहेको धावनमार्ग ट्याक्सीवेमा परिणत हुने गरी काम अगाडि बढाइएको आयोजनाले जनाएको छ। सञ्चालनमा रहेको धावनमार्गलाई पूर्वतर्फ २०० मिटर र पश्चिमतर्फ २०० मिटर बढाएर त्यसलाई ट्याक्सीवेको रुपमा प्रयोग गरिने निमित्त प्रमुख अधिकारीले बताए। त्यसपछि ट्याक्सीवेको लम्बाई १ हजार ९०० मिटर हुनेछ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भविष्यमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै थप एउटा टर्मिनल भवन र १० वटा विमान पार्किङ गर्न मिल्ने पार्किङस्थल निर्माण गर्ने प्रक्रियामा रहेको मन्त्री अधिकारीले जानकारी दिए। अहिले एउटा अन्तर्राष्ट्रिय ट्रर्मिनल भवन र ६ वटा विमान पार्किङ गर्न मिल्ने पार्किङस्थल निर्माण गरिएको छ। 

मन्त्री अधिकारीले भैरहवाको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्सहरूसँग छलफल चलिरहेको भन्दै छिटै नै सम्झौता हुने बताए। 'अहिले जुन जुन एयरलाइन्सँग हाम्रो सम्झौता भइरहेको छ। त्यसमा हामीले गौतमबुद्ध विमानस्थललाई समावेश गरिरहेका छौँ' मन्त्री अधिकारीले भने, ‘यस विमानस्थलबाट उडान भर्नका लागि धेरै एयरलाइन्सहरू इच्छुक छन्। अपरेसनपश्चात् विभिन्न मुलुकका एयरलाइन्सहरू यहाँबाट उडान अवतरण सुरु गर्नेछन्।’

भैरहवास्थित गौतमबुद्ध विमानस्थल सन् २०१७को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी २०१५ मा विमानस्थल स्तरोन्नतिको काम सुरु भएको थियो। अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण अन्तिम चरणमा पुगेको छ। 

६ अर्ब २२ करोड रुपैयाँ लागतको विमानस्थलमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान रहेको छ भने बाँकी चारअर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो। विमानस्थल निर्माणमा हाल सम्म दुई अर्ब ६ करोड बढी खर्च भएको आयोजनाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.