|

काठमाडौं : मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ। केही दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका तुलाधरको आइतबार दिउँसो निधन भएको हो। अन्नपूर्ण न्यूरो अस्पतालबाट तुलाधरलाई नर्भिकमा सारिएको  थियो। तुलाधर मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो। ७८ वर्षीय तुलाधरको आइतबार दिउँसो पौने एक बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। अन्तिममा उनको 'मल्टीअर्गान फेलियर'का कारण देहावसान भएको बताइएको छ।

केही वर्षअघि उनको मुटुको शल्यक्रिया गरिएको थियो। मानवअधिकार संरक्षण मञ्चलगायत मानवअधिकार संगठनहरूका संस्थापक रहेका तुलाधर काठमाडौंबाट तत्कालीन राष्ट्रिय पंचायत सदस्य निर्वाचित भएका थिए। २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमाले अल्पमत सरकारमा स्वास्थ्यमन्त्री रहेका पद्मरत्न कुनै दलमा आवद्ध नभए पनि उनको वाम आन्दोलनमा सम्वद्धता निरन्तर थियो। सरकार र माओवादी वार्ताका क्रममा उनी सहजकर्ताको रूपमा सक्रिय थिए। तुलाधरको पार्थिव शरीर उनकै निवास लाजिम्पाटमा राखिने र भोलि दाहस‌ंस्कार गरिनेछ।

वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन्। ट्विटरमार्फत् उनले तुलाधरले नेपालको वाम आन्दोलनमा पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताएका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खबर सुन्दा अत्यन्तै दुःख लागेको र नेपालको वाम आन्दोलनमा उनले पुर्‍याएको योगदान सदा स्मरणीय रहने उल्लेख गरेका छन्। 'दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्री अोलीले भनेका छन्।

नेकपाका सांसद कृष्णगाेपाल श्रेष्ठले तुलाधरको निधनबारे सरकारलार्इ जानकारी गराइएको बताए। श्रेष्ठका अनुसार उनको बौद्ध धर्मको प्रचलनअनुसार अन्त्येष्टि गर्ने तयारी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.