|

काठमाडौं : नेपाली आधुनिक गीतका स्थापित गायकको सूचीमा पर्ने नाम हो, यश कुमार। 'मैले छोएको पानी चल्दैन', 'म आफ्नै आँगनमा इनार बनाउँछु' उनका अरू गीतजस्तै सदाबहार चर्चामा आइरहने गीत हुन्। उनको बुझाइमा गीत भनेको आफ्नो भावना हो। समाजमा भइरहेको व्यक्त गर्न नसकेको तर आफैँभित्र गुम्सिएर राखिएको कुरा अभिव्यक्त हो गर्ने माध्यम हो। त्यस्ता गीत जब श्रोताको भावनासँग मेल खान्छन्, तब मात्र सर्वत्र चर्चा हुने उनी बताउँछन्।

एउटा सर्जकले समाजमा भइरहेका घटनाहरूलाई समेटेर गीतको माध्यमबाट बाहिर ल्याउनुपर्ने बताउँछन् उनी। यस्ता गीतहरूले मान्छेको मनलाई छुने उनको भनाइ छ। समाज रूपान्तरणका लागि गीतलाई माध्यम बनाउँदा समाज परिवर्तन हुने कुरामा विश्वस्त छन् उनी।

'मैले छोएको पानी चल्दैन', 'म आफ्नै आँगनमा इनार बनाउँछु' उनले गाएका यी गीत कल्पना गरेर रचिएका होइनन्। 'यो त समाजमा भइरहेको घटनालाई गीतको माध्यमबाट देखाउन खोजिएको मात्र हो। छुवाछुतको अन्त्य कागज र बोलीमा सीमित छ, व्यवहारमा छैन। समाजमा भइरहेको तर व्यक्त गर्न नसकिने कुरालाई गीतसंगीत र कलाको माध्यमबाट निकाल्न जरुरी छ', उनी भन्छन्, 'मान्छेलाई समाज परिवर्तनमा उत्प्रेरणा जगाउन सकिन्छ। यदि सर्जकले चाहने हो भने समाज रूपान्तरण गर्न केही हदसम्म सफल हुन सक्छ।'

गायनमा स्थापित उनी नायक पनि हुन्। पाँचवटा एकल एल्बम, तीनवटा संगीत एल्बम छन् उनका। कलेक्सन एल्बम पनि उनका धेरै नै छन्। यस्तै, उनी अभिनित पाँचवटा चलचित्र प्रदर्शन भइसकेका छन्। अभिनयमा भएको आफ्नो लगाव र क्षमतालाई मध्यनजर गर्दै गीत संगीतबाहेक फुर्सदको समयलाई सदुपयोग गर्ने मनसायले पनि चलचित्रको पर्दामा देखिएको उनी बताउँछन्।

अन्तरमनका विचार, समाजमा चलिआएको चालचलन र आम नागरिकका भोगाइहरू चलचित्रबाट देखाउँदा गीतभन्दा प्रभावकारी हुने भएकाले पनि उनी यसतर्फ आकर्षित भएको सुनाउँछन्।

उनले गाएका धेरै गीतमध्ये 'म आफ्नै आँगनमा इनार बनाउँछु'को सिर्जना परिवेशबारे थाहाखबरलाई बताए। 'मैले छोएको पानी चल्दैन'को चर्चापछि अझ उत्साहित भएर भाग दुईको रूपमा यो गीत बजारमा ल्याएको बताउँछन् उनी।  

वि.सं. २०५९ मा उनको यो गीत बजारमा आएको हो। त्यस बेला नेपाली समाजमा छुवाछुतका कारण तल्लो वर्ग भनिएकामाथि कथित उपल्लो जातको समुदायले मन्दिर जान रोक लगाएको, पानी छोएका कारण कुटपिट गरेका घटनाहरूका समाचारहरू आइरहेको थियो। भगवान सबैका साझा हुन् भने मन्दिर जान किन रोक लगाएको होला? यही सोच्थे उनी।

पानी भनेको यो संसारको सबैभन्दा पवित्र र मानव जातिको अपरिहार्य वस्तु हो। पानीको निहुँमा दलित समुदायमाथि कुटपिटको समाचारले उनको मनमा क्रोध पैदा भयो। मान्छेको दुईवटा मात्र जात हुन्छ भनेर गफ हाँक्ने हाम्रो समाजमा यस्तो समाचारले जो सुकैको मन आक्रान्त हुन सक्छ। क्रोधित हुन सक्छ।

'मैले छोएको पानी चल्दैन'को भावमा प्रेमिकाबाट आफैँले भोगेका कुराहरू पनि छन्। यस गीतलाई भने उनी एउटा वर्गले समाजको कुरीतिविरुद्ध गरेको व्यंग्य, आक्रोश र आन्दोलनको रूपमा चित्रित गर्न रुचाउँछन्। उनी भन्छन्, 'म त्यो समाजमा रमाउन सक्दिनँ, जुन समाजमा आफ्नो स्थान सुरक्षित रहन सक्दैन।'

भगवान मन्दिरमा सजाउन नसके म आफ्नै मनमा सजाउँछु, यदि सार्वजनिक पानीमा मेरो अधिकार छैन भने म तिम्रो धारालाई बहिस्कार गर्छु र आफ्नै घरमा इनार बनाउँछु भन्ने भावमा गीत लेखे उनले। समाजबाट नै छुट्टिने कुराले अनेक अप्ठ्यारो पो हुन्छ कि भन्ने डरले रेकर्ड गरौँ कि नगरौँ भन्ने दोधारमा थिए उनी। त्यसबेला उनको 'मैले छोएको पानी चल्दैन' गीत मिडियामा बन्देज थियो। उनी भन्छन्, 'सरकारले बन्देज लगाएको होइन, तर मिडियाले समाजमा जातीयताको कुराले द्वन्द्व सिर्जना नहोस् भन्ने मनसायले बन्देज गरेका थिए।' तर आमजनताले मन पराइसकेपछि जुनसुकै बन्देजका बाबजुद पनि बाहिर आउने नै थियो, आयो।

एक दिन उनी कन्सर्टका लागि धरान पुगेका थिए- इमेज टेलिभिजनका सुरज श्रेष्ठका साथमा। सुरजलाई उनले यो गीत सुनाए। सुरजले यो गीत मन पराएपछि रेकर्ड गर्न आफू उत्साहित भएको स्मरण गर्छन्। यो गीत उनले वि.सं. २०५९ मा काठमाडौं डिजिटल स्टुडियोमा रेकर्ड गरे।

एउटै समाजमा मानव जाति मिलेर बस्न सकिँदैन भने असल समाजको कल्पना गर्न नसकिने कुरा आज पनि उनमा रहेको बताउँछन्। उनी यी दुई गीतले नै नेपाली सांगीतिक क्षेत्रमा स्थापित भएको कुरा स्वीकार्छन्। अहिले पनि कन्सर्टमा जाँदा हरेक वर्गका श्रोताहरूले यी दुई गीतका लागि अनुरोध गरिरहन्छन् उनलाई। नयाँ पुस्ताले यी गीतलाई मन पराउनु भनेको बिस्तारै समाजमा भएको छुवाछुत प्रथालाई हटाउन मद्दत पुग्ने उनको बुझाइ छ।

'जुन गीतले जसलाई पहिलोपल्ट चिनाउँछ, त्यो नै उसको पहिचान हो', उनी भन्छन्, 'यी दुईपछि मेरा धेरै गीतहरू चर्चामा थिए/छन् तर आज पनि यश कुमार भन्नेबित्तिकै मैले छोएको पानी चल्दैन र म आफ्नै आँगनमा इनार बनाउँछु भन्ने आमश्रोताको मानसपटलमा आउने गर्छ।'

गीत सुन्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.