|

बलिउडका 'हिरो नम्बर वन' गोविन्दाले पनि आफ्नो आत्मकथा लेख्ने भएका छन्। रिलिजको तयारीमा रहेको 'रंगिला राजा'को प्रमोसनमा जुटिरहेका उनले भारतीय संचार माध्यम 'नवभारत टाइम्स'लाई दिएको एक अन्तर्वार्ताका क्रममा उनले छिट्टै आफ्नो आत्मकथा लेख्ने बताएका हुन्।

हालै भारतीय कलाकार करण जौहर, ऋषि कपुर र हेमा मालिनीको आत्मकथा सार्वजनिक भइसकेको छ। करण र ऋषिले आफ्नो किताबमा धेरै रहस्यको खुलासा गरेका छन्। गोविन्दाले पनि आउन लागेको आफ्नो आत्मकथामा आफ्ना फ्यानलाई कस्ता खुराक दिनेछन् त्यो भने हेर्न बाँकी छ।

आफ्नो आत्मकथाका बारेमा उनले व्यंग्य गर्दै भने, 'मैले आफ्नो आत्मकथा पहिले नै लेखिसक्थेँ यदि मलाई कसैले पैसा दिएको भए।' उनले तीन-चार वर्षपछि मात्रै आफ्नो आत्मकथा लेख्न सुरु गर्ने बताएका छन्।

'तीन-चार वर्षसम्म त मैले केही लेख्दिनँ तर जब म ५७/५८ वर्षको हुनेछु, तब मैले आत्मकथा लेख्न सुरु गर्नेछु। मेरो आत्मकथा पूर्ण रूपले बिकाउ हुने किसिमको हुनेछैन। मैले आफ्नो जिन्दगीको कुनै पल भुलेको छैन', उनले थपे।

गोविन्दाले आफ्नो आत्मकथाको सुरुवात आफ्नी आमाबाट हुने बताएका छन्। साथै उनले आफ्नो किताबको शीर्षकको सुरुवात पनि आफ्नी आमा हुने बताए। उनले आफ्नो किताबबाट आमालाई सम्मान गर्न सिकाउने र किताब पढिसकेपछि कसैलाई पनि आफ्नी आमालाई गलत व्यवहार गर्नुहुँदैन भन्ने सन्देश जाने उल्लेख गरे।

उनी अहिले आफ्नो नयाँ चलचित्र रंगिला राजाको प्रमोसनका क्रममा छन्। उनको फिल्मको रिलिज डेट नोभेम्बर १६ लाई दिइएको भए पनि सेन्सर बोर्डले अहिलेसम्म फिल्मको सर्टिफिकेट नदिएका कारण रिलिज डेट सर्ने संभावना रहेको छ। यस फिल्ममा गोविन्दाबाहेक शक्ति कपुरको पनि महत्त्वपूर्ण भूमिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.