|

सिन्धुली : बर्दिबास स्पोर्ट क्लब बर्दिबास र चन्द्रमा क्लब रातमाटे भब्सी महोत्तरी जिल्लाकै सर्वाधिक पुरस्कार राशीको दोस्रो ‘मोहनविक्रम थापा स्मृति कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेका छन्। बिहीबार भएको सेमिफाइनल खेल जित्दै यी दुई टिम फाइनल प्रवेश गरेका हुन्।

चन्द्रमा क्लब रातमाटे भब्सी महोत्तरी, नव प्रतिभा युवा क्लब मिलनचोक, सिन्धुलीलाई सेमिफाइनल खेलमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने आयोजक भीमान युवा क्लवको ‘बि’ टिमलाई पराजित गर्दै बर्दिबास स्पोर्ट क्लब बर्दिबासले चन्द्रमा क्लब रातमाटे भब्सी महोत्तरीसँगको उपाधी भिडन्त तय गरेको हो।

बिहीवार बिहान भएको सेमिफाइनल अन्तर्गतको पहिलो खेलबाट चन्द्रमा क्लब रातमाटे भब्सी महोत्तरीले नव प्रतिभा युवा क्लब मिलनचोक, सिन्धुलीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। बर्दिबास स्पोर्ट क्लब बर्दिबासले आयोजक भीमान युवा क्लबको ‘बि’ टिम विरुद्ध ४–१ गोल गर्दै विजयी भएको छ।

बर्दिबास स्पोर्ट क्लब बर्दिबास र चन्द्रमा क्लब रातमाटे भब्सी महोत्तरी विचको उपाधी भिडन्त आगामी शनिबार हुने आयोजक भीमान युवा क्लवले जनाएको छ। यी दुई बीचको खेल बिहान ११ बजेपछि सुरु हुने र सोही दिन विजेतालाई पुरस्कार वितरण गरिने आयोजक भीमान युवा क्लवका सचिव दिनेश न्यौपानेले बताए।

कमलामाई नगरपालिका ९ स्थित जनजाग्रीती मावी भीमानको खेलमैदानमा जारी फुटवल प्रतियोगिता समाजसेवी एवं राजनीतिज्ञ स्वर्गीय मोहनविक्रम थापाको स्मृतिमा उनका छोरा समाजसेवी तथा सिन्धुली ट्रष्टका अध्यक्ष उज्वल विक्रम थापाले गत वर्षबाट आयोजना गर्दै आएका छन्।

प्रतियोगिताका प्रथम विजेतालाई एक लाख पचास हजार रुपैयाँ नगद र मेडल तथा प्रमाण पत्र, दोस्रो हुनेलाई ५० हजार नगद र मेडल तथा प्रमाण पत्रसहितको पुरस्कार प्रदान गरिने छ। यो पुरस्कार राशी जिल्लामा अहिलेसम्म भएका खेलकुदमध्ये सर्वाधिक मानिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.