|

पाँचथर : फिदिम नगरपालिका- ३ का वडा अध्यक्ष नरेन्द्र गुरुङको व्यस्तता अरू बेलाभन्दा बढेको छ। उनको व्यस्तता वडाको कामकारबाहीले बढेको होइन। त्यो त उनको नियमित कामकारवाही हो। यतिबेला उनी गीत संगीतको पोखरीमा डुबुल्की मार्दै छन्। अध्यक्ष गुरुङ फुर्सद मिल्यो कि रियाजमा जुटिहाल्छन्।

कात्तिक १५ मा सदरमुकाम फिदिममा उनी आवद्ध हिमालयन कल्चरल ब्याण्डको विशेष प्रस्तुति हुँदै छ। उनी पनि त्यहाँ गाउने गीतहरूको तयारीमा जुटेका हुन्।

परिवारकै सदस्यहरू आवद्ध ब्याण्डबाट हुने प्रस्तुतिमा रेडियो नेपालमा रेकर्ड भएको उनको गीत 'सिलौटी डाँडैमा, गुराँस फुल्यो पाखैमा'सँगै 'पानको पात', 'बल्ल पर्‍यो नीरमाया माकुरी जालैमा' र सिमसिमे पानी'मा सुनिनेछन्।

तर स्टेजमा उक्लिने क्रममा भने 'सिमल बारुलै' गीतको धूनमा देउसी र भैलो भट्याउने योजना छ उनको। त्यसपछि 'कलिलो तामालाई सोध आमालाई' र 'लेकाली है चोयाको डोको' गीत पस्किइनेछ।

उनी वडा अध्यक्ष हुन् तर राजनीतिसँग उनको पारिवारिक साइनो कहीँ कतै जोडिएको छैन। बरु पारिवारिक पृष्ठभूमि गीत संगीतमैत्री छ।

२०५९ सालमा रेडियो नेपालमा जेठा दाजु धनबहादुर गुरुङको शब्द र संगीत रहेको गीत ‘सिलौटी डाँडैमा, गुराँस फुल्यो पाखैमा’ उनको आवाजमा रेकर्ड भएको थियो। गीत प्रसारण भएपछि उनी हौसिएर त्यही वर्ष काठमाडौं हामफालेका थिए।

काठमाडौंमा रहँदा संगीत र केही राजनीतिक चेत पनि उनले पाए तर लगाव भने सांगीतिक क्षेत्रमै रह्यो।

२०५९ भदौको एक दिन (गते सम्झनामा नरहेको) दिउँसो २ बजे। हाल रेडियो नेपालको भरतपुर प्रसारण केन्द्रमा कार्यरत टेकनाथ वाग्लेको फोन आएपछि उनको गीत बज्यो।

भारतको इलाहावादबाट शास्त्रीय संगीतमा स्नातक उनी यही विषयमा स्नातकोत्तर गर्ने तयारीमा छन्।

उनी वडा अध्यक्ष भए पनि मोह भने गीत संगीतमै छ। उनी भन्छन्, ‘राजनीतिमा त नजानिँदो पाराले आइयो, केके न गरौँला भन्ने पनि छैन। बरु शास्त्रीय संगीतमा मास्टर डिग्री गर्ने हो, कालो कोट लाउने हो।’

उनी जिल्लामा हुने कन्सर्ट तथा सांस्कृतिक कार्यक्रममा देखिन्छन्। वडा अध्यक्ष गुरुङले रेकर्ड गराएका गीत २२ वटा भइसकेका छन्। कन्सर्टहरूमा उनी आफ्ना तथा आफूलाई मनपरेका गीतहरू पस्कने गर्छन्।

उनी भन्छन्, ‘वडाबासीलाई खुसी र सुखी देख्न चाहन्छु म- एकातिर समृद्ध वडा बनाएर र अर्कोतिर गीत गाउँदै नचाएर।'

अध्यक्ष गुरुङ आफूले गाएको गीतमा वडाबासी नाच्दा असाध्यै आनन्दित हुन्छन्। खुसी हुन्छन्।

उनको सांगीतिक क्षेत्रमा प्रेरक बुबा पदमबहादुर हुन्। मादल बजाउन खप्पिस बुबा पदमबहादुरले मादल, जेठा दाजु धनबहादुर बाँसुरी बजाउने र उनी आफूचाहिँ गितारसँगै गीत गाउने गर्थे।

परिवारका सदस्यहरू नै सांगीतिक क्षेत्रमा भएपछि स्थापित हिमालयन कल्चरल ब्याण्डमा हाल धनबहादुरकै छोरा निशान गितारिस्ट र क्याजन वादक हुन्।

संगीतमय पारिवारिक वातावरणमा हुर्केका उनी २०५८ मा आइए अध्ययन गर्न पाँचथर बहुमुखी क्याम्पस आए। जिल्ला खानेपानी, सरसफाई तथा डिभिजन कार्यालय पाँचथरमा कार्यरत रामु सुनुवारले उनको संगीतप्रतिको इच्छालाई भोकमा परिणत गरिदिए। इटहरीका स्थायी बासिन्दा रामुको निधन भइसकेको छ।

वडाध्यक्ष गुरुङ हार्मोनियम समातेपछि गुरु रामु सुनुवारलाई सम्झिन्छन्। उनी भन्छन्, 'उहाँले मलाई सा रे ग म सिकाउनुभयो। क्लासिकल म्युजिकका प्रखर गुरु लाग्थ्यो। उहाँकै प्रेरणामा संगीत सिक्न विराटनगर पनि पुगेँ।’

स्वर संगम संगीतालय विराटनगरमा छ वर्ष शास्त्रीय संगीत सिकेका उनको औपचारिक शिक्षा संगीतमै रह्यो। उनको पछिल्लो गीत 'मादलु बज्यो है' हो।

खुसीले सीमा नाघेको त्यो क्षण

रेडियो नेपालमा ‘सिलौटी डाँडैमा, गुराँस फुल्यो पाखैमा’ गीत रेकर्ड गरी विराटनगर फर्केका उनको जिन्दगीमा अति खुसीको क्षण पनि छ। २०५९ भदौको एक दिन (गते सम्झनामा नरहेको) दिउँसो २ बजे। हाल रेडियो नेपालको भरतपुर प्रसारण केन्द्रमा कार्यरत टेकनाथ वाग्लेको फोन आएपछि उनको गीत बज्यो। ‘म सोलारको ब्याट्रीमा लेभल हेरेर पानी लाउँदै थिएँ, टेकनाथजीले फोन गरेर अब गीत बज्छ भनेपछि रेडियो ठूलो बजाइयो’, उनले आफ्नो विगत सुनाए, ‘सबै साथीहरूले सुने, हाँसे, यस्तो मान्छे यस्तो भएर आ'को? काठमाडौं जाऊ यार! यहाँ के यस्तो काम गरी बसेको? अनि हाकिम भूमिनन्द बरालले खेलाँची ठानेको त हामीभन्दा पनि ठूलो भएछौ भन्नुभयो।’

त्यसपछि नरेन्द्रको रेडियो नेपाल आउजाउ निकै बढ्यो। रेडियोमा उनको गीत बज्ने क्रम बढ्यो। उनको गीत धेरै बज्न थालेपछि सिनियरहरूले प्रश्न गर्न थाले, 'सिनियर गायकहरू तिम्रो को छ मित्र? हामी लाइन बसेर गीत बजाइदेऊ भन्दा बजाउँदैनन्। तिम्रो त बेलाबेला बज्छ?'

यसरी गायन क्षेत्रमा पहिचान स्थापित भएपछि सोही वर्षको तिहारमा घर आउँदा गाउँलेहरूले स्याबासी दिएको सम्झना उनमा छ। आजभोलि पनि रेडियो नेपालबाट ‘बोलाऊँ बोलाऊँ लाग्यो बोलाऊँ के भनी, झ्याप्प बोलाऊँ त छैन चिनजानी’, ‘पर्ख न माया सँगै जाऊँ, चोखो माया लाऊँ’ र अर्को राष्ट्रवादी गीत ‘मादलु घन्क्यो है’ प्रसारण हुने गर्छन्।

उनले देवी घर्ती, शर्मिला गुरुङ र मुना थापासँग लोकदोहोरी पनि गाएका छन्।

'किसानको परिचय बदल्छु'

राष्ट्रवादी गीत पनि उनले थुप्रै गाएका छन्। गाइएका गीतका शब्दहरूले बोकेको समृद्धिको भावअनुसार समृद्ध वडा बनाउने कसरतमा लागेको उनी दाबी गर्छन्। ‘डोकोमा घाँस बोकेको, च्यातेको लुगा लगाएको र निरीह मानिसको रूपमा किसानलाई हाम्रोमा चित्रण गरिन्छ।’

उनले भने, ‘युकेमा पाण्डा भन्ने खैरे जाति रहेछ, ती जातिका मानिस कृषिमा छन्, तिनीहरू धनी छन्। वडाका किसानहरूलाई पनि धनी बनाएरै छाड्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.