तीन वर्षसम्म बोली फुटेन, पढ्नमा सधैँ फेल

|

काठमाडौं : आजभन्दा ६० वर्ष अगाडि काठमाडौंको हालको न्यूरोडमा बुबा वरिष्ठ साहित्यकार धुस्वाँ सायमी र आमा बसुन्धरा सायमीको कोखबाट जन्मिएका हुन्- डा. अरुण सायमी। उनी तीन वर्षका हुँदासम्म बोली आएन, जसले गर्दा परिवार चिकित्सकदेखि ज्योतिषीसम्म पुगे तर उनको बोली आएन। तर ज्योतिषीले चार वर्षपछि उनको बोली पनि आउँछ र ठूलो डाक्टर बन्छ भनेका थिए रे! ज्योतिषीले भनेझैँ उनको बोली पनि आयो र डाक्टर पनि बने।

डा. सायमीले हजारौँ बिरामीलाई मृत्युको मुखबाट बचाइसकेका छन्। यति मात्र नभएर देशका तीन जना प्रधानमन्त्री (मनमोहन अधिकारी, प्रचण्ड र केपी ओली)को निजी चिकित्सक भएर उनीहरूलाई विभिन्न खाले स्वास्थ्य जोखिमबाट बचाइरहेका छन्। हाल उनको टिमले भाइरल संक्रमणबाट बिरामी भएर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा उचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार गरिरहेको छ।

एक कक्षामा फेल हुँदा फुपूको त्यो गाली

पढ्ने मामिलामा अब्बल रहेको सायमीको परिवारमा डा. सायमी भने स्कुल पढ्न गएको पहिलो पटक नै एक कक्षामा फेल भए। जुनबेला उनले आफ्नो सर्टिफिकेट खाल्डो खनेर पुरे। यसले गर्दा उनकी फुपूले उनलाई 'धुस्वाँ सायमीका छोरामध्ये यो कामै नलाग्ने भो' भनिछन्। उनले ती दिन सम्झँदै भने, 'दाजुहरू सबै पढ्ने परिवारमा म फेल भएँ। त्यसबेला मलाई फुपूले नराम्रोसँग भन्नुभयो तर पनि म पाँच कक्षासम्म फेलै भएँ। त्यसपछि भने मैले पाढाइमा मिहिनेत गरेँ।'

पाइलट बन्न हिँडेका उनको यसरी मोडियो बाटो

सानोमा फेल भए पनि एसएलसीमा भने बोर्ड सेकेण्ड भए उनी। त्यसपछि भने उनले पाइलट बन्ने सोच बनाएर तयारी गरे। पढ्न जानुभन्दा पहिले भारतस्थित नेपाली दूतावासमा काम गर्ने बुबा भएको ठाउँमा जाँदा नेपालबाट उपचारका लागि जाने बिरामीलाई उनले सहयोग गर्दै अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै उनमा चिकित्सक बन्ने इच्छा जागेको बताउछन्। यसपछि पाइलट पढ्न जाने योजनालाई छाडेर उनी चिकित्सक बन्ने बाटोतिर लागे। आइएस्सीमा बोर्ड फस्ट नै भए। आइएस्सीपछि भारतको जवलपुर मेडिकल कलेजबाट एमबिबिएस पास गर्दै पछि बंगलादेशको मेडिकल कलेजबाट कार्डियोलोजीमा एमडी गरे र मुटुरोग विषयमा नेपालमा एमडी गर्ने तेस्रो चिकित्सक बने।

'आत्मविश्वास मनमोहन र ओलीको उस्तै'

मनमोहन अधिकारी हेलिकोप्टर दुर्घटनाबाट गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेका थिए। तत्कालीन संसदमा उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएको थियो तर उनी अस्पतालको शय्यामा थिए। त्यस्तो बेलामा पनि उनको आत्मविश्वास धेरै भएको सायमी बताउँछन्। उनका अनुसार मनमोहन अधिकारीले अस्पतालको शय्यामा सुतीसुती आफूमाथिको अविश्वास प्रस्तावको जवाफ दिएको अवस्थामा पनि उनले आफूलाई कहिल्यै तनाव महसुस गरेनन्। उनले भने, 'उहाँ अस्पताल भर्ना हुनुहुन्थ्यो, अविश्वास प्रस्तावको जवाफ दिएको अवस्थामा उनको आत्मविश्वास अहिले केपी ओलीको जस्तै बलियो थियो।'

त्यसबेला मनमोहनको स्वास्थ्य अवस्था नाजुक थियो। अहिले ओलीको पनि उस्तै नाजुक छ। सन् २००७ मा भारतमा मिर्गौला प्रत्यारोपण गरेका ओलीमा २०१४ देखि नै हातमा फंगल्स इन्फेक्सन देखिएको थियो। हाल उनलाई विभिन्न खालका स्वास्थ्य समस्याले सताइरहेको अवस्था छ।

६७ वर्षे ओली अहिले नियमित रूपमा छ प्रकारका औषधि सेवन गर्छन्। मधुमेह, उच्चरक्तचापदेखि मिर्गौला प्रत्यारोपण गरेको बिरामीले खानै पर्ने ‘इम्युनोसप्रेसन’देखि शक्तिवर्द्धक स्टेरोइटसमेत सेवन गर्नुपर्छ उनले। नत्र प्रत्यारोपण गरिएको अंग रिजेक्सन गर्ने र प्रतिरोधात्मक क्षमता कम हुँदा पनि कडा खालका संक्रमणको त्रास हुन्छ, जसले गर्दा उनको स्वास्थ्यलाई निकै ध्यान दिनुपर्छ। यस्तो अवस्थामा पनि उनमा आत्मविश्वास घटेको देख्दैनन् सायमी। 'अस्पतालको बेडमा हुँदा पनि देश र जनताकै बारेमा मात्र सोचिरहनुहुन्छ', डा. सायमी भन्छन्, 'जसले गर्दा उहाँको शरीर दृढ आत्मविश्वासले धानेको छ।'

उनी अगाडि थप्छन्, 'उहाँमा यस्तो आत्मविश्वास छ कि यस्तो नाजुक स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल बस्दा पनि देशको विकासकै बारेमा सोच्नुहुन्छ। हिजो र आज मैले तपाईं दुई तिहाईको शक्तिशाली प्रधानमन्त्रीलाई एउटा सानो ब्याक्टेरियाले जित्यो भनेर जिस्क्याएँ, उहाँले अब तपाईंहरूले त्यो ब्याक्टेरियालाई छिटो मारिदिनू, देशको विकास गर्नु छ भन्नु भयो।'

मनमोहनको त्यो उपचार र कहिल्यै नभुल्ने उनको त्यो बोली

नेपालको इतिहासमै पहिलो पटक कम्युनिस्ट पार्टीको पहिलो सरकार चलाउने स्वर्गीय मनमोहन अधिकारीका निजी चिकित्सक पनि अरुण नै हुन्। अल्पमतको नौ महिने सरकारको नेतृत्व गर्दा लोक कल्याणकारी कामले मनमोहन नेतृत्वको एमाले सरकारलाई आजसम्म पनि जनप्रिय सरकारका रूपमा लिइन्छ। २०५१ सालमा मनमोहन प्रधानमन्त्री हुँदा क्याबिनेट चिकित्सक तथा मनमोहनको निजी चिकित्सक हुँदादेखि नै हालका प्रम ओलीको उपचार गर्दै आएका डा. सायमी हालसम्म पनि प्रम ओलीको उपचारमा सलग्न छन्।

स्वास्थ्यको दृष्टिकोणले अत्यन्त नाजुक रहेका वृद्ध अवस्थाका मनमोहनलाई श्वासप्रश्वास सम्बन्धी समस्या र मुटुको गम्भीरखालको समस्या भएकाले उनको स्वास्थ्यमा धेरै नै ख्याल गर्नुपर्ने हुन्थ्यो, जसले गर्दा डा. सायमीले उनी जहाँ जान्छन्, त्यहाँ अक्सिजनको सिलिण्डर लिएर पठाउनुका साथै प्राय: मनमोहन पुगेको ठाउँमा आफैँ पुग्थे। उनले भने, 'स्वास्थ्यको हिसाबले हालका प्रधानमन्त्रीको भन्दा पनि मनमोहनको स्वास्थ्य अवस्था एकदमै नाजुक थियो, जसले गर्दा म प्राय: उहाँ जहाँ जानुहुन्छ, त्यहीँ अक्सिजनको सिलिण्डर बोकेर जाने गर्थें।'

मनमोहनको स्वास्थ्य अवस्था यस्तो नाजुक थियो कि जुनसुकै बेला पनि जे पनि हुनसक्ने अवस्था थियो। त्यसैले उनी जहाँ जान्थे, त्यहीँ जाने गर्थे! 'जानुपर्ने कति ठाउँमा मैले रोकिदिन्थेँ तर उहाँले म जीवनको अन्तिम समयसम्म पनि कोठामा झोक्राएर होइन, जनतासँगै हुन्छु भन्नुहुन्थ्यो', उनले भने, 'मैले तपाईं जहाँ जानुहुन्छ, मलाई लिएर जानुभन्दा उहाँले तपाईं जस्तो धेरै जनताको उपचार गर्ने चिकित्सकलाई मैले लिएर हिँडेँ भने जनताले सेवा पाउँदैनन् भन्नुहुन्थो तर जुन दिन उहाँ ढल्नुभएको थियो, मैले रोकिदिएको कार्यक्रममा जानुभएछ।'

बिरामी सबै समान

सबैले देशका ठूला व्यक्तित्वको निजी चिकित्सक भई उनीहरूको उपचारमा संलग्न हुँदा आफूलाई केही दबाब महसुस हुन्छ भन्ने धेरैको अनुभव भए पनि डा. सायमी भने मानिस जतिसुकै ठूलो पदमा भए पनि चिकित्सको नाताले सबै बिरामी बराबर हुने बताउँछन्। उनले भने, ' मानिस जतिसुकै ठूलो पदको भए पनि चिकित्सकका लागि सबै बिरामी बराबर हुन्छन् तर भिभिआइपीको उपचार गर्दा बिरामीलाई उपचार गर्नुभन्दा पनि बाहिरका चुनौतीलाई सम्हाल्न गाह्रो हुन्छ।'

'खानपानमा अनुशासित छन् ओली'

आरामको कमीबाहेक खानपानमा ओली एकदमै अनुशासित छन्। सकेसम्म ब्रेकफास्ट, लन्च र डिनरसमेत घरैमा खाने गर्छन् उनी। तर पर्याप्त आराम र भीडभाड, भेटघाट घटाउन भने रुचाउँदैनन्! उनले भने, ' खानपानमा उहाँ एकदमै अनुशासित हुनुहुन्छ तर भेटघाट र आराम भने उहाँ कम गर्नुहुन्छ, जसले गर्दा उहाँलाई आराम पुग्दैन।'

'निजी चिकित्सक हुँदा सुविधा लिइनँ तर गंगालाल स्थापना गर्न जग्गा मागेँ'

जुन बेला डा. सायमी मनमोहनको निजी चिकित्सक थिए, यसले गर्दा उनी जहाँ जाँदा पनि सँगै जान्थे तर उनले सरकारी केही सुविधा लिएनन्! यस्तो बेलामा उनलाई मनमोहनले 'तपाईं मेरो यत्रो सेवा गर्नुहुन्छ तर केही सुविधा लिनुहुन्न, माग्नुस् न केही' भन्थे। उनले मनमोहनसँग सुविधाभन्दा पनि मुटु अस्पताल खोल्नका लागि जग्गा मागे। उनले भने, 'मैले पनि मुटु अस्पताल खोल्ने उद्देश्यले हालको गंगालाल रहेको जग्गा मागेँ। पहिले त्यस ठाउँमा बाँसबारी छाला जुत्ता कारखाना थियो। त्यही छाला जुत्ता कारखानाको जग्गा लिएर पछि अस्पताल स्थापना भएको थियो।'

अस्पताल खोलेको अर्को महिनामा मनमोहन हेलिकोप्टर दुर्घटनामा परे। दुर्घटनापछि अस्पतालमा डा. सायमीसँग मनमोहनले भनेका रहेछन्, ‘म त मरे पनि केही हुँदैन, तपाईंलाई केही भएको भए मुटुका बिरामीको उपचार र गंगालाल अस्पतालको विकास कसले गर्थ्यो?' मनमोहनले उनलाई यस्तो भन्दा उनी मनमोहनकै अगाडि रोए।

नेपाली कांग्रेसको बहुमतको सरकार असफल भएर कांग्रेसले नै ढालेपछि २०५१ को मध्यावधि निर्वाचनमा एमालेले सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकार बनाएको बेला पनि मनमोहन बिरामी भएर शिक्षण अस्पतालमै भर्ना भएका थिए तर जस्तोसुकै अप्ठ्यारोमा पनि मनमोहनको आत्मविश्वास घटेको उनले कहिल्यै देखेनन्। त्यसपछिको त्यस्तै बलियो आत्मविश्वास हालका प्रधानमन्त्रीमा देखेको उनी बताउँछन्।

मनमोहन अधिकारीसँग लामो संगत गरेका र जीवनको अन्तिम क्षण शिक्षण अस्पतालमै बिताएका विकासप्रेमी नेता भएको कारण शिक्षण अस्पतालमा मनमोहन अधिकारीको नाममा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टर स्थापना गरेको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.