|

रुकुम : रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ३ का वडा अध्यक्ष चन्द्रबहादुर केसीले आफूले पाएको ६ महिनाको सेवा सुविधावापतको रकम गरिब, विपन्न, असाहय, अपांग, टुहुरा तथा दीर्घ रोगीलाई प्रदान गरेका छन्।

गाउँपालिकाका १० वटै वडाका २५ जनालाई जनही चार हजारका दरले अध्यक्ष केसीले एकलाख नगद प्रदान गरेका हुन्। शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष केसीले एक वर्षमा प्राप्त दुई लाख २८ हजार सेवासुविधा मध्यबाट एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। आर्थिक सहयोग पाउनेमा ३ नम्बर वडाका १५, ५ नम्वरवडाका २ र अन्य ८ वडाका एक/एक जना छन् ।

वडा अध्यक्ष केसीसहित वडाका वडा सदस्यले यसअघि ३ नम्बर वडाका ज्येष्ठ नागरिकलाई सेवासुविधा बापतको रकमबाट वनभोज आयोजना गरेका थिए। ज्येष्ठ नागरिकको सम्मानस्वरूप स्यार्पुतालमा डुंगा सयर र वनभोजमा सहभागी गराइएको थियो। त्यसअघि वडा अध्यक्ष केसीले ३ र १० नम्वर वडाका २ जना बिरामीलाई आठ हजार नगद सहयोग गरेका थिए।

बैठक भत्तावापत प्राप्त उक्त रकमले औषधि किन्न भनेर सहयोग गरिएको अध्यक्ष केसीले बताए। वडा अध्यक्षले शुक्रबारको कार्यक्रममा आर्थिक सहयोग गरेका हुन्। एक व्यक्तिलाई चार हजार रकम धेरै ठूलो नभए पनि भावनात्मक रूपमा जोडिन सानै भए पनि सहयोग गरेको उनको भनाई छ।

‘चुनावका क्रममा गरिएको प्रतिबद्धता पनि सेवासुविधा जनतामै खर्च गर्ने भनेको थिएँ, यसपटक जस्तै बाँकी दिनमा पनि आफूले पाउने सेवासुविधा बापतको रकम जनतामै खर्च गर्ने योजना मेरो छ’ अध्यक्ष केसीले भने। चैत्र महिनामा वडामा भएका अपांगहरूसँग वडा कार्यालयले विशेष भेटघाट गर्ने कार्यक्रम तय गरिसकेको छ। वडा अध्यक्ष र अन्य सदस्यहरूको सेवासुविधाबाटै अपांगहरूसँग विशेष कार्यक्रम र सम्मान गरिने अध्यक्ष केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.