|

लहान : सप्तरीको पूर्वी सीमाको सप्तकोशी नदीको तटीय गाउँ बस्तीमा हात्तीको आतङ्कले सर्वसाधारण त्रासमा बस्न बाध्य छन्। हात्ती आएर कुनै पनि समय विध्वंस मच्चाउन सक्ने भयले सर्वसाधारण आतङ्कित बनेका हुन्। 

कोशीटप्पु वन्यजन्तुु आरक्ष क्षेत्रबाट आएको हात्तीको समूहले सप्तरीको कञ्चनरूप नगपालिका–१२ रूपनगर चर्खियामा मंगलबार राति स्थानीय तीन जनाको घर भत्काउनुका साथै काट्ने बेला भएको धानबाली नष्ट पारेको छ। आरक्षबाट आएको हात्तीको समूहले स्थानीय रामकिसन खत्वे, लिला बञ्जारा र जलेश्वर मोचीको सहित तीन घर भत्काउनुका साथै अन्नबाली खाएर नष्ट बनाएको पीडितले बताए। 

‘बढ्दै गरेको चिसोको मौसममा हात्तीले घर भत्काएपछि टाउको लुकाउने ठाउँ समेत छैन’ पीडित जलेश्वरले भने ‘घरमा वृद्धवृद्धा र केटाकेटीलाई जागउनै मुस्किल भएको छ।’ कोशी नदी तरेर बेला बेलामा आरक्ष क्षेत्रबाट आउने जङ्गली हात्तीको समूहले सर्वसाधारणको घर र अन्नबाली नष्ट गरिरहेको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेको वडाध्यक्ष देवीबहादुर खत्रीले गुनासो गरे। 

टिन थाल ठटाएर जाग्राम

काट्ने बेलाको धान आरक्षबाट आउने हात्तीको समूहले नष्ट गर्नुका साथै बस्ने घर समेत भत्काउन थालेपछि स्थानीय सर्वसाधारण रातभर टिन थाल ठटाएर जाग्राम बस्ने गरेको वडाध्यक्ष खत्रीले बताए। ‘कुनै पनि बेला हात्ती आएर मानवीय क्षति समेत गर्ने जोखिम भएकाले गाउँलेहरु पालो लगाएर जाग्राम बस्ने गरेका छन्’, वडाध्यक्ष खत्रीले भने।

कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको हात्तीको आक्रमणमा कञ्चनरूप नगर क्षेत्रमा छ जनाको मृत्यु भइसकेको वडाध्यक्ष खत्रीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.