|

रुकुम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सुन्तला खेतीका लागि सम्भावना रहेको ठाउँ हो। राम्रो सम्भावना भएकाले नै यस क्षेत्रका किसानहरू व्यवसायिक रूपमा सुन्तला खेती गर्न हौसियका छन्।

अहिले सानीभेरी गाउँपालिका-८ माथेल्लो आमडाँडाका कृषक कविराम ओलीको बारीमा सुन्तलाका बोटहरुमा लटरम्म फलहरू देखिन्छन्। उनको बारीमा १०० वटा बोटमा सुन्तला लटरम्म फलेका छन् भने ९०० नयाँ बिरुवा पनि हुर्किँदैछन्। ‘अबको दुई/तीन वर्षभित्र सबै बोटले उत्पादन दिन सुरु गर्नेआशा छ’ कविरामले भने, ‘मसँगै गाउँका अन्य कृषकहरूले पनि यस वर्ष नयाँ सुन्तलाका बिरुवा लगाउनुभएको छ, गाउँपालिकाले अनुदानमा बिरुवाहरू वितरण गरेको थियो।’

उनका अनुसार सानीभेरी गाउँपालिकाका विभिन्न वडाहरुमा सुन्तलाको खेतीको राम्रो सम्भावना छ। त्यस्तै सोही ठाउँका अर्का कृषक चन्द्रबहादुर ओलीको बारीमा पनि ५०० बढी नयाँ बोट छन्। उनीहरू मात्रै होइनन् गाउँका अन्य कृषकहरू पनि पछिल्लो समय व्यवसायिक रूपमा सुन्तला खेती गर्न थालेका छन्।

त्यसैले त गाउँपालिकाले यस वर्ष मात्रै एक हजार बढी सुन्तलाका बिरुवाहरू वितरण गरेको थियो। तर केही वर्ष अघिदेखि त्यहाँका अगुवा कृषकहरूले आफ्नै लगानीमा सुन्तला खेती गर्दै आएका छन्। उत्पादित सुन्तला गाउँघरसँगै जिल्ला सदरमुकाम खलंगामा बिक्रीवितरण हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.