|

काठमाडौं : समाजमा धन र पहिचानको निकै महत्त्व हुने गर्छ। पहिचान कसरी राम्रो बनाउने? धन कसरी बढी कमाउने? आआफ्ना शैली र व्यवहार हुन्छन्। उमेरमै पहिचान बनाउने र धन कमाउनेलाई त्यसलाई कसरी टिकाउने वा बढाउने भन्ने अर्को चुनौती रहन्छ।

३१ वर्षे व्यवसायी सुमन दाहालले धेरै रोजगारी सिर्जना गरेर नभई धेरैलाई उद्यमी बनाएर आफ्नो पहिचान झल्काउने सपना बोकेका छन्। सपना मात्रै होइन, उनले अभियान नै सुरु गरेका छन्। धेरै उद्यमी बन्दा धेरै रोजगारी सिर्जना पनि स्वाभाविक भयो।

कागजी ग्राफअनुसार काम भयो भने उनको अभियानअनुसार अबको केही वर्षमा एक हजार एक सय जना उद्यमी बन्नेछन्। न्यूनतम एक लाखले रोजगारी पाउनेछन्। अन्तर्राष्ट्रिय बजारमा समेत उनको कम्पनीमार्फत् उत्पादित सामग्री छ्यापछ्याप्ती पाइनेछन्।

उनी अहिले सन् २०१२ मा आफूले कोरेको ग्राफअनुसार अघि बढेको बताउँछन्। २१ वर्षको उमेरमा व्यवसयामा प्रवेश गरेका दाहालले व्यवसाय सुरु गरेको १० वर्ष भयो। उनको व्यवसायको एक वर्षको समयमै बजारमा चर्चै चर्चा थियो। धेरै टेलिभिजनमा विज्ञापन बज्थ्यो। त्यसपछि भने उनले टिकाउ र रोजगारीको क्षेत्रमा योगदान पुर्‍याउने गरी लगानी विस्तार गर्न चाहे।

सपना डाक्टर बन्ने पालेका उनी आइएस्सी पढेपछि व्यवसायमा लागे। कारण- उनले लिएको एक तालिममा डाक्टर ठूलो कि डाक्टरलाई पनि रोजगारी दिने भन्ने बहस चलेको थियो। उनले डाक्टरलाई रोजगारी दिने धारणा राखेका थिए।

संयोग आफ्ना केही साथीसँग मिलेर उनले सोही वर्ष व्यवसाय सुरु गरे। के व्यवसाय सुरु गर्ने भन्ने बहस त थियो नै, त्यसै सन्दर्भमा मान्छेको चहाना र धेरै बिक्री वितरण गर्ने सामग्रीको खोजी भयो। अन्तर्राष्ट्रिय रोटी मेकर निकै चलेको थियो। 'रोटी खान धेरैलाई मनपर्ने तर बनाउन झन्झट हुने', दाहालले भने, 'यो झन्झट नगरी रोटी खान पाइने साधन थियो रोटी मेकर अनि हामीले त्यही साम्रगीको आयात र वितरण गर्ने निर्णय गर्‍यौँ। केही लगानी त आवश्‍यक पर्थ्यो तर ऋण धन लगानी जुटायो र वर्ल्ड मार्ट भन्ने कम्पनीले फेमिलियर ब्राण्डबाट रोटी मेकर बिक्री वितरण सुरु भयो। बजारमा माग दिन दुई गुणा रात चार गुणा एकै वर्षमा भयो।'

आयात गरिएको सामग्रीको शहरभरि चर्चै चर्चा। लाखौँको वितरणबाट आफूले कमाइ राम्रै गरे पनि पहिचान भने नबन्ने निचोड एक वर्षको समयमा दाहालले निकाले। 'दिनदिनै भन्सारमा पनि झन्झट हुने, आफूले यहाँ बेच्यो, पैसा विदेश पठायो, यसले मात्रै हुँदैन भन्ने लाग्यो', दाहाल भन्छन्, 'रोटी मेकर बाट बचेको चोखो आम्दानी अब स्वदेशी उद्योगमा लगाउने निर्णय लिएँ।' उनले त्यो समयमा भने स्वदेशी जडिबुटी उद्योगमा केन्द्रित गर्ने निर्णय लिए।

स्प्रेद्वारा मोजा, काखी तथा शरीरको दुर्गन्ध हटाउने, शरीरमा आएको चाया, पोतो हटाउनेलगायत क्रिम, स्याम्पु, साबुन, स्प्रेलगायत सात किसिमका सामग्री उत्पादन र बिक्री वितरण गर्ने काम सुरु भयो। रोटी मेकर जस्तो न एग्रेसिभ मार्केटिङ भयो, न सर्वसाधारणले सहजै पत्याइहाले।

'आयुर्वेदिक उत्पादन अनि स्वदेशी उत्पादनमा विश्‍वास दिलाउन निकै गाह्रो रहेछ। सिधै सर्वसाधारणसँग पुग्न नसिकने स्थिति भएपछि रणनीति परिवर्तन भयो', दाहाल भन्छन्। मेडिकल र व्युटीपार्लर क्षेत्रमा उनीहरू प्रवेश गरे उधारोमा सामग्री दिँदा पनि अझै भएन एग्रेसिभ मार्केटिङ अनि अर्को उपाय अवलम्बन गरे। प्रयोग गर्ने तरिकाको विषयमा बुझिने गरी क्याटलक तयार र त्यसले कति समयभित्र कस्तो प्रभाव पार्छ भन्ने विषयमा कागजमा लेखेर पर्चा बनाए र त्यसको ग्यारेन्टी फेमिली प्रोडक्सन कम्पनीले लियो। दाहाल दाबी गर्छन्, 'कागजमा लेखेअनुसार सर्वसाधरणले प्रयोग गरेपछि थाहा पाए र हाम्रो उत्पादन बढ्यो।'

२०७२ को भूकम्पको समयमा अन्य उत्पादनहरू घट्दै थिए तर उनको उत्पादनको माग भने बढ्यो। २०७२ सालसम्म काठमाडौंमा मात्रै १० हजार वितरकहरूबाट आफ्ना सामग्री बिक्री हुन थाले। त्यसपछि उत्पादन क्षेत्र विस्तार र बजार विस्तारको काम अघि बढ्यो।

अहिले दाहालसँग कम्पनीले १७ किसिमका कस्मेटिक सामग्री, १३ किसिमका आयुर्वेदिक मसलाजन्य उत्पादन र अर्गानिक ग्रिन टी विथ हनीका सामग्री उत्पादन गरिरहेका छन्।

फेमिलियर ग्रुपअन्तर्गत अहिले एक दर्जन कम्पनी रहेका छन्। सबैमा लगभग एक/एक करोड रुपैयाँ लगानी रहेको दाहालको भनाइ छ। सात जनालाई रोजगारी दिएर व्यवसायमा प्रवेश गरेका उनी अहिले झण्डै ३०० जनालई रोजगारी दिएको बताउँछन्।

उनको सपना

उनी अब एक हजार एक सय जनलाई उद्यमी बनाउने र एक लाखलाई रोजगारी दिने फेमिलियर ग्रुपअन्तर्गतका सामग्री विश्‍व बजारमा पठाउने र लगानीका क्षेत्र विस्तार गर्ने अभियानमा लागेको बताउँछन्। उनको लक्ष्य सन् २०२५ सम्म एग्रेसिभ लगानी र बजार विस्तार गर्ने रहेको छ।

'११ सय जनालाई उद्यमी बनाउने अभियान सुरु भइसकेको छ। केन्द्रमा सय जना तयार भए अब प्रदेशबाट छनोटको तयारीमा छौँ'

यसका लागि अवधारणा तय गरिसकेका छन्। सिन्धुपाल्चोकमा सामूहिक लगानीमा आधुनिक अर्गानिक कृषि उद्योगका लागि काम अघि बढेको छ। यहाँ कृषिजन्य सामग्रीको उत्पादन पनि त्यही ग्रुपले गर्नेछ। त्यस्तै, सबै क्षेत्रमा आवश्‍यक लगानी जुटाउन र प्रयोग गर्नका लागि सिन्धुली सुनकोसी इन्भेष्टमेन्ट कम्पनी खडा गरेका छन्। यो कम्पनीमाफत् लगनी गर्ने योजनामा उनी छन्। लगानी गर्ने क्षेत्र पनि यही कम्पनीले पहिचान गर्नेछ।

काठमाडौंको कपनमा १० रोपनी जग्गा लिएर ठूलो आयुर्वेदिक उद्योग स्थापना गर्ने योजना रहेको उनले बताए। यसका लागि कपनमा जग्गा लिइसकेको उनी बताउँछन्।

११ सय जना उद्यमी तयार गर्ने योजनाअन्तर्गत उनी अहिले सात प्रदेशमा १००/१००, उपत्यकामा ३०० र केन्द्रमा १०० जना उद्यमी बनाउने गरी व्यक्ति छनोट भएको छ। यो ग्रुपको सेयरमा नयाँ क्षेत्रमा लगानी विस्तार हुनेछन्। '११ सय जनालाई उद्यमी बनाउने अभियान सुरु भइसकेको छ।  केन्द्रमा सय जना तयार भए अब प्रदेशबाट छनोटको तयारीमा छौँ', दाहालले भने।

उनले तीन तहका सरकारले सहकार्य गरेमा लाखको रोजगारी आफ्नो अभियानमार्फत् तयार हुने दाबी गर्छन्। सरकारसँग सहकार्य नहुँदा पनि फेमिलियर ग्रुपअन्तर्गत सन् २०२५ मा एक लाख व्यक्ति संलग्न हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.