चुचुरोको फेदमै होमस्टेको व्यवस्था

|

दैलेख : दैलेख र कालिकोटको सिमानामा पर्ने समुद्र सतहबाट करिब ४ हजार मिटर अग्लो भूभागमा रहेको दैलेखको बुलबुले झरनामा आन्तरिक र बाह्य पर्यटकहरु बढेका छन्। कर्णाली प्रदेशकै महत्वपूर्ण मानिएको ६२ मिटर अग्लो द्धारीखोलाको बुलबुले झरना हेर्न पर्यटकहरु बढेसँगै नौमूले गाउँपालिका वडा नं. ३ ले पर्यटकको सहजताका लागि भित्रिखोलामा होमस्टे संचालनमा ल्याएको छ। तीनचुले लेखले नजिकै निहालेको हुन्छ। सोही लेकको फेदीमा ढुंगाको पहाड भित्रबाट निश्किएको झरना देखिन्छ। तीनतिर ढुंगाको ठूलो चट्टान छ। झरनाको सिधै तह फोहोरामा पुग्न अहिले पनि कठिन छ। केही नजिकसम्म पुगेका पर्यटकहरु झरनाको चिसो पानिसँग रमाउने गर्दछन्।

दैलेख सदरमुकामबाट सहजै यातायातका साधनहरु नौमूले गाउँपालिका सम्म पुग्ने भएपछि पर्यटकहरु बढेका हुन्, भित्रिखोलाबाट झरना सम्म पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ। २ घण्टासम्म पहाडको उकालो हिड्दा लागेको थकान मनमोहक बुलबुले झरनामा पुगेपछि मेटिने नौमूले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए। खत्री सँगै गएको नौमूले गाउँपालिकाको टोलिले झरनाको थप व्यवस्थापनमा चासो दिने बताए। गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले झरना हेर्न जाने सवै पर्यटकहरुलाई स्थानीय परिकारहरु खुवाउन होमस्ट व्यवस्थापन गरिएको बताए। होमस्टेमा स्थानीय उत्पादन, कोदो, मकै, सिस्नो र आँटोको परिकार पाइन्छ। मारुनी नाँच, अन्य स्थानीय संस्कृति जगेर्ना गर्न गाउँपालिकाले सहयोग गरेको अध्यक्षको भनाइ छ। 

जनजाति बस्ती भएकोले होमस्टेबाट स्थानीयले राम्रो रोजगारी पाउने देखिएको नौमूले गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष गगनबहादुर रोका मगरले बताए। होमस्टेका लागि आवश्यक पर्ने अन्य कामहरु सुरु भइसकेको बताएका छन्, स्थानीय कोदो, मकै, सिस्नोका परिकारहरु होमस्टेमा खान पाइने रोकाले बताए, मगर समुदाय रहेकोले मारुनी नाँच, स्थानीय क्लबहरुसँग विभिन्न सांस्कृतिक कार्यक्रमहरू होमस्टेमा प्रदर्शन गरिने भएका छन्।

दैलेख सदरमुकामबाट नौमूले गाउँपालिकाको कार्यालय पुग्न सडक सहज भइसकेको छ भने, नौमूलेदेखि भित्रिखोलासम्म पनि यातायात सहज बनाउने बारेमा गाउँपालिका र वडा कार्यालय लाग्नुपर्ने देखिएको छ अहिले झरना पुगेका पर्यटकहरुका लागि फोटो खिच्ने राम्रो व्यवस्था भएको स्थान निर्माण गरिएको छैन भने झरना नजिकै विश्राम गर्नेस्थल अभाव देखिएको छ। नौमूले गाउँपालिकाभित्र यस्ता महत्वका तीनवटा झरनाहरु रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.