अर्थ

भान्छामै मैनबत्ती उत्पादन
SHARES

कात्तिक १३, २०७५

    लमजुङ : ‘अरु काम के गर्ने त? समयको सदुपयोग।’ मैनबत्ती बनाउने डाइमा धागो जडान गर्दै इन्द्रकाशी गुरुङले भनिन्। गफ गर्दा पनि उनको हात उद्यमशीलतामै तल्लीन हुन्छ। ‘दीपावली आउन लाग्यो। अरु समयभन्दा यो समय बढी व्यस्त हुनुपर्छ’ उनले भनिन्।

    महिला उद्यमी गुरुङ भान्छामा मैनबत्ती उत्पादन गर्छिन् र डायनिङ टेबलमा मैनबत्ती प्याकिङ गर्छिन्। आफूमा भएको सीप र जागरलाई सदुपयोग गर्न ठूलो ठाउँ चाहिँदैन भन्ने गतिलो उदारहण इन्द्रकाशी गुरुङको भान्छामा उत्पादन भएको मैनबत्ती हो। अरु समयभन्दा यो समयमा मैनबत्तीको माग अत्यधिक हुनाले उद्यमशील गुरुङलाई अहिले भ्याई नभ्याई छ।

    तिहार नजिकिएसँगै बजारका ठूला व्यापारीहरूसमेत उनले बनाएको मैनबत्तीको माग गर्न आएपछि उद्यमी गुरुङलाई कामको लोड थपिएको हो। राम्रो र फिनिसिङ भएको मैनबत्ती ग्राहकको रोजाई बनेको छ। मैनबत्ती उत्पादनका लागि दैनिक १० किलो मैन खपत हुने गरेको उनले बताइन्। उद्यमी गुरुङको भान्छामा तीन प्रकारको डाइबाट मैनबत्ती उत्पादन हुन्छ। अहिले सबैभन्दा बढी उत्पादन हुने मैनबत्ती सप्तरंगी मैनबत्ती हो। 

    दीपावलीमा धेरै माग भएको कारण सप्तरंगी मैनबत्ती उत्पादन गरिएको उनको दावी छ। त्यस्तैगरी लोडसेडिङको समयमा बाल्न र विभिन्न कार्यक्रममा दीप प्रज्वलन गर्नका लागि मझौला र ठूलो आकारको आकर्षक मैनबत्ती उत्पादन गर्छिन्। उनका अनुसार मझौला र ठूला आकारको मैनबत्तीको माग सप्तरंगी मैनबत्तीको तुलनामा कम छ। उनले उत्पादन गरेको सप्तरंगी प्रतिगोटा तीन रुपैंया, मझौला प्रतिगोटा १० रुपैंयाँ र ठूलो आकारको प्रतिगोटा २५ रुपैयाँमा खुद्रा बिक्री हुने गरेको छ। 

    ठूला व्यापारीले होलसेल मूल्यमा घरमा खरिद गर्न आएको उद्यमी गुरुङले बताइन्। मैन पकाउने, रंग मिलाउने, डाइमा तेल लगाउने, धागो जडान गर्ने, डाइ खोल्ने र प्याकिङसहितको काम एक्लैले भ्याउँछिन्। मैनबत्ती बनाउने कामलाई फुर्सदको बेलामा र कलेज छुट्टी भएको समय छोरी मोनिका गुरुङले सघाउँछिन्। श्रीमान वैदेशिक रोजगारमा, घरमा आफू र छोरी।

    बैदेशिक रोजगारको कमाईले १२ वर्षअघि बेसीशहर नगरपालिका ७ शान्तिटोलमा एकतले घर निर्माण भयो। त्यही सानो घर, सानो परिवार, दीर्घकालीन सोच र इन्द्रकाशीको उद्यमशीलता समाजमा हौसला र प्रेरणाको स्राेत बन्न पुगेको छ। उनको पुरानो घर मर्स्यादी गाउँपालिका ४ थाकन हो। छोरीको शिक्षादीक्षाका लागि लमजुङ सदरमुकाम बेसीशहरमा कोठा भाडामा लिएर श्रीमानले राखेको थिए। 

    कोठामा खाना पकाएर खाने, छोरीलाई खुवाउने, स्कूल पठाउने कामले मात्रै उनी व्यस्त हुन सकिनन्। अन्ततः उनी महिला उद्यमी बन्न पुगिन्। बैदेशिक रोजगारमा रहेको श्रीमानले ‘तिमी दुःख नगर, परिवारको लागि म कमाई गर्छु’ भन्ने गरेको तर श्रीमानले दिएको सल्लाहले झन् उद्यमशीलतामा ऊर्जा मिलेको उद्यमी गुरुङ बताउँछिन्। उनको उद्यमशीलताले घर खर्च चलेर पनि बचत भएको छ।

    हुन त इन्द्रकाशी गुरुङ २०६५ सालमा अगरबत्ती बनाउन सुरु गरेकी थिइन्। २०६६ सालमा छिमेकी विकास बैंकले तीन दिनको मैनबत्ती बनाउने तालिम दिएपछि अगरबत्तीसँगै मैनबत्तीको काम पनि सुरु गरिन्। अहिले पनि मैनबत्तीसँगै अगरबत्ती पनि उत्पादन हुन्छ। तर मैनबत्ती बनाउँदा घरको काम पनि गर्न भ्याइने भएकोले अगरबत्ती उत्पादन कम भएको छ। यद्यपि बजारको माग अनुसार अगरबत्ती पनि उत्पादन गर्छिन्।

    मैनबत्ती बनाउन सुरु गरेको पहिलो वर्ष १० हजार रुपैयाँ आम्दानी गरेपछि आफूलाई मैनबत्ती बनाउन ऊर्जा मिलेको उद्यमी गुरुङले बताइन्। अघिल्लो वर्ष बजारमा माग अनुसार मैनबत्ती उत्पादन गर्न नसकेकोले यो वर्ष एक लाखको मैन र कच्चा पदार्थ खरिद गरी मैनबत्ती उत्पादन गरिरहेकी छिन्। अघिल्लो दिन उत्पादन भएको मैनबत्ती एक रात मात्रै घरमा रहन्छ। बजारको माग पूरा गर्न दैनिक १० किलो मैनले नपुग्ने उनको आँकलन छ। त्यसका लागि जनशक्ति छैन। 

    बिहान ५ बजे उठेपछि राती १० बजेसम्म भान्छामा मैनबत्ती बनाउनमा व्यस्त हुन्छिन्। कहीं कतै घुम्न जाने र मनोरञ्जन लिने भन्ने विषय उनको चासोको विषय नै बनेन। उनको चासोको विषय भनेकै अहिले बजारमा मैनबत्तीको माग पूरा गर्नमा कसरत गरिरहेकी छिन्। मैनबत्तीबाट अघिल्लो वर्ष दुईलाख फाइदा भएको थियो भने अहिले दोब्बर बढी फाइदा लिने उनको लक्ष्य छ। आफ्नै भान्छामा तयार भएको मैनबत्ती अहिले प्रतिकिलो ३८० रुपैंयाँको दरले होलसेल बिक्री भइरहेको गुरुङले बताइन्।

    महिला उद्यमी गुरुङले अहिलेसम्म १० स्थानमा मैनबत्ती बनाउने प्रशिक्षण दिएपछि सबैले मैनबत्ती प्रशिक्षक भनेर पनि चिन्ने गरेका छन्। घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र विभिन्न संघसंस्थाले आयोजना गरेको मैनबत्ती बनाउने तालिममा प्रशिक्षकको रुपमा बोलाएको उनले बताइन्। 

    घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय लमजुङका उद्यम विकास सहजकर्ता (नासु) जगत मिश्रका अनुसार लघु उद्यमीहरूलाई आवश्यक कच्चा पदार्थ सहयोग गर्ने र विभिन्न अनुदान दिने गरेको छ। उनका अनुसार लघु उद्यमका लागि एकलाखदेखि पाँच लाखसम्म बिनाधितो ५ प्रतिशत व्याजदरमा ऋणसमेत उपलब्ध हुने प्रावधान नेपाल सरकारको रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]