|

दाङ : दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय दाङको तथ्यांकअनुसार ८१ जना पुरुष र ६६ जना महिलामा सिकलसेल एनिमिया देखिएको छ।

दाङमा २०७३/०७४ देखि सिकलसेल एनिमियाको तथ्यांक राख्न थालिएको हो, जसअनुसार २०७३/०७४ मा ४६ पुरुष र २८ महिला गरी जम्मा ७४ जना, २०७४/०७५ मा ३३ पुरुष र ३६ महिला गरी जम्मा ६९ जना र चालू आर्थिक वर्षको अहिलेसम्म दुई जना पुरुष र दुई जना महिला गरी चार जनामा सिकलसेल एनिमिया देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाशकुमार योगीले बताए। ती बिरामीहरूलाई अहिले जिल्ला जनस्वास्थ्य कर्यालय दाङको सिफारिसका आधारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक लाख रुपैयाँ बराबरको निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आएको छ।

अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कार्डसहित जनस्वास्थ्य कार्यालयमा आएमा कार्यालयले एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचारका लागि सिफारिस गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाशकुमार योगीले बताए। 

थारू समुदायमा लाग्ने यो रोगबाट धेरै जना पीडित भएको हुन सक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगीहरूको यकिन हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका हेल्थ असिस्टेन्ट कुन्दन ठाकुरले बताए। यस रोगबाट धेरै थारू समुदाय पीडित भएको भए पनि धेरै व्यक्तिले स्वास्थ्य नै परीक्षण नगराएको उनले बताए।

२०६८ सालको जनगणनाअनुसार दाङमा एक लाख ६३ हजार ३३४ थारू समुदायको बसोबास रहेको छ। थारूहरूको जम्मा संख्यामध्ये दाङमा १५ प्रतिशत थारू समुदायमा सिकलसेल एनिमिया भएको हुन सक्ने एक वर्षअघि विशेषज्ञ डा. राजन पाण्डेले गरेको अध्ययनले देखाएको थियो। वंशाणुगत रूपमा लाग्ने यस रोगलाई न्यूनीकरण गर्नका लागि सबै थारू समुदायको रगत परीक्षण गर्न सरकारले सहयोग गर्नुपर्ने थारू स्वास्थ्यकर्मी संघ दाङका अध्यक्ष जीवराज चौधरीले बताए।

उक्त रोगको पूर्ण उपचारका लागि सबै थारू समुदायको रगत परीक्षण गरी लक्ष्यअनुसार उपचार गर्न सकिने डा. राजेश्वर अर्यालले बताए। उनका अनुसार लक्ष्यअनुसार रोगको उपचार गरिने भए पनि पूर्ण रूपमा संचो भने हुँदैन। साथै यो रोग न्यूनीकरणका लागि जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ। आमाबाबुबाट बच्चामा सर्ने भएकाले सिकलसेल भएका बिरामीले विवाह नगर्ने र यदि गरे पनि बच्चा नजन्माउने उनले बताए। त्यस्तै, सिकलसेल एनिमियाको वाहक भएकाले अर्को वाहक भएकासँग विवाह नगर्नसमेत उनले सुझाव दिए। दुवै वाहक भएमा बच्चामा सर्न सक्ने उनको भनाइ छ। तर वाहक भएकाले सामान्य व्यक्तिसँग विवाह गर्दा बच्चामा नसर्ने उनले बताए।

के हो सिकलसेल एनिमिया?

सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो। हाम्रो रगतको कोषिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ। जिन धेरै प्रकारका हुन्छन्। तिनमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ। यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै संभावना रहन्छ तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने संभावना न्यून हुन्छ।

सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग हो। रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ। सिकलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ र त्यसले गाह्रो हुन्छ। त्यसलाई नेपालीमा कालो जन्डिस भन्ने गरिएको छ। यसले गर्दा कलेजो बढ्नुका साथै इन्फेक्सन हुन्छ र मुख्यतः रगतको कमी हुन्छ।

हँसिया आकारको रातो रक्तकोष धेरै कडा एवं एकआपसमा टाँसिने हुन्छ। त्यस्ता बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अंगमा नोक्सानी हुनुका साथै मस्तिष्कघात हुन सक्छ। यसको दुखाइ एकदमै कडा हुन्छ। स्वस्थ व्यक्तिमा रक्तकोष गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएको व्यक्तिको हँसिया आकारको हुन्छ।

सामान्यतया सेलको आयु १२० दिनको हुन्छ तर सिकल भएको हँसिया आकारको सेल २१-२२ दिनको हुन्छ। त्यस कारण शरीरमा अक्सिजन र पोषण नपुग्दा मांसपेसी र जोर्नीमा धेरै पीडा हुन्छ। कतिपय बिरामीको रोग पहिचान गर्न नपाउँदै मृत्यु हुन्छ। सिकलसेलमा व्यक्तिपिच्छे फरक फरक लक्षणहरू देखिन्छन्। हाल नेपालमा थारू समुदायमा मात्रै देखिएको भनिए पनि विस्तारै सबै जातमा यो रोग देखिन थालेको छ तर धेरै संख्यामा थारूहरूमा देखिएको छ। यो रोग थारू समुदायमा मात्रै हुन्छ भन्नु गलत भएको विशेषज्ञ बताउँछन्।

थारूमध्ये पनि पश्चिमी क्षेत्रका थारूमा एकदमै भयानक रूपमा रहेको छ यो रोग। पश्चिमी थारूहरू पढेलेखेका छैनन्, जागरुक छैनन्, त्यसैले राजधानीमा आइपुग्न उनीहरूलाई धेरै समय लाग्छ। उनीहरूलाई यस रोगका बारेमा खासै थाहा छैन। बाँके, बर्दिया, कैलाली आदि पश्चिम तराईका जिल्लामा यो रोग देखिएको छ। हाल भेरी अंचल, सेती अंचल अस्पताल धनगढी उपचार हुन्छ।

थारू समुदायमा ‘गुरुवा’ परम्परा छ। गुरुवा थारू समुदायकै झारफुक गर्ने व्यक्ति हुन्। केही भयो कि गुरुवाकहाँ जाने चलनले गर्दा उनीहरू उपचारका लागि बाहिर जाँदैनन्। गुरुवाको आदेश पालना गर्नु उनीहरू आफ्नो कर्तव्य ठान्छन्। यसका साथै गरिबीका कारण बाहिर गएर उपचार गराउन पनि उनीहरूलाई गाह्रो छ। थारूहरू काठमाडौं जान्छन तर उपचारका लागि कम मात्रै जाने गर्छन्। उनीहरूलाई अस्पतालसम्म लैजानु ठूलो कुरा हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.