|

रुकुम : लोक संस्कृति संरक्षणका लागि रुकुम पश्चिमका महिला जागेका छन्। विभिन्न शुभ कार्यमा पुरुषले मात्रै बजाउँदै आएको पञ्चेबाजा हिजोआज महिलाले पनि बजाउन थालेका छन्। उनीहरूको लोकप्रियता पनि बढ्दैछ।  

पछिल्लो समय पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेकोमा रुकुमका महिलाहरू भने झनै उत्साहित छन्। महिलाले बाजा बजाउने र नृत्य समेत देखाउने भएकाले महिला समूहको लोकप्रियता बढेको छ। मुसीकोट नगरपालिका १ की ५८ वर्षीया पुतला दमाई गृहिणी हुन्। घरको कामकाजको सम्पूर्ण चाँजोपाँजो मिलाउने र घरको बाँकी काम गर्ने उनको मुख्य जिम्मेवारी हो। तर पछिल्लो ४ बर्षदेखि पुतला घरको मात्रै मिलाउदैनन् जिल्लामा आयोजना हुने मेला, महोत्सव, पर्व, उत्सव, दिवसमा बाजागाजा बजाउने जिम्मेवारी पनि उनकै हो।

घरको कामकाज बाँडफाँड गरेर उनी बाजा बजाउन निस्किन्छिन्। त्यो पनि पञ्चेबाजाको साथमा। सिर्जनशील महिला पञ्चेबाजा समूहकी सदस्य पुतलाको काँधमा दमाहा हुन्छ। उनले विना कुनै थकावट निरन्तर दमाहा बजाइरहेकी छन्। विहे, पूजाआजादेखि दिवस, मेला, महोत्सवमा बजाइने पञ्चेबाजा पुतला जस्तै गृहिणीले धानेका छन्। २०७१ सालको फागुन महिनादेखि निरन्तर रुपमा महिलाका काँधमा दमाह र ट्याम्की, मुखमा सनही र नरसिंगा, हातमा छिल्लर लगायतका बाजा छन्। 

जव कुनै कार्यक्रम, अवसर, दिवस, मेला, पर्व, चुनाव जस्ता कार्यक्रममा स्थानीय सरकार, राजनीतिक दल, गैरसकारी तथा सामाजिक संघ संस्थाहरूले पञ्चेबाजाका लागि यी नै महिलालाई गुहार्ने गर्छन्। स्थानीय तहदेखि पछिल्लो पटक भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि सबै राजनीतिक दलले पनि आफ्ना सबै कार्यक्रममा महिलाबाटै पञ्चेबाजा बजाएका थिए। ‘केही बर्षयता जिल्ला सदरमुकाममा आयोजना हुने कुनै पनि कार्यक्रम, मेला, पर्व र दिवसहरूमा पुरुषले पञ्चेबाजा बजाएको देखेको छैन,’ खलंगा निवासी निखिल खड्काले भने, ‘पहिले पहिले महिलाले बाजा बजाउनु हुँदैन भन्थे अब पुरुषले बजाउन हुँदैन। की जस्तो भइसक्यो। पुरुषले कहिल्यै बजाएको देखिदैन।’ त्यस्ता अवसरमा बाजा बजाउनु परे सबैले महिलालाई नै सम्झन्छन्।

हरेक कार्यक्रमको र्‍याली तथा जुलुसमा सबैभन्दा अगाडि तिनै महिला हुन्छन् जसले पञ्चेबाजा बजाउँछन्। एकै किसिमका पोशाकमा महिलाले पञ्चेबाजा बजाउँदा हेर्नेको भीड पनि उत्तिकै हुन्छ। ‘महिलाले पञ्चेबाजा बजाउनु नौलो नै हो। त्यो आकर्षक पनि देखिन्छ। त्यसैले महिलाले बाजा बजाएको हेर्न धेरै झुम्मिने गर्छन्,’ खलंगा बजारकै पुष्पा केसीले भनिन्।

महिलाले पञ्चेबाजा बजाउन थालेपछि पञ्चेबाजासहित पुरुष बजारमा नदेखिएको उनको भनाई छ। केही समय अघि कुनै पनि कार्यक्रमा कार्यक्रममा पनि पुरुषले नै पञ्चेबाजा बजाउने चलन थियो। महिलाकै कार्यक्रममा पनि पुरुषले पञ्चेबाजा बजाउथे। आफ्नो कार्यक्रममा बाजा पनि पुरुषले बजाइदिने र त्यस वापतको शुल्क पनि लिइदिने भएपछि महिलाहरू पञ्चेबाजा बजाउन अग्रसर भएका थिए। ‘कार्यक्रम महिला समूहका हुन्थे बाजा बजाउन पुरुष डाक्नुपर्थ्याे र पारिश्रमिक पनि दिनुपर्थ्याे। त्यसको अन्त्यका लागि आफैँ बाजा बजाउन सुरु गरेका हौं।’

सिर्जनशील महिला पञ्चेबाजा समूहकी अध्यक्ष हिरा परियारले भनिन्। महिला समूहबाटै पैसा संकलन गरेर बाजा खरिद गरेर बजाउन सुरु गरेको उनले ताइन्।सुरुका केही दिनसम्म पुरुषले बाजा बजाउन सिकाइ दिएका थिए। ‘सुरुका केही दिन बाजा बजाउने ताल र दाप्कोबारे सिकाउनु भएको थियो। पुरुषको सहयोगले हामी यहाँसम्म आएका छौं’ अध्यक्ष परियारले भनिन्।

सुरुमा बाजा बजाउँन लाग्दा समाजमा अलि अलि कुरा काट्न सुरु गरिए पनि यहाँसम्म आइपुग्दा त्यसो नभएको अनुभव पञ्चेबाजा बजाउने महिलासँग छ। पञ्चेबाजा अब महिलाको आम्दानीको स्रोत बनेको छ। महिलाहरूले सिर्जनसील महिला पञ्चेबाजा समूहलाई दर्ता गरेका छन्। उनीको समूह समाज कल्याण परिषद्सम्म दर्ता भएको छ।

एउटा कार्यक्रममा पञ्चेबाजा बजाएवापत १२ हजारसम्म लिने गरेका छन्। अवस्था हेरेर शुल्क लिने गरेको समूहकी अध्यक्ष परियारले बताइन्। ६ हजारदेखि १२ हजारसम्म शुल्क लिने गरेको उनले जानकारी दिइन्। उनीको समूह पछिल्लो पटक जिल्लाका अन्य ठाउँमा पनि पञ्चेबाजा बजाउनका लागि जान थालेको छ। ५ दिनसम्म चलेको दोस्रो स्यार्पू पर्यटन महोत्सवमा पनि उनीहरू पञ्चेबाजा सहित डाकिएका थिए। अवसर पाएपछि महिलाहरू पनि कम छैनन् भन्ने पुष्टि सिर्जनशील महिला पञ्चेबाजा समूहले गरेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए।

महिलाले बाजा बजाउनै हुँदैन भन्ने मान्यता तोडेर पुरुष भन्दा उत्कृष्ठ बाजा बजाएकै कारण उनीहरू सबैको रोजाइमा परेको उनको भनाई छ। सुरुमा साविकको जिल्ला विकास समितिले उनीहरूलाई पोशाक बनाउनमा आर्थिक सहयोग गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.