समाज

कैलाली कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदी
SHARES

कात्तिक १६, २०७५

    धनगढी : सरकारले कारागारलाई सुधार गृहको रुपमा विकास गर्ने योजना अघि बढाएको छ। तर, जिल्ला कारागार कैलालीको अवस्था हेर्दा सुधार गृहभन्दा यातना गृहको झझल्को दिन्छ। करिब आठ दशकअघि निर्माण गरिएको कैलाली कारागारको क्षमता बिस्तार नगरिँदा कैदीबन्दीलाई बस्न र सुत्न समस्या भएको छ। १५० जना क्षमता रहेको जीर्ण कारागारमा हाल ४०० भन्दा बढी कैदिबन्दी रहेका छन्।

    ‘वि.सं. १९९७ मा १०० जना अटाउने गरी निर्माण गरिएकोे कारागारमा हाल ४०४ जना कैदीबन्दी छन्,’ कैलाली जिल्ला कारागारका निमित्त जेलर जनकबहादुर सिंहले विवरण सुनाए, ‘जिल्ला कारागारमा ३७४ जना पुरुष, २८ जना महिला तथा दुई जना आश्रित बालबालिका साँघुरो स्थानमा कोचाकोच गरेर बस्न बाध्य छन्।’

    क्षमताभन्दा करिब चार गुणा बढी कैदीबन्दी भएपछि उनीहरुलाई  सुत्न, हिँड्डुल गर्न र खाना बनाएर खान समेत मुस्किल परेको छ। ‘एउटै कोठामा कोचाकोच गरेर  बस्छौं,’ कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मातृकाप्रसाद जैशीले गुनासो गरे, ‘रोगको संक्रमण फैलने खतरा बढेको छ।’

    कारागारमा सबैभन्दा बढी कर्तव्य ज्यानमा मुद्दाका ८० जना कैदी र ३८ जना थुनुवा कैदीबन्दी रहेका छन्। त्यसपछि जबरजस्ती करणी मुद्दाका ९२ जना कैदी र ३१ जना थुनुवा कैदी बन्दीहरु रहेका छन्। कारागारको क्षमताभन्दा बढी कैदीहरु भएकाले कतिपय कैदीहरुलाई अस्थायी टहरामा समेत राख्ने गरीएको छ।

    उपचारका लागि भनेर कतिपय अन्य जिल्लाका कारागारबाट कैलाली पठाउने गरेपछि यहाँ कैदीबन्दीको चाप बढेको हो। दिन प्रतिदिन कैदीबन्दीको चाप बढ्न थालेपछि कारागार अस्तव्यस्त बन्न थालेको छ। जवरजस्ती करणी मुद्दामा कैद सयाज भोगिरहेका महेन्द्र महराले गुनासो पोखे, ‘दिउँसो त जेनतेन कट्छ तर रात कसरी काट्ने भन्ने चिन्ता हुन्छ।’

    भवन मर्मतमा पनि सरोकारवाला निकायले चासो नदिएको कारागारका निमित्त जेलर जनबहादुर सिंहले गुनासो गरे। ‘यस विषयमा पटकपटक कारागार व्यवस्था विभागलाई जानकारी गराएका छौँ,’ सिंहले भने, ‘आजसम्म सुनुवाइ भएको छैन।’ 

    कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने भवन मर्मतसम्भार तथा नयाँ भवन निर्माणका लागि पहल भइरहेको बताए। ‘भवन विभाग र गृहमन्त्रालयबीच सहमति भएको छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले बजेट निकासी गर्दैछ। अब धेरै समय लाग्दैन।’

    कारागारमा रहेका कैदीबन्दीहरुको मानव अधिकारसम्बन्धी अध्ययन अनुसन्धान कार्यदलले कारागारमा रहेका कैदीवन्दीहरुको अवस्था अध्ययन गरी मर्मतका लागि पहल थाल्ने आश्वासन दिएको भए पनि समस्या समाधान भएको छैन। केही समयअघि कारागार व्यवस्थापन समितिका महानिर्देशक हरिप्रसाद मैनालीसहितको टोलीले पनि कारागारको अनुगमन गरेको थियो। तर, अनुगमनको दुई महिनामा पनि कारागार सुधारको प्रयास भएको छैन। कारगारमा रहेका आश्रित बालबालिकाले पढ्न पाएका छैनन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]