|

पर्वत : मुस्ताङमा उत्पादन भएका स्याउमध्ये ८० प्रतिशत जिल्लाबाहिर निर्यात भएको छ।  ४५० हेक्टर जमिनमा लगाइएको एक लाख ३५ हजार स्याउका बोटबाट पाँच हजार ८०० मेट्रिक टन स्याउ उत्पादन भएको छ।

उत्पादन भएका स्याउमध्ये एक हजार १६० मेट्रिक टन मुस्ताङमा नै खपत भएको छ भने बाँकी चार हजार ६४० मेट्रिक टन मुस्ताङबाहिर निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत इकाइ स्याउ जोन मुस्ताङका कृषि अधिकृत शिव पुजन गुप्ताले जानकारी दिए। उनले भने, ‘यस वर्ष उत्पादन भएकामध्ये प्रदेश मुकाम पोखरामा जहाजमार्फत र बाग्लुङ, म्याग्दी तथा पर्वतमा सडकमार्पmत ८० प्रतिशत स्याउ निर्यात भएको छ।’ मुस्ताङमा खपत भएको २० प्रतिशत स्याउ खुद्रा बिक्री, स्याउको सुकुटी, जुस र ब्राण्डीलगायतका खाद्य पदार्थ निर्माणका लागि प्रयोग हुने गरेको छ।

मुस्ताङमा ४१५ हेक्टर जमिनमा लगाइएका एक लाख २४ हजार ५०० वटा बोटबाट गत वर्ष पाँच हजार ३०० मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष त्योभन्दा पाँच मेट्रिक बढी उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष फल दिने बोट बढेका कारण पनि उत्पादन बढेको हो। यसबाहेक बोटको उचित गोडमेल तथा काटछाँट गरिनु र रोगहरुको रोकथामका लागि पूर्व सावधानी अपनाइएकाले पनि उत्पादनमा बढेको इकाइ स्याउ जोन मुस्ताङका कृषि अधिकृत गुप्ताको भनाइ छ।

मुस्ताङका पाँच स्थानीय तहमध्ये घरपझोङ गाउँपालिकामा सबैभन्दा बढी स्याउ उत्पादन हुने गरेको छ। लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आंशिक रुपमा मात्र स्याउ उत्पादन हुन्छ। यहाँको शितोष्ण बागवानी विकास केन्द्र मार्फामा अघिल्लो वर्ष २५ मेट्रिक टन स्याउन उत्पादन भएको थियो। यस वर्ष ३४ मेट्रिक टन फलेको छ। मुस्ताङमा रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस, गोल्डन डेलिसियस जातको स्याउ उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.