|

उदयपुर : त्रियुगा नगरपालिका–१६ शाहीखोलामा चुरे पर्वत भूक्षय हुँदै गरेको प्रमाणित गर्ने माटोको ढिस्काढिस्की छन्। खोलाको किनारमा पहिरो गएर बर्खको पानीले क्षयिकरण हुँदा ती ढिस्काहरु कलात्मक देखिन्छन्। 

त्यहाँ पुग्ने केहीले त्यस सुन्दर ढिस्कोलाई गणेश भग्वानको रुपमा देख्ने गरेका छन्। केहीले भारतको ताज महल झैं देख्ने गरेका छन्। दुई साताअघि सामाजिक सञ्जाल फेसबुक र केही सञ्चार माध्यममा प्राकृतिक ‘ताज महल’ भेटिएको भन्दै प्रचारप्रसार भयो। त्यसपछि उक्त स्थानमा सर्वसाधरणको घुइँचो लाग्न थालेको छ।

यसरी भयो चर्चा

माटोको ढिस्कोलाई फेसबुक र केही सञ्चार माध्यमले ताज महल भन्दै प्रचारप्रसार गरे। सुरुमा शाहीखोलाका एक स्थानीयले फोटो खिचेर फेसबुकमा ‘ताज महल’ लखेर पोस्ट गरे। त्यसलगत्तै केही सञ्चार माध्यममा आवद्ध पत्रकार पुगेर प्रकृतिक ताज महल भेटिएको भनी समाचार लेखे।

विभिन्न मिडियाले प्रचारप्रसार गरेपछि सोमबार त्यहाँ पुगेका गाईघाटका पत्रकार तुलसीप्रसाद कोइरालाले हिन्दीमा भने, ‘नहीं देखा तो पछताएगा, देखा तो बहुत पछताएगा’। एउटा पहिरो गएको पाखोमा पानीले पिटेर बनाएको माटोको ढिस्कोबाहेक अन्य केही थिएन। ताज महलको नामले चर्चा पाएको माटोको ढिस्कालाई ‘शाही महल’ भनेर स्थानीयले नाम दिएका छन्। शाही महल संरक्षण समिति समेत बनेको छ।

‘गाँउकै साथीहरुले ताज महल भन्दै फेसबुकमा पोस्ट गरेर पत्रकार साथीहरुले समाचर प्रकाशन प्रशारण गरेछन्,’ शाही महल संरक्षण समितिका अध्यक्ष उमेश कटुवालले भने, ‘अहिले दैनिक रुपमा तीन सयदेखि चारको संख्यामा सर्वसाधरण ताज महल भन्दै हेर्न आउने गरेका छन्।’


 
माटोको ढिस्काले यसरी ताज महलको रुप लियो

ताज महलको नाम पाएको माटोको ढिस्को हेरेर फर्केका त्रियुगा नगरपालिका–११ का ८४ वर्षीय गंगाबहादुर बुढाथोकीले अनुभव साट्दै भने– खोलाको छेउमा पहिरो गएपछि लेदो मिसिएको चिम्ट्याइलो माटोको ढिस्को बन्यो। पछिल्लो समयमा ठूलो पानी परेको छैन। त्यही भएकाले पानीले क्रमिक रुपमा माटो बग्दा खोल्साखोल्सी बनेको आकृति नै ताज महल रे।

खाँबुबाट ताजमहल अवलोकन गर्न आएका जितबहादुर मगरले फेसबुकमा बच्चाहरुले सेल्फी हालेको देखेर पुगेको बताउँदै भने, ‘यस्तो पहिरो गएको ठाउँमा प्रसस्त भेटिन्छ, कुनै आश्चर्यको कुरा केही छैन।’ उनका अनुसार चुरे क्षेत्रका दर्जनौ स्थानमा यस्ता पहिरोको दरारहरु भेटिन्छन्।

स्थानीय कृष्णबहादुर राउतका अनुसार उक्त ढिस्को पहिले अर्कै स्वरुपमा थियो। पानीले खियाएर ताज महल बनेको र अर्को वर्ष अर्कै आकार लिने राउतको भनाइ छ।

के हो चुरे पर्वत ?

करिव चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरु थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे हो। पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला शिवालिकको नामबाट चिनिन्छ। नेपालको कुल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्छ। अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड छ।

सामान्यतया पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील मनिन्छ। कमजोर  र पत्रे चट्टानले बनेको  भू–भाग नै चुरे हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने र ३७ जिल्ला छुन्छ। 

नगरपालिकाको योजना 

सामाजिक सञ्जाल र मिडियामा प्रचारप्रसार भएपछि त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, उपमेयर देवीकुमारी चौधरी, वडाध्यक्ष समेत पुगे। नगरपालिकाका प्राविधिक, योजना, कर शाखाका कर्मचारीको टोली लिएर मेयर चौधरी पुगेका थिए। मेयर चौधरीले माटोको ढिस्को संरक्षण गर्न नगरपालिकाले जिम्मेवारी लिने उद्घोष गरे।

‘माटोको ढिस्को नजिक रहेको स्थानीयको कुखुरा फर्म र घर अन्यत्र सार्नु पर्‍यो,’ उनले भने, ‘मेयर चौधरीले माटोको ढिस्को संरक्षण गर्न वस्ती अन्यत्र सार्ने कुरा गर्दा स्थानीयहरु मज्जाले हाँसेँ।’ 

नगरपालिकाका कर शाखाका प्रमुख गुरु ढकालले नगरपालिकाले लगानी गरेर संरक्षण गर्ने र आम्दानीको स्रोतको रुपमा विकास गर्ने बताए। त्रियुगा नगरपालिका इन्जिनियर रमेश ढुङ्गानाले माटोको ढिस्कोलाई यही अवस्थामा राख्न ठूलो लगानी गर्नु पर्ने सुझाए। 

जोखिम बढ्यो

१५/२० फिट अग्लो माटोको डिस्कोमा ढुंगा झर्न लागेका छन्। ढुंगा झर्न लागेको ढिस्कोमा बसेर फोटो खिच्ने गर्दछन्। ‘यो ढिस्को झरेर कोही घाइते भए, मरेको खण्डमा कस्ले जिम्मा लिन्छ?,’ पत्रकार तुलसी कोईरालाले भने, ‘ताजमहल भन्दै भएको प्रचारप्रसारले जोखिम बढाएको छ।’ चिराचिरा परेको ढिस्को जुनसुकै बेला पनि भत्कने भएकाले छेउछाउमा जान सर्तकता अपनाउने पर्ने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.