|

सिन्धुली : पछिल्लो समय सिन्धुलीका किसानहरू व्यावसायिक च्याउ खेतीतर्फ आकर्षित भएका छन्। कम मिहिनेत र थोरै लगानीमा पनि च्याउ उत्पादन गर्न सकिने र मूल्य पनि राम्रा पाइने भएकाले यहाँका किसानहरू च्याउ खेतीमा आकर्षित भएका हुन्। 

सिन्धुलीको गोलन्जर गाउँपालिका –७ का कृषक रबि रम्तेलले करिब ४ वर्षदेखि कमलामाई नगरपालिका–६ धुरा बजारमा च्याउ खेती गदैँ आएका छन्। पहिले अरूको च्याउ बजारमा बेच्दै हिँडेका रम्तेललाई अहिले आफ्नै च्याउ बेच्न भ्याईनभ्याई छ। अरूले च्याउ खेती गरेको देखेरै ५० पोकाबाट च्याउ खेती गर्न सुरु गरेका रम्तेलले अहिलेसम्म १ हजार ३०० पोकासम्म पुर्‍याएका छन्। च्याउ खेतीबाटै ५ जनाको परिवार सहजै धान्दै आएको रम्तेल बताउँछन्। ‘मैले ५० पोकाबाट च्याउ खेती सुरु गरेको हुँ, अहिलेसम्म १२/१३ सय पोकासम्म हालेको छु ,आम्दानी ठीकै छ, पाँचजनाको परिवारको खर्च यसैले धान्ने गरेको छु’ उनले भने।

बजारमा च्याउको मूल्य हाल प्रतिकिलो २ सय रुपैयाँ छ। थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि अरूको च्याउ बेच्न छाडेर आफैँ खेती गर्न थालेको रम्तेलले भने। कमलामाई नगरपालिका –७ का खुसकुमार श्रेष्ठ पनि विगत २ वर्षखेखि च्याउ खेती गर्दै आएका छन्। अहिले ४ सय पोकासम्म च्याउ उत्पादन गरेका श्रेष्ठ आउँदा दिनमा एक हजार पोकासम्म च्याउ उत्पादन गर्ने बताउँछन् अहिले च्याउ खेतीबाट वार्षिक साढे तीन लाखसम्म आम्दानी हुने गरेको श्रेष्ठको भनाइ छ। ‘प्राय म तरकारी खेती नै गर्थें, च्याउ खेती गर्न साह्रै रहर थियो, अहिलेसम्म च्याउबाट फाइदा नै भएको छ, वर्षमा च्याउबाट ३/४ लाख आम्दानी लिन्छु’ उनले भने।

च्याउको खेती गर्मी महिनामा भने कम हुने गरेको छ। च्याउका लागि उपयुक्त मौसम भदौदेखि फागुनसम्म भएको कृषकहरू बताउँछन्। जिल्लाका नौ वटै स्थानीय तहका किसानले च्याउखेती गर्छन्। 

कमलामाई नगरपालिकाको कृषि शाखाका अनुसार नगरक्षेत्रमा रम्तेल र श्रेष्ठ जस्ता ३५ जना कृषकहरूले व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका छन्। जलकन्या, भद्रकाली, डाँडी, मधुटार, बर्देउटार, रानीचुरी रानीवास लगायतका क्षेत्रमा धेरै कृषकहरूले व्यावसायिक च्याउ खेती गर्दै आएको कमलामाई नगरपालिकाको कृषि शाखाका देवीप्रसाद सापकोटाले बताए।

मासुमा पाइने पौष्टिकतत्व च्याउमा पाइने भएकाले अहिले मासुमा भन्दा पनि च्याउमा मानिसको बढी रुचि बढ्दै गएको पाइन्छ। मासुमंश नखाने साकाहारीहरूको भान्सामा महत्वपूर्ण तरकारीको रूपमा रहेको पाइन्छ च्याउ। च्याउ खेतीमा किसानको आकर्षण बढाउँदै आयआर्जन बढाउन बीउ विजनको व्यवस्थापन, उचित बजार, प्राविधिक सेवा, तालिम, विषादीमा सरकारले अनुदान दिनुपर्ने माग किसानको छ। च्याउ खेतीका लागि सिन्धुलीको हावापानी उपयुक्त र बजारमा लैजान सजिलो भएपछि च्याउ खेती फस्टाउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.