|
हात्तीले भत्काएको दमकको एक घर

दमक (झापा) : झापाका बासिन्दालाई जंगली हात्तीको त्रास वर्षौंदेखि समान छ। उनीहरुलाई अब यसको समाधान कसरी होला भन्ने भन्दा पनि ज्यान कसरी जोगाउने भन्ने मात्र चिन्ता छ। 

केही वर्षअघिसम्म पूर्वी झापाका वासिन्दाले झेल्दै आएको उक्त पीर पछिल्लो समय पश्चिमी झापा र दक्षिणी इलामका वासिन्दामा पनि सरेको छ। नेपाल–भारत सीमा क्षेत्र मेचीनगरमा ‘सोलार फेन्सिङ’ जडानपछि हात्तीको हैरानी केही कम भएको छ। त्यहाँ राखिएको सोलार फेन्सिङ (विद्युतीय तार)मा फसेर हात्ती मर्न थालेपछि यसबाट कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ। 

तर, झापाकै दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिकोका केही क्षेत्रका वस्तीमा दिनहुँ जंगली हात्ती पस्न थालेका छन्। यस्तै, तराई क्षेत्रमा पर्ने इलामको दक्षिणी क्षेत्र चुलाचुली गाउँपालिकाका वासिन्दा पनि त्यही पीर भोगिरहेका छन्। दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बराल हात्तीको वासस्थान भत्काउन केही समयअघि स्काभेटर लगाएर झाडी समेत फाँडिएको बताउँछन्। ‘हात्ती छेक्न त सक्दैनौं। तर त्यसको वासस्थान हटाउन सकिन्छ कि भनेर झाडी फाँडेका हौं,’ बरालले भने, ‘उता चुलाचुली गाउँपालिकाका लागि पनि उस्तै पीर भएको छ। त्यसैले साझा रुपमा समस्या समाधानको प्रयासमा छौं।’

दमकको उत्तरी क्षेत्रमा रहेको हंसेदुम्से सामुदायिक वन जंगली हात्तीको वासस्थान हो। यस क्षेत्रबाट निस्किएका हात्तीले दुःख दिने गरेको स्थानीय गणेश चाम्लिङ बताउँछन््। ‘हात्ती आएपछि यहाँ कसैलाई निन्द्रा पर्दैन। कैयौं रातको मेरो पनि निन्द्रा हात्तीले लुटेको छ,’ उनले भने ‘हात्ती आएपछि यहाँका सर्वसाधारणले पुल्ठो बाल्ने, चिच्याएर चर्को आवाजमा हल्ला गर्ने र हात्तीबाट जोगिन खबरदारी गर्ने बाहेकको विकल्प पनि छैन।’

सरकारको आशा

दमक नगरपालिका र चुलाचुली गाउँपालिकाको सीमानामा रतुवा खोला पर्छ। खोलाकै आडमा जंगल छ। सोही खोला र जंगल हुँदै हात्तीको बथान ओहोरदोहोर गरिरहने चुलाचुली–४ का भक्तबहादुर बुढाथोकी बताउँछन्। ‘यो ठाउँ देशकै कार्यकारी र सवैधानिक निकायमा प्रतिनिधि पठाउने मतदाता रहेको ठाउँ हो,’ उनले भने ‘तर यहाँको साझा समस्यामा देशको ध्यान जान सकेको छैन।’

हात्तीले बर्सेनि ठूलो जनधनको क्षति पुर्‍याइरहे पनि सरकारले त्यसको नियन्त्रण र रोकथामका लागि पहल नगरकोे चुलाचुली–४ का वडाध्यक्ष कालिदास भट्टराईले गुनासो गरे। समस्या समाधानका लागि संघ र प्रदेश सरकारले पनि सहयोग गर्नु पर्ने उनको भनाइ छ। दमक र चुलाचुली जोड्ने रतुवा खोलाको किनारैकिनार दमकबाट चुलाचुलीतर्फ हात्ती लम्किन्छन्। हात्तीकै कारण गत वर्ष चुलाचुलीमा एक जना र दमकमा एक जनाले ज्यान गुमाए।

हररात हैरानी

केही दिनयता जंगली हात्तीका कारण दमक–३ र चुलाचुली–४ र ५ का वासिन्दा रातभर त्रासमा परेका छन्। रातैभर हात्तीको उपद्रोका कारण सुत्न समेत नपाएको सर्वसाधारणहरुले बताए। 

दुई वटा हात्ती हंसेदुम्से सामुदायिक वनतर्फबाट रतुवा खोला तरेर चुलाचुली–४ को शान्तिचोक हुँदै गाउँपसेपछि सर्वसाधारणले त्रासमा रात कटाउनु परिरहेको सोही वडाका वडाध्यक्ष कालिदास भट्टराईले बताए। एक साताभित्र चुलाचुली–५ का रामप्रसाद दवाडी र पदमकुमारी देवानको र वडा नं. ४ का भक्तबहादुर बुढाथोकीको घर हात्तीले भत्काएको छ। बुढाथोकी भन्छन्, ‘यहाँ हात्तीको पीरले पाहुना रातभर सुत्नै सक्दैनन्।’

भीभीआईपीका मतदाता 

हात्तीको हैरानी खेप्दै आएका यस क्षेत्रका नागरिक देशकै शक्तिशाली व्यक्तिका मतदाता हुन्। हातीले हरेक रात दुःख दिने चुलाचुली गाउँपालिका इलामको निर्वाचन क्षेत्र नं. २ मा पर्छ। यस क्षेत्रबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ पटकपटक निर्वाचित हुँदै आएका छन्। यस्तै, दमक प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.