|

कर्णाली प्रदेशअन्तर्गत दैलेख जिल्लाका चार नगरपालिका र सात गाउँपालिकामध्ये ठाँटीकाँध गाउँपालिका दैलेख जिल्ला निर्वाचन क्षेत्र नंं.- २ मा पर्छ। पूर्वमा दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका, उत्तरमा कालीकोट जिल्लाको कालिका गाउँपालिका, पश्चिममा दैलेखको आठबीस नगरपालिका र दक्षिणमा चामुण्डा विन्द्रासैनी नगरपालिका र आठबीस नगरपालिकाको भूभागको बीचमा अवस्थित ठाँटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा, साधन स्रोतमा सम्पन्न भएर पनि आर्थिक रूपले कमजोर रहेको छ। यस गाउँपालिकाको जम्मा क्षेत्रफल ९०.७५ वर्ग किलोमिटर छ भने राष्ट्रिय जनगणना २०६८ अनुसार जम्मा जनसंख्या १८ हजार ८९६ रहेको छ। 

जल, जमिन, जंगल, जडिबुटी, जंगली जनावर, एवं उर्वर भूमि रहेको यो गाउँपालिका पूर्व, पश्चिम, उत्तर, दक्षिण गोलाकार भूधरातल भएकोे गाउँपालिका हो। यस गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको वन जंगलका कारण पानीका प्रशस्त स्रोतहरू, जडिबुटी, जंगली जनावर तथा नीलम पाइनुका साथै स्याउ खेती र अलैँची, खेतीको संभावनासमेत रहेको छ। लेकाली क्षेत्रमा पाइने नीलम ढुंगा र जौचौरमा भएको तामाखानी एवं तिरुवा टोलको फलाम खानीको उत्खनन् गर्न सकेमा ठाँटीकाँध गाउँपालिका मात्र होइन, दैलेख जिल्ला र सिंगो प्रदेश अनि नेपालकै आर्थिक अवस्था सुधारमा टेवा पुग्ने संभावना बोकेको गाउँपालिकामा पर्छ ठाँटीकाँध। प्रस्तुत छ दैलेख जिल्लाको ठाँटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीसँग थाहाखबरकर्मी उदयराज अधिकारीले गरेको कुराकानी।

निर्वाचनअघि गरेका प्रतिवद्धता कति कार्यान्वयन भए?

गाउँपालिकालाई राम्रो गाउँपालिका बनाउने हाम्रो धारणा छ। वडा तहमा बाटाहरू छैनन्, ती बाटाहरू जोडेर छवटा वडाहरूमा हामी पाँच वर्षभित्र जनताका कामहरू गर्न सहज बनाउनेछौँ। हामिले यस वर्ष मात्र छ करोड २० लाख रुपैयाँजति बाटो निर्माणका लागि छुट्याएका छौँ। बाटो विकास एउटा आधार भएको हुनाले हामीले यसलाई पहिलो प्राथमिकतामा राखेका छौँ। कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानीमा पनि ध्यान दिएका छौँ। स्वास्थ्यमा अलिकति व्यवस्थित गर्ने हिसाबले हामी लागिपरेका छौँ। 

प्राथमिक स्वास्थ्य केन्द्र ठाँटीकाँधमा रहेको छ। हामीले यस वर्ष स्तरोन्नति गरेर २५ शैयाको बनाउने लक्ष्य लिएका छौँ। दोस्रो गाउँसभाबाट निर्णय गरेका छौँ। गाउँपालिका र वडा तह लागेर  विद्यालयलाई व्यस्थित बनाउन र विद्यालय शिक्षामा सुधारका लागि हामीले योजना बनाइरहेका छौँ। कृषिमा एक घर एक करेसाबारी तरकारी खेती गर्ने गरी बिउको व्यवस्था मिलाएका छौँ। कर्मचारी अभावका कारण हामीले समूह गठन गरेका छौँ। तरकारीमा मानिस आत्मनिर्भर होस्, पोषणको पनि कमी नहोस्, घरमा हरियाली पनि बनोस् भन्ने उद्देश्यले काम गरेका छौँ। कृषि र पशुलाई माथि उठाउन सकियो भने आर्थिक अवस्थामा सुधार हुन्छ। खानपानमा पनि सुधार हुन्छ भन्ने हाम्रो सोचाइ छ। ठाँटीकाँध गाउँपालिकामा सबैभन्दा ठूलो समस्या खानेपानीको छ। हामीले एक करोड ८० लाख रुपैयाँमा खानेपानी योजना बनाउँदै छौँ। गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको पहिचान गर्ने काममा पनि लागेका छौँ। 

ठाँटीकाँध गाउँपालिकाको विकासका लागि यहाँको गाउँपालिका बाह्य स्रोतमा निर्भर छ कि आन्तरिक स्रोत पनि छ?

हाम्रो गाउँपालिकामा अहिले कम मात्रामा आन्तरिक स्रोतहरू छन् तर संभावना प्रशस्त रहेका छन्। गाउँपालिकाभित्र बहुमूल्य खानीहरू छन्। ती खानीहरूलाई व्यवस्थित गर्न हामी यो वर्षबाट लागेका छौँ। बहुमूल्य ढुंगाको अवैध कारोबार भइरहेको छ। यसलाई व्यवस्थित बनाउने तयारी छ। तामा खानी भएको प्रमाणित नै भइसकेको छ। बुढापाकाहरूले तामाको ढलोट ल्याएर तामाका भाँडाकुँडा बनाएका उदाहरणहरू बुढापाकाहरूसँग छ। तर कति मात्रामा छ, यसको विस्तृत अध्ययन र अनुसन्धान गर्नेबारेमा सोचेका छौँ। यसले पक्कै पनि गाउँपालिकाका मात्र होइन, जिल्ला र राष्ट्रकै आर्थिक अवस्था सुधारमा टेवा पुग्ने देखिन्छ।

यो गाउँसभाबाट निर्णय गरेर अर्गानिक तरकारी उत्पादन गर्ने गाउँपालिकाको रूपमा प्रस्ताव गरेका छौँ। प्रदेश सरकारसँग पनि हामीले अनुरोध गरेका छौँ। शिक्षालाई प्राविधिक रूपमा अगाडि बढाएका छौँ। साना तथा मझौला उद्योग पनि संचालन गर्ने तयारीमा छौँ। यसबाट गाउँपालिकाका मानिसको जीवनस्तर माथि उठाउन सकिने कुरामा विश्वस्त छौँ। 

गाउँपालिका समृद्धिका लागि गाउँपालिकाका संभावनाहरू केके हुन्? तिनीहरूको पहिचान गर्नुभएको छ कि छैन? 

हामीसँग एउटा बहुमूल्य सिलेट खानी छ। वन, जंगल पर्याप्त मात्रामा छ। गाउँपालिकाभित्र फलफूल खेतीको त्यतिकै संभावना छ। पर्यटकका लागि त्यतिकै मात्रामा उल्लेखनीय ठाउँ छन्। सुन्दर भूभागहरू छन्। विशेष गरेर कृषि क्षेत्रलाई नै अगाडि बढाउने सोचिरहेका छौँ। पूर्वाधारका हिसाबमा हामीले यस वर्ष सडकमा बढी खर्च गरेका छौँ। यस वर्ष मात्रै हामीले पूर्वाधारको काम सक्यौँ भने आगामी वर्षबाट ठाँटीकाँध गाउँपालिकाका आमजनताको जीवनस्तर माथि उठाउने हाम्रो सोचाइ छ। पर्यटनको हिसाबले हाम्रा भूभागहरू त्यतिकै सुन्दर छन्। आर्थिक सुधारमा अगाडि बढेको छ। मैले माथि भनेअनुसारका संभावना छन् र तिनको पहिचान गरेर अगाडि बढिहेका छौँ।

पूर्वाधार विकाससँगै सामाजिक विकासमा गाउँपालिकाले कस्ता खालका योजनाहरू बनाएको छ? पूर्वाधार विकास गर्दै गर्दा सामाजिक विकासमा तपाईंहरूको ध्यान नपुगेको हो कि?

सामाजिक हिसाबले शिक्षाको क्षेत्रमा त्यति ठूलो फड्को मारेको अवस्था छैन तर पनि हामी जसरी लागिरहेका छौँ, यसले केही सुधार गर्छ। मुख्य कुरा बालबालिकाको क्षेत्रमा समस्या छन्। महिलाका समस्या छन्। त्यसलाई पनि हामीले यस वर्षको बजेटबाट विनियोजन गरेर चेतनास्तर माथि उठाउन, सामाजिक हिसाबले भ्रातृत्व र मित्रताको सम्बन्ध कायम गर्ने कार्यमा लागिरहेका छाँै। यसले एकअर्कामा सहयोग र सद्भाव बढोस् भन्ने चाहेका छौँ। 

तीन मिटरको सडक अहिले आठ मिटरको बनाएका छौँ। गत वर्ष बजेटको अभाव थियो। ११ किलोमिटर बाटो ५६ लाख रुपैयाँमा हामीले निर्माण गर्‍यौँ। त्यो बाटोको नालीसहितको आठ मिटर छ। आगामी वर्षहरूबाट यस्तो किसिमको दुःख पाउने अनि गाडी नै चल्दैन भन्ने अनावश्यक हल्लाको अन्त्य हुन्छ। 

दैलेख जिल्लाको पश्चिममा छाउपडी प्रथा भएका कारण गाउँपालिकाले त्यससम्बन्धी जानकारी गर्न र स्थानीय धामी झाँक्रीलाई समेत प्रशिक्षण दिएर त्यस प्रथाको न्यूनीकरणका लागि आवश्यक बजेट विनियोजन गरी कार्यान्वयनको चरणमा छौँ। पछिल्लो समयमा बालविवाह बढ्दो क्रममा छ। त्यसका लागि हामीले विद्यालयस्तरमा सचेतनाका कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। सामाजिक समस्याको रूपमा मुख्य कुरा त घरेलु मदिरा उत्पादन थियो। पहिलो गाउँसभाबाटै व्यवस्थित गरी नियन्त्रित गर्ने र त्यसलाई जथाभावी प्रयोग गर्न दिने किसिमले हामी लागेका छौँ। हामीले महिला समूह गठन गरेका छौँ। त्यसबाट पनि समाजमा केही परिवर्तन र सहयोग पुगेको छ। 

गाउँपालिकाले करोडौँ लगानी गरेका सडकहरूमा अहिले गाडी गुड्न निकै सकस हुने गरेको छ, यसको दीर्घकालीन विकासका लागि यहाँहरूको योजना के छ?  
ठाँटीकाँध गाउँपालिकामा राष्ट्रियस्तरका सडक छुँदैन। हाम्रो गाउँपालिका कर्णाली राजमार्गले पनि छुँदैन। मध्यपहाडी राजमार्गले पनि छुँदैन।  अरू गाउँपालिकामा कुनैकुनै सडकले छोएका  छन्। हाम्रोले छोएको छैन तर पनि हामीले गत वर्ष मात्रै सुरु गरेको रामघाट–ठाँटीकाँध–सिंगासैन सडकमा पैसा विनियोजन गरेर सडक खनेका छौँ। १५-१६ सय मिटर  चट्टान भएको भूभागबाहेक अरू सडक हामीले खनेर अहिले पनि गाडी गुडिरहेको छ। कुनै ठाउँमा बलौटे खालको चिप्लो माटो छ। रातो माटो छ। त्यस्ता ठाउँमा हामीले आठ मिटरको सडक बनाएका छौँ। धेरै ठाउँमा त हामीले चट्टान काटेर सडक खन्यौँ, जसका कारण वर्षातमा पनि सहज यातायात सुरु भएको छ। 

तीन मिटरको सडक अहिले आठ मिटरको बनाएका छौँ। गत वर्ष बजेटको अभाव थियो। ११ किलोमिटर बाटो ५६ लाख रुपैयाँमा हामीले निर्माण गर्‍यौँ। त्यो बाटोको नालीसहितको आठ मिटर छ। आगामी वर्षहरूबाट यस्तो किसिमको दुःख पाउने अनि गाडी नै चल्दैन भन्ने अनावश्यक हल्लाको अन्त्य हुन्छ। 

निर्वाचनको बेला बाँडेका आश्वासनअनुसार र जनताको अपेक्षाअनुसार काम गर्न सक्नुभएन भन्ने आरोप छ नि?

हामी निर्वाचित भएको भर्खर डेढ वर्ष भएको छ। एक-डेढ वर्षभित्र कुनै जादूको छडी छैन। हामीले परिवर्तन गर्न एक वर्षमा कानुन निर्माणलगायतका कुरामा समय खर्च भयो कर्मचारी भएनन्, अझै हाम्रो गाउँपालिकामा कर्मचारी छैनन्, प्रदेशसँग बाझिने कानुनको टुंगो लागेको छैन। यस्तो अवस्थामा हामीले विकासका खाका ल्याएकै छौँ। कामको सुरुवात गरेकै छौँ। यस वर्षबाट विकासका लागि खर्च भएका कुराहरूको महसुस जनताले गर्नेछन्। डेढ वर्षभित्र सबै पूरा नभए तापनि सुधारात्मक कामहरू र चुनावमा गरेका प्रतिबद्धताहरूकै जगमा टेकेर काम सुरु गरेका छौँ। कार्यकाल सकिने बेलासम्म धेरै कुराको परिवर्तन हुन्छ। 

यहाँको घोषणापत्रमा त नमुना ठाँटीकाँध बनाउँछु भन्नुभएको थियो, त्यो प्रतिवद्धता सम्झनुभएको छ कि बिर्सिनुभयो?

ठाँटीकाँध गाउँपालिका नमुना बनाउने हो। अहिलेको अवस्था र हाम्रो कार्यकालको अन्त्यको अवस्था हेर्ने हो भने बल्ल यस्तो कुराको विश्लेषण हुन्छ। कतिपय राम्रा नीति बनाउँदा र काम गर्दागर्दै विरोधका नाममा विरोध गर्नेहरू पनि छन्। उहाँहरूलाई राम्रा काममा साथ दिन र गलत काममा खुलेरै खबरदारी गर्न म आग्रह गर्छु।
अब मान्छेको जीवनस्तरमा सुधार गरिन्छ। शिक्षामा सुधार गरिन्छ। स्वास्थ्यमा सुधार गरिन्छ। सडकहरूमा सुधार हुन्छ। कृषिमा सुधार हुन्छ अरू व्यवसाय र कुराहरूमा पनि सुधार हुन्छ। सामाजिक क्षेत्रमा पनि सुधार हुन्छ। यी क्षेत्रमा सुधार भएको महसुस हुने गरेर हामीले योजना बनाएका छौँ। अरूले के  भन्यो, त्योसँग मतलब गर्ने विषय होइन। हामीले के गर्‍यौँ भन्ने कुरासँग हामीले मतलब गर्छौं। 

आर्थिक वर्ष २०७४/०७५ भित्र धेरै काम गर्ने प्रतिवद्धताहरू गर्नुभएको थियो। त्यो समय पनि सकियो, के ती प्रतिवद्धताहरू पूरा भए?

१२ महिना सडक चल्नका लागि सोहीअनुसारको बजेट हुनुपर्छ। मुख्य सडकमा वर्षातमा पनि सवारी चलेको हो। वडा नं.- ५ र ४ मा अहिले पनि सडक जोडिएको छैन। धेरै रकम लाग्ने  भएको हुनाले संघीय सरकारसँग बजेट मागेका छौँ। यो वर्षबाट हामीले छुटेका सबै कामहरू अगाडि बढाउँछौँ। भूगोलका कारणले ठाँटीकाँध गाउँपालिका दैलेखका सबै गाउँपालिकामध्ये विकट गाउँपालिका हो। हाम्रो कार्यकाल सकिँदा सबै वडासम्म सहजै पुग्ने वातावरण बनाउने, शिक्षा स्वास्थ्य र रोजगारीका अवसर सिर्जना गर्नेछौँ, त्यसपछि परिवर्तन भएको देखिनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.