|
उन्नत जातको तरकारीको बीउ लिँदै किसान

जाजरकोट :  नेपालगन्ज र सुर्खेतका बजारमा जाजरकोटको तरकारीको माग बढिरहेको अवस्थामा यहाँका किसान उन्नत जातको तरकारी खेतीमा जुटेका छन्।आम्दानीको राम्रो स्रोत भएको तरकारी खेतीबाट यहाँका किसानहरुको ध्यान अहिले उन्नत जातको तरकारी उत्पादन आकर्षित भएका छन्। दुई वर्ष अघि दैनिक साँझ बिहानको छाक टार्न मुस्किल हुने भेरी नगरपालिका वडा १ का कालीबहादुर रानाको अहिले तरकारी खेतीबाटै जीवनस्तर परिवर्तन भएको छ। उनले तरकारी बेचेरै गरी छोरा, छोरीलाई निजी विद्यालयमा पढाएका छन्, अहिले बिहान के खाने र साँझ के खाने भन्ने चिन्ताबाट मुक्त भएको उनको भनाइ छ।

कालीबहादुर जस्तै यहाँका दर्जनौँ किसानहरु तरकारी खेती तर्फ लागेका छन्। उनीहरुको ध्यान आफ्नो बारीमा रहेको तरकारी कसरी राम्रो बनाएर बजारीकरण गर्ने भन्ने मात्र रहेको छ। बिहान उठ्नेबित्तिकै आफ्नै बारीमा उत्पादन भएको तरकारी खाना पाउँदा सबैभन्दा गर्व र आनन्द आउने गरेको स्थानीय रामबहादुर रानाले बताए। दुई वर्ष अघिसम्म तरकारी नपाएर नुन र आयातित आलु महँगोमा खरिद गरी लोभ मानेर खाने यहाँका किसानहरुको अहिले जीवन फेरिएको छ।

आफ्नै बारीको तरकारी गाडीमा राखेर बिक्री गरी सबेरै हातभरी पैसा ल्याउँदा किसानका परिवार खुसी देखिन्छन्। अब एक जोर कपडा लगाउनका लागि अर्काको काम गर्न गर्नुपर्ने अवस्था अन्त्य भएको अर्का किसान मनबहादुर पुनले बताए। तरकारी खेतीले गर्दा बारीमा पैसा ल्याएर विक्रेताहरु पुग्ने गरेको खुसी उनको छ। त्यस्तै भेरी नगरपालिकाको मटेला, इवर लगायतका ठाउँमा २ हजार किसानले तरकारी खेती गरी आम्दानी गरिरहेका छन्।

अहिले भेरी नगरपालिकाले यहाँका किसानरूलाई थप व्यावसायिक बनाउनका लागि नयाँ उन्नत जातको बीउ वितरण गरेको छ। सबै नि:शुल्क वितरण गरिएको बिउमा किसानको मागमा आधारित रहेर काम गरिरको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। २ हजारभन्दा बढी किसानले अहिले नगरपालिकाबाट उन्नत जातको तरकारीको बीउ नि:शुल्क रूपमा पाएको उनको भनाइ छ। नगरप्रमुख घर्ती बीउ दुरुपयोग हुन नदिन आफैँ किसानको घरमा पुगेको समानुपातिक रुपमा बाँडिएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.