|

काठमाडौं : नेपाली कांग्रेसले सोमबार आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा चार घण्टा उभिएर आगन्तुक नेता तथा कार्यकर्तालाई नमस्ते गर्न व्यस्त थिए। उनको साथमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि थिए। त्यति लामो समय अतिथिको स्वागतमा रहेका यी नेताहरू निकै थकित देखिन्थे। 

तर कार्यक्रममा अधिकांश पार्टी नेताहरू भने सभापति देउवाको आलोचनामा व्यस्त थिए। संचारकर्मीहरूसँग उनीहरू पार्टी नेता र महासमिति बैठकको कुरा गरिरहेका हुन्थे। त्यहाँ चियापानको भन्दा पनि धेरै आलोचना पार्टी नेतृत्वकै भइरहेको थियो।

‘कांग्रेसमा पहिला पनि गुट उपगुट थिए। विपी, गणेशमान, किशुनजीहरूले पनि गुट चलाउनुभएको थियो। पार्टीमा गुट र समूह स्वाभाविक हो’, युवा नेता गगनकुमार थापा संचारकर्मीसँग भन्दै थिए, ‘तर उहाँहरूले गुटलाई व्यवस्थापन गर्नुभएको थियो। अहिले त नेतृत्वले व्यवस्थापन गर्न नै जानेन।’

पार्टीका नेताहरू चियापान कार्यक्रममा एक ठाउँ भए पनि पार्टीमा फेरि उस्तै समस्या आउने उनको दाबी छ। ‘अघिल्लो केन्द्रीय समिति बैठकमा नेताहरू नोट अफ डिसेन्ट लेखेर बैठकबाट निस्कनुभयो’, नेता थापाले भने, ‘शेरबहादुर दाई, रामचन्द्र दाइहरू अहिले एकै ठाउँमा उभिएर चियापान कार्यक्रम गरे पनि भोलिका दिनमा फेरि समस्या हुन्छ।’ 

सभापतिको आलोचना गर्ने थापा मात्र होइनन्, उनी त प्रतिनिधिमूलक पात्र मात्र हुन्। नेतृत्वको आलोचना गर्नबाट महामन्त्री डा. शशांक कोइराला पनि पछि परेनन्। ‘मैले गुटलाई व्यवस्थापन गरौँ भनेर निकै प्रयास गरेँ तर नेतृत्वको कारण असंभव नै भयो’, उनले भने, ‘अब सायद महाधिवेशनअघि पार्टी यसरी नै चल्छ।’

सभापति देउवा सोमबार मात्र ओलोचित भएका होइनन्। कांग्रेसको १३औँ महाधिवेशनमा सभापति बनेपछि शेरबहादुर देउवा सधैँ आलोचित हुँदै आएका छन्। तीन वर्ष बितिसक्दा उनी सरकारमा जाँदा होस् या पार्टीकै कुनै गतिविधि गर्दा सधैँ आलोचित नै बन्दै आएका छन्। पछिल्लो समय त उनी झनै धेरै घेराबन्दीमा पर्दै आएका छन्। गत वर्ष भएको निर्वाचनमा टिकट वितरणका क्रममा भएको केही त्रुटिले उनी पार्टीभित्रैबाट आलोचित हुँदै आएका छन्। 

त्यस समयसम्म सभापति देउवालाई छुट्टाछुट्टै समूहमा रहेका नेताहरूले घेराबन्दी गर्दै आएका थिए तर निर्वाचनमा भएको अनपेक्षित हारपछि भने देउवाको विरुद्धमा उनीइतरका नेताहरू एक भएर विरोध गर्दै आएका छन्। पछिल्लो समय देउवाविरुद्धको गठबन्धनलाई शक्तिशाली बनाउन देउवाइतरका नेताहरू निरन्तर छलफलमा पनि जुट्दै आएका छन्। पार्टीभित्र चौतर्फी घेराबन्दीमा पर्दै आएका सभापति देउवामाथि पुनः चुनौतीको चाङ लाग्दै गएको छ। आन्तरिक विवादमा रुमलिएका देउवाले सभापति भएको समयमा गुट व्यवस्थापन गर्न नसक्नु नै चुनौती बन्दै गएको छ। १३औँ महाधिवेशनमा उनीसँगै रहेका नेता अर्जुनरसिंह केसी र सहकार्य गरेका नेता कृष्णप्रसाद सिटौलालाई चिढ्याउनु नै उनका लागि चुनौती बन्यो। अहिले यी दुई नेता नै उनीविरुद्ध खनिएका छन्। 

पार्टीको गत बैशाखमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो। तर उक्त महासमिति बैठक गर्न नसक्दा उनी घेराबन्दीमा परेका थिए। भदौमा महासमिति बैठक बस्न नसक्ने भएपछि केन्द्रीय समिति बैठकले फेरि मंसिरका लागि महासमितिको मिति तय भएको थियो तर यस पटक पनि समयमा महासमिति बैठक बस्न नसक्ने निश्चित भएको छ। ‘महासमिति बैठक प्राविधिक कारणले सर्ने भयो’, महामन्त्री डा. शशांक कोइराला भन्छन्, ‘करिब दुई सातापछि मात्र महासमिति बैठक बस्छ।’ 

देउवाइतरका नेताहरू देउवाले पार्टी नेतृत्व गर्न नसकेको आरोप लगाउने गरेका छन्। महासमिति बैठकका लागि आफूहरू लचिलो हुँदा पनि सभापतिले टार्न खोजेका आरोप लगाउँदै आएका छन्। सभापति देउवाले अहिलेको महासमितिका लागि गठन गरिएका समितिहरू पनि चियापान कार्यक्रमलाई भव्य बनाउन मात्र भएको कांग्रेस नेताहरू बताउँछन्। 

‘यो चियापान कार्यक्रमका लागि वातावरण तयार गर्नका लागि पनि उपसमितिहरू बनाइएको हो’, देउवा निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘तर रामचन्द्रजीलगायतका नेताहरूका कारण महासमिति अन्योलमा परेको छ।’ सभापति देउवाले पटक पटक महासमिति बैठक सारेर महाधिवेशनको मिति पनि लम्ब्याउन खोजेको कांग्रेस नेता डा. शेखर कोइरालाको आरोप छ। ‘महासमिति बैठक सारेर महाधिवेशनलाई पनि सार्ने चलखेल भइरहेको चर्चामा आइरहेको छ’, उनी भन्छन्, ‘तर यस्तो हुनुहुँदैन, यस्तो भए नेतृत्व मात्र होइन, पार्टी पनि सफल हुँदैन।’

अब पुनः केन्द्रीय समिति बैठक बसाउन पनि चुनौती छ। कांग्रेसले केही दिनभित्रै केन्द्रीय समिति बैठक बोलाउने भनिए पनि देउवाविरुद्धको शक्ति असन्तुष्ट रहेका कारण बैठक बस्न निकै मुस्किल छ। यसअघि पनि बैठक बोलाउँदा वरिष्ठ नेता पौडेलसहित नेता सिटौला, केसी, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक नै स्थगित गर्नुपरेको थियो।

पुनः महासमिति बैठक सार्ने संकेत देखेपछि सभापतिइतरको समूहले एक पटक देउवालाई घेराबन्दीमा पार्ने निश्चित जस्तै रहेको कांग्रेसका एक नेताले बताए। यससँगै सभापति देउवालाई आफूइतरका नेताहरूलाई मिलाएर लैजाने अर्को चुनौती थपिएको नेताहरू बताउँछन् तर आफूइतरका नेता मिलाएर अघि बढ्न देउवालाई निकै कठिन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.