|

रुकुम : रुकुम पूर्वको भूमे गाउँपालिका ६ धरमशालाकी ज्येष्ठ नागरिक जुनसरा रोकाले ७३ वर्षको उमेरमा नागरकिता प्राप्त गरिन्। नागरिकता पाउँदा उनी निकै खुसी छन्। उनी भन्छिन्, ‘डाडाँमाथि गएको घाम जस्तो यो उमेरमा आएर नागरिकता पाउँछु होला भन्ने त सोचेकै थिएन।’ नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पनि उनले पाएकी थिइनन्। 

सजिलै हिडडुल गर्न तथा सदरमुकाम सम्म पुग्न गाह्रो हुने यो अवस्थामा गाउँघरमा नागरिकता घुम्ती शिविर संचालन गरेको भन्दै सोही ठाउँका शारीरिक अपांगता भएका व्यक्ति सूर्य वुढाले खुसी व्यक्त गरे। उनीहरू दुबैले शिविर मार्फत नागरिकता प्राप्त गरेका हुन्। यही कार्तिक १७ गते शनिबार भुमे गाउँपालिका ६ धरमशालामा नागरिकता वितरणसम्बन्धी एकदिने घुम्ति सेवा शिविर संचालन गरिएको थियो।

शिविरमार्फत त्यस ठाउँका ३५ जनाले नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए। जसमा महिला २४ र परुष ११ रहेका छन्। जसमा एकजना अपाङ रहेका छन्। नागरिकता वितरण सँगसँगै उनीहरूले मतदाता नामावली समेत भरेका छन्। 

गाउँटोलमा आएर नागरिकता वितरण गरेको भन्दै धरमशालाबासीले खुसी व्यक्त गरेका छन्। प्रमुख जिल्ला अधिकारीको अन्य ठाउँमा पनि नागरिकता पाउनबाट वञ्चित धेरै नागरिकहरू भएको भन्दै यो कामलाई निरन्तरता दिने बताए। गाउँपालिकाका अन्य नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गर्न पहल गरिने भुमे गाउँपालिका अध्यक्ष रामसुर वुढामगरले बताए। रुकुम पूर्व प्रदेश ५ को एकमात्र हिमाली जिल्ला हो। यहाँका दूरदराजका बस्तीबाट सदरमुकाम पुग्न कम्तिमा पनि तीन दिन पैदल हिड्नुपर्छ।

जिल्लाका कोही पनि नागरिक नागरिकता पाउनबाट वञ्जित नहोउन र सिंह दरबारको सेवा सुविधा गाउँघरमै आएको अनुभूति गरुन भन्ने उद्देश्यले सार्वजनिक विदाको दिनमा पनि शिविर संचालन गरेको प्रजिअ शर्माले बताए। ‘हरेक सार्वजनिक विदाको दिनमा तालिका बनाएर नागरिकता शिबिर चाहना र मागअनुसार जिल्लाका सबै ठाउँमा पुग्ने छु’ प्रजिअ शर्माले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.