|

बैतडी : देहीमाडौंमा सम्पन्न निंगलासैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले हात पारेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा  पाटन नगरपालिकालाई ४९ रनले स्तब्ध पार्दै मेलौलीले उपाधि कब्जा गरेको हो।

टस जितेर ब्याटिंग गरेको मेलौलीले १६.५ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १३७ रन बनायो। जसमा मुकुन्द क्षेत्रीले २५ तथा कमल क्षेत्रीले २४ रनको योगदान गरे। पाटनका सुभाष विष्ट, दीपक विष्ट र धीरेन्द्र चन्दले समान ३/३ विकेट हात पारे। १३८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको पाटन १५.३ ओभरमा ८८ रनमा अलआउट भयो।

धीरेन्द्र चन्दले १९ तथा मदन चन्दले १५ रनको योगदान गरे पनि अन्य ब्याट्म्यान चल्न नसक्दा पाटनले उपविजेतामै चित्त बुझाउन बाध्य भयो। पाटनको पारी ध्वस्त पार्न मेलौलीका जयराम भट्टले तीन तथा कृष्णदेव भट्ट र वीरेन्द्र विष्टले २/२ विकेट हात पारे। मेलौलीका जयराम भट्ट म्यान अफ द फाइनल चुनिए। उपाधिसँगै मेलौलीले एक लाख ११ हजार १११ ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ  भने उपविजेता पाटनले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाएको छ। यसैबीच प्रतियोगिताभर १२८ रन बनाउनुका साथै ६ विकेट हात पारेका मेलौलीका किरन ठगुन्ना उत्कृष्ट खेलाडी बन्दै ११ हजार १११ पुरस्कार पाए।

प्रतियोगिताभर ११३ रन बनाएका शिवनाथका भानदेव ओझा उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने ८ विकेट हात पारेका मेलौलीका वीरेन्द्र विष्ट उत्कृष्ट बलर छानिए। प्रतियोगितामा १२ छक्का हिर्काएका दशरथचन्द नगरपालिका ए का तेजबहादुर चन्द सबै भन्दा बढी छक्का हान्ने खेलाडी बने भने मेलौली किरन ठगुन्ना १४ चौका हिर्काउँदै सर्वाधिकचौका हान्ने खेलाडी घोषित भए।

पाटनका सन्दिप विष्ट उदयीमान खेलाडी बन्न सफल भए भने अनुशासित टोलीमा पुर्चौडी नगरपालिका चुनियो। त्यसैगरी थाहाकर्मी विनोदसिंह विष्ट पनि सम्मानित भएका छन्। पत्रकार विष्टले बैतडीकाे क्रिकेट विकासका लागी कलम चलाएकोमा सम्मानित गरेको छ। 

निंलाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौंको आयोजनामा कात्तिक ८ गतेदेखि सुरु भएका प्रतियोगितामा १२ टोली सहभागी रहेका थिए। क्रिकेटको उर्वरभूमिको रुपमा चिनिँदै आएको बैतडीमा सम्पन्न भएको यो प्रतियोगिता सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हालसम्मकै सबैभन्दा ठूलो रहेको आयोजकको दाबी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.