अस्पतालमा भर्ना हुँदा सही नाम डिस्चार्ज हुँदा किर्ते

|

उदयपुर : किर्ते गरी नक्कली जन्मदर्ता बनाएको आरोपमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतकी पत्नी ललिता राउत चौहान पक्राउ परेकी छन्। इलाका प्रहरी कार्यालय कटारी उदयपुरले साइनोमा भदा भाइ पर्नेलाई न्यायाधीश पत्नीले श्रीमानकै सही छाप किर्ते गरी नक्कली जन्मदर्ता बनाएर छोरा बनाउन खोजेको आरोपमा पक्राउ गरेको हो।

कटारी नगरपालिका ३ स्थायी घर भएका राउत पत्नीले कटारी नगरपालिका ३ बाट श्रीमान प्रकाशमानसिंह राउतको किर्ते सही छाप गरी जन्मदर्ता बनाउँदा किर्ते गरेको अभियोग इलाका प्रहरी कार्यालय कटारीको छ।

न्यायाधीश राउतका पिता बलबहादुर राउतले छोरा प्रकाशमानसिंह राउतको किर्ते हस्ताक्षर र औँठाछाप गरेर ललिताले अर्कैको बच्चालाई आफ्नो भनी जन्मदर्ता गराएको भन्दै दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले बताए। पत्नी ललिता राउत चौहानसँगै, बाबुराम चौहान, शिवराम चौहान, बुनु चौहान र भोजकुमारी पोखरेलको मिलेमतो किर्ते गरिएको प्रहरीको दाबी छ।

कटारी नगरपालिका ३ बाट गत असोज १० र ११ गते बाबु प्रकाशमानसिंह राउत, आमा ललिताकुमारी राउत (चौहान) बाजे बलबहादुर राउत भनी किर्ते ल्याप्चेसमेत लगाई नवजात शिशु दक्ष राउतको किर्ते जन्म दर्ता बनाएको प्रहरीको दाबी छ।

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी ध्रुव श्रेष्ठले भने, ‘सोमबार किर्ते अभियोगमा पक्राउ परेकाहरूको विरुद्धमा किर्ते मुद्दामा दर्ता गरी म्याद थप गरेर अनुसन्धान जारी छ।’ ललितासँगै उनका दाजु बाबुराम चौहान, शिवराम चौहान र भाउजू बुनु चौहान पक्राउ परेका हुन्। न्यायाधीश राउतकी पत्नी माइती दाइ शिवशंकर चौहान र भाउजू भोजकुमारी चौहान पोखरेलको कोखबाट जन्मेको बच्चालाई न्यायाधीश प्रकाशमान र ललितालाई बाबुआमा कायम गरेर काठमाडौं मेडिकल कलेजमा जन्मेको प्रमाणपत्र बनाए। त्यसपछि, पुन न्यायाधीश प्रकाश र ललितामै कायम गरेर वडा कार्यालयबाट जन्म दर्ता गराए।

किर्ते पुष्टि भएपछि जन्मदर्ता बदर भइसक्यो

कटारी नगरपालिका-३ को वडा कार्यालयले भने किर्ते पुष्टि भएपछि जन्मदर्ता बदर भइसकेको वडाध्यक्ष रामबहादुर पोखरेलले जानकारी दिए। पक्राउ परेका शिवशंकर न्यायाधीश राउतका जेठान हुन भने ललिताको आफ्‍नै साख्य भाइ हुन्। ससुराली दाइको छोरोलाई न्यायधीश राउतले भदै सालो भाइ पर्छ भने ललिताको भदै भाइ पर्छ। सर्वोच्चका न्यायाधीश राउतले ०६१ सालमा बिहे गरेको बताउँदै आफूहरूबीचमा कुनै पनि पारापाचुके सम्बन्ध नरहेको दाबी गरेका छन्। छोराछोरीसमेत नभएको न्यायाधीश दम्पतीले सन्तानको रहर पूरा गर्ने धेरै कानुनी व्यवस्थाहरू छन्।

४० वर्ष लगाएर कमाएको मान सम्मान इज्जत स्वाहा

न्यायाधीश राउत भन्छन्, ‘मेरो ४० वर्ष लगाएर कमाएको मान सम्मान, इज्‍जत प्रतिष्ठामा आँच आएको छ। मलाई ठूलो चोट लागेको छ। हुँदै नभएको बच्चाको हजुरबुबा भनेर मेरो पिताजीलाई बनाइएको छ। मलाई बाबु कायम गरिएको छ। श्रीमतीको हर्कतले मेरो जीवनमा चोट लागेको गुनासो गर्दै न्यायाधीश राउतले भने, ‘मेरो श्रीमतीको आफ्नै दाजु शिवशंकर चौहान र भाउजू भोजकुमारी चौहानबाट जन्मेको भदै सालोलाई किर्ते कागजमा छोरो बनाइन्।’

बच्चा जन्मने वेला अस्पताल भर्ना गर्दा जो आमाको बच्चा हो, उसैको नाम राखिएको छ। पछि बच्चा जन्मेपछि डिस्चार्ज हुनेवेला भदै सालोको बाबु म र आमा मेरो श्रीमती बनेर कागजात मिलाएर किर्ते गरी बच्चाको मलाई बाबु बनाइयो। मैले कसलाई के भन्नु र? मान, प्रतिष्ठामै श्रीमतीले एकलौटी निर्णय गरेर नक्कली पिता बनाइदिएको न्यायाधीश राउतको भनाइ छ। ‘खै कसरी भन्ने शब्दै छैन,’ उनले भने, ‘सोच्नै नसकिने काम भएको छ।’

यता, न्यायाधीश प्रकाशनमानका दाजु ज्ञानेन्द्रमानसिंह राउतले भाइबुहारीले भाइ प्रकाशको सही छाप आफैँ गरेर श्रीमानलाई बाबु बनाउँदै आफू आमा बनेको बताए। ‘उनीहरू बीचमा सन्तान भएनन्, कसैको बच्चालाई सन्तान बनाउने पनि कानुनी व्यवस्था छ,’ उनले भने, ‘श्रीमानलाई समेत थाहा नदिईकन भाइबुहारीले भदै सालोलाई छोरा बनाउनु ठूलो गल्ती हो।’ के को लागि गरिन् थाहा छैन भन्दै दाजु ज्ञानेन्द्र सिंहले भने, ‘जे को लागि गरेको भए पनि त्यो अपराध हो।’

भर्ना हुँदा सही नाम डिस्चार्ज हुँदा किर्ते

०७५ गत साउन १८ गते ललिताका दाजु शिवराम चौहानकी पत्नीले काठमाडौं मेडिकल कलेजमा छोरालाई जन्म दिएकी थिइन्। दाजु भाउजू बच्चा जन्माउनकै लागि जनकपुरबाट काठमाडौं पुगेका थिए। न्यायाधीशकै घरमा बसे। बच्चा जन्मनेवेला ललितालगायत सबै दिदीको घर मूलपानी गए। न्यायाधीश राउत भन्छन्, ‘अस्पताल भर्ना हुने वेला जसको बच्चा उसैको नाम रहेछ। तर, बच्चा जन्मेपछि डिस्चार्ज हुने वेला बच्चाको बाबुको नाम प्रकाशमानसिंह राउत र आमाको नाम ललिता राउत राखिएको भेटेँ।’

दाजु भाउजूको बच्चा जन्मेपछि ललिता घरमा आइनन्। एकैचोटी कटारी पुगेको जानकारी पाएको प्रकाशमानको भनाइ छ। पछि सोधीखोजी गर्दा असोजकै दोस्रो हप्ता कटारीबाट नक्कली जन्मदर्ता गरेको भन्ने जानकारी आफन्तले दिएको र पछि पिताले गएर बुझ्दा पुष्टि भएको न्यायाधीश राउतले दाबी गरे।

बाबु प्रकाशमान सिंह राउत र आमा ललिताकुमारी राउत, बाजे बलबहादुर राउत हो भनी कीर्ते सही छाप ल्याप्चेसमेत लगाई नवजात शिशु दक्ष राउतको जन्मदर्ता बनाएको प्रहरीको आरोप छ। सोही प्रहरीको आरोपअनुसार न्यायाधीशलाई नक्कली पिता बनेका हुन्।

कटारी नगरपालिका-३ को वडा कार्यालयले किर्ते गरी जन्मदर्ता गराएको जानकारीपछि जन्मदर्ता बदर गरेको जानकारी दिएको छ। ललिता प्रहरी हिरासतमा भएकाले उनको धारणा बुझ्न सकिएको छैन।

न्यायाधीश नै नक्कली पिता बने : डिएसपी

इलाका प्रहरी कार्यालय कटारी प्रमुख डिएसपी ध्रुवकुमार श्रेष्ठले न्यायाधीश न्यायाधीश पत्नी राउतले किर्ते गरेको देखाई श्रीमानलाई नक्कली पिता र आफू नक्कली आमा बनेको प्रमाणित हुने बताउँछन्। ‘हाम्रो सोधखोजमा न्यायाधीश प्रकाशमानले पनि मानेको दाबी गर्छिन्,’ उनले भने, ‘न्यायाधीश पत्नीले आप्mनै दाजु शिवराम र भाउजूको भोजकुमारीको छोरा भदै भाइ पर्नेलाई किर्ते गरी छोरा बनाएर आफूलाई नक्कली आमा र न्यायाधीश श्रीमानलाई नक्कली पिता बनाएको देखिन्छ।’

अनुसन्धान भइरहेको भन्दै उनले भने, ‘न्यायाधीश सावको भनाइअनुसार श्रीमतीकै गल्ती देखिन्छ। किर्ते नै गरेको भए पनि पुष्टि गर्ने जिम्मा अदालतको हो। बच्चा लिएर फरार भएकी भाउजूको खोजी कार्यालय प्रहरीले गरिरहेको छ।’

सम्पति हडप्‍ने दाउ

न्यायाधीश राउत र ललिता दम्पतीबाट सन्तान भएका थिएनन्। धर्मपुत्र पाल्ने मनसायमा न्यायाधीश दम्पती थिए। ललिताको माइती पक्ष चौहान परिवारिक स्रोत भन्छन्, ‘सोही आधारमा ललिताले कानुनी प्रक्रिया पु¥याएर धर्मपुत्र पाल्ने व्यवस्था हुँदाहुँदै भदै भाइलाई ललिताले छोरो बनाइन्।’ चौहान परिवारमा जन्मेको बच्चालाई न्यायाधीश राउत भनी कागजात बनाउनु मुख्य कारण शिवराम दम्पतीले सम्पति हडप्ने दाउ रहेको चौहान परिवारको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.