|

झापा : भन्सार प्रक्रियाबिना प्रहरीकै सेटिङमा झापाको खुला सीमा क्षेत्रबाट कवाडीका सामग्रीहरु धमाधम भारत निकासी भइरहेको छ। झापाको मेचीनगरदेखि ज्यामिरगढी, भद्रपुर, पृथ्वीनगर, पाठामारी, केचना, घैलाडुब्बा, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट दैनिक सयौँको संख्यामा साइकलमा लोड गरी भन्सार छलेर कवाडीका सामग्री लगिरहँदा पनि झापाका प्रहरी प्रशासन प्रमुख बेखबर छन्।

सीमा क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा कवडीका सामग्रीहरू चोरी निकासीको माध्यमबाट भारत निकासी हुन थालेपछि झापाका कवाडी  सामग्री संकलन केन्द्रहरू मारमा परेका छन्।

कवाडी संकलनका लागि भारतबाट आउन भारतीय नागरिकले दिनभरी झापाका विभिन्न क्षेत्रमा कवाडी संकलन गर्ने र समय अनुकूल मिलाएर प्रहरीकै सेटिङमा कवाडी सामग्री लैजाने गरेको फेला परेको छ।

नेपालभन्दा भारतमा कवाडीका सामग्री बढी मूल्यमा बिक्री हुन थालेपछि भारतीय नागरिकले आफ्नै देशमा लगेर कवाडी बिक्री गर्न थालेको हो। यसअघि ती भारतीय नागरिकले नेपालकै कवाडी संकलन केन्द्रमै लगेर बेच्ने गरेका थिए, भद्रपुरका एक कवाडी व्यापारी भन्छन्, ‘अहिले यता आउन छाडेको छ, प्रहरीलाई कमिशन अर्थात् घुस दिएर उनीहरुले खुलेआम मेची पुलबाटै कवाडीका सामग्री भारत लैजान थालेका छन्।’ नेपालको कवाडी भारत लैजान थालेपछि आफ्नो व्यवसाय धरापमा परिसकेको कवाडी व्यवयासीहरूको गुनासो छ।

यता भद्रपुर भन्सार अगाडि/पछाडिबाट दैनिक ४० देखि ५० साइकल कवाडीका सामग्री लोड गरिएका साइकल मेची पुलबाटै जान थालेका छन्। मेची पुलबाट लैजाने कवडी गलगलिया नाकाबाट उनीहरुले सोजै लान सक्दैनन्। भारतीय एसएसबीले कवाडीका सामान लोड गरिएका साइकल जान नदिएपछि उनीहरुले मेची पुलपारि खेत डिलको चोर बाटोबाट कवाडी लैजाने गरेका छन्। भारतीय कवाडीवालाहरुले मेची पुलमा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई २० देखि १०० रुपैयाँसम्म लाइन बुझाएर दैनिक कवाडीका सामग्री लैजाने उनीहरुले सुनाएको अडियो सुरक्षित छ।

साथै कवडीवालाहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीका सादा पोशाकमा खटिएका प्रहरीलाई समेत मासिक रूपमा एकमुष्ट रकम बुझाउने गरेको कवाडी व्यवसायी निकट स्रोतको दाबी छ। प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार प्रहरीको मिलोमतोमा कवाडीका सामग्री भारत निकासी भइरहेको बिषयमा आफु बेखबर रहेको बताए।

प्रहरीको कमिकजोरीले त्यस्ता गतिविधि भइरहेको छ, भने त्यसलाई तुरुन्त रोक्ने उनले बताए। भन्सार कागजात नहेरी प्रहरीले कवाडीका सामग्री कुनै पनि हालतमा पठाउन नमिल्ने उनको भनाइ छ। भद्रपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत फणिन्द्र खतिवडाका अनुसार कवाडीका सामग्री भन्सार कागजबिना भारत निकासी गर्न पाइँदैन।

‘कवाडीका सामग्री निकासीका लागि भन्सारको छुट्टै कागजी प्रक्रिया छ’, उनले भने, ‘सो प्रक्रिया पूरा गरेर मात्र कवाडी लैजान मिल्छ, अहिले गइरहेको कवाडी गैरकानुनी काम हो।’ त्यस्तै मेची भन्सार कार्यालय काकँडभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले भने, ‘भन्सार प्रक्रिया बिना कवाडीका सामान भारत लैजान मिल्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.