|

भक्तपुर : कुनै समय भक्तपुरका सरकारी तथा गैरसरकारी र संघसंस्थाका चिठीपत्र र कुरियरका सामान डेलिभरी दिएर नभ्याउने मतांगी दम्पतीलाई यतिखेर फूलको स्याहार गर्दैमा फुर्सद छैन। 

भक्तपुर नगरपालिका- ५ का राधा र युसव मतांगी दम्पतीलाई यतिखेरको दैनिकी निकै चापाचाप छ। बिहानको चियासँगै जरवेरा फूलसँग पौँठेजोरी खेल्ने मतांगी दम्पतीले सेतो विन हाउसमा रातो, सुन्तला, गुलाबी, कलेजी, पहेँलो र सेतो रङको जरवेरा फूल टिप्दै एकै स्वरमा भने, ‘नजिकिँदै आएको तिहार, गोष्ठी, सेमिनार र बुकी बनाउने धेरै अर्डर छ, समयमा पुर्‍याउनुपर्छ।’ 

अहिले फूलको मौसम हो। तिहार नजिक छ। तिहारमा पसलहरूलाई दुलहीझैँ सिँगारिन्छ। त्यो सँगै चाडवाडको समयमा कार्यक्रमहरू गर्दा स्टेज सजाउनुपर्छ। उपत्यकालगायत विभिन्न ठाउँमा गरिने गोष्ठी सेमिनारहरूमा सभा हल सजाउन अचेल जरवेरा फूलको प्रयोग व्यापक भएको पाइन्छ। यसका साथै विगत केही वर्षदेखि दुलही कार, गोष्ठी र कार्यक्रमका स्टेजका साथै बुकीमा सजाउन जरवेरा फूलको प्रयोग बढ्न थालेको छ। जरवेरा फूलको प्रयोगसँगै बजारमा माग बढेपछि मतांगी दम्पतीलाई अचेल घरव्यवहार हेर्नेसमेत फुर्सद छैन।

यो फूल काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न जिल्लाहरू काभ्रे, सिन्धुपाल्चोक, धादिङ, धनकुटालगायतका स्थानमा उत्पादन हुने गरेको छ भने भारतको विभिन्न ठाउँहरूबाट समेत आयात गरिन्छ। चार वर्षदेखि कृषिसँगै जरवेरा फूलको व्यवसायलाई आफ्नो कर्म क्षेत्र बनाउँदै अगाडि बढेका छन्, मतांगी दम्पत्ती। सुरुमा भक्तपुर दूधपाटीमा कुरियर व्यवसाय चलाउँदै जीवन निर्वाह गर्दै आएका दम्पतीले सामुदायिक विकास केन्द्र (सिडिसी) नामक गैरसरकारी संस्था खोलेर च्याउ खेती गरेर कृषि क्षेत्रमा होमिएका हुन्।

यसरी लागे जरवेरा खेतीमा

भक्तपुरका ग्रामीण भेगका महिलालाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले खोलेको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक संस्थाबाट च्याउ खेतीको अनुगमको क्रममा भक्तपुरकै खरिपाटीमा व्यावसायिक रूपमा गरिएको जरवेरा खेती देखेर त्यसबाट प्रभावित भई जरवेरा फूलको खेतीमा लागेका हुन्, मतांगी दम्पती।

सुरुमा भक्तपुरमै जरवेरा खेती गर्न निकै ठाउँमा जग्गा खोजेका दम्पतीले यता नपाएपछि काभ्रेको बनेपामा खोज्न गएको बताए। त्यहाँ सबै मिलेपछि जग्गा भाडामा लिएर जरवेरा फूलको खेतीलाई व्यवसायको रूपमा अगाडि लान सफल भएको युसव मतांगीले बताए। उनले भने, ‘सुरुमा तीन रोपनी जग्गा भाडामा लिएर जरवेरा फूलको खेती गरी व्यावसायिक रूपमा हामी अगाडि बढ्यौँ। यस व्यवसायबारे सबै कुरा थाहा नपाएका कारण केही समय अलि कठिनाइको सामना गर्नुपर्‍यो।’

बोट रोपेको ६० दिनमै उत्पादन सुरु हुने जरवेरा खेतीमा बजार भाउको विषयमा ज्ञान नहुँदा केही समय विचौलियाबाट पीडित हुनुपरेको उनले बताए। ‘बजारमा फूलको दरभाउ के छ, थाहा थिएन। पछि ग्लोबल फ्लोरा प्राइभेट लिमिटेड सम्पर्कमा आयो। त्यसपछि सबै फूल होलसेल दरभाउमा त्यही पुर्‍याउँदै आएका छौँ। हामीले उत्पादन गरेका फूलहरू अहिले त्यसैको माध्यमबाट खुद्रा बिक्रेताकहाँ पुग्ने गर्छ’, राधाले भनिन्।

विचौलियाबाट बच्नका लागि उत्पादन गरेका फूलहरू सबै ग्लोबल फ्लोरा प्राइभेट लिमिटेडको तर्फबाट उपत्यकालगायतका विभिन्न शहरहरूमा निर्यात भइरहेको राधाले बताइन्। अहिलेको बजार भाउअनुसार थोक बिक्रेता मूल्य प्रति फूल छदेखि २५ रुपैयाँसम्म रहेको उनले बताइन्।

बनेपामा सुरु गरिएको जरवेरा फूल खेती अहिले फड्को मार्दै भक्तपुरको चाँगुनारायण नगरपालिका- ८ बागेश्वरीमा आइपुगेको छ। सुरुमा भक्तपुरमा जग्गा खोज्दा नपाएपछि बनेपातिर हुइँकिएका दम्पती अहिले केही साथीहरूको सहयोगमा पुनः भक्तपुरलाई व्यावसायिक थलो बनाउन आइपुगेका छन्। वागेश्वरीस्थित १८ रोपनी जग्गा भाडामा लिएर आफ्नो कर्मलाई सार्थक तुल्याउँदै आएका मतांगी दम्पतीले बढ्दो बजारको मागलाई ध्यानमा राखेर अहिले भारतको पुनाबाट प्रति बोट ८२ रुपैयाँमा ल्याई तीन हजार ५०० फूलका बोट रोपेका छन्।

बनेपामा फूल खेती गर्न जग्गा नपुगेपछि भक्तपुर फर्केको युसवले बताए। उनले भने, ‘बजारमा यसको माग धेरै छ। त्यसअनुसारको अर्डर पनि छ। हामीले पुग्दो मात्रामा दिन सकेनाैँ, त्यही भएर त्यो अर्डर पूरा गर्न हामीले पहिलाभन्दा थप मात्रामा फूल खेती गर्न भक्तपुरमा जग्गा पाएपछि यतै फर्केका हौँ।’ पाँच रोपनी फूलखेतीमा मात्र ४० लाख रुपैयाँ बढी लगानी गरिसकेका दम्पतीले फेरि केही समयपछि थप चार रोपनी जग्गामा जरवेरा फूलको खेती गर्ने तरखरमा रहेको बताए।

जरवेरासँगै बहुबाली खेती 

जरवेरा फूल खेतीसँगै अहिले यी दम्पतीले बहुबाली खेतीसमेत सुरु गरेका छन्। उनीहरूले अहिले जरवेरासँगै छ रोपनी जग्गामा गोलभेँडा खेती, तीन रोपनीमा धनियाँ, क्याप्सिकनलगायत दर्जनौँ प्रकारका हरियो तरकारी बाली लगाइरहेका छन्। जरवेरा फूल र गोलभेँडा खेतीका लागि मात्र ६०-७० लाख रुपैयाँ बढी लगानी गरिसकेको राधाले बताइन्। ‘जरेवरा फूल खेतीले दीर्घकालीन आम्दानी हुने भएकाले हामीले विभिन्न बैंकहरूमार्फत् ऋण लिएर लगानी गरेका हौँ’, उनले भनिन्, ‘यो फूलको बोट एकपल्ट रोपेपछि तीन-चार वर्षसम्म निरन्तर फूल उत्पादन हुन्छ। मात्र यसलाई तापक्रम मिलाएर समय समयमा आवश्यक मलजलसँगै यसको रेखदेख गर्नुपर्छ।’

यसरी रोपिन्छ जरवेरा फूलको बोट

जरवेराको फूल खेती गर्न ३० सेन्टिमिटरको बाटोसहित ७० सेन्टिमिटरको ड्याङ बनाइन्छ। ड्याङ तयार भएपछि गाईगोरुको गोबरको कम्पोष्ट मल राखेर माटोले छोपिन्छ। यसरी छोपिसकेपछि रोप्नुभन्दा एक दिन अगाडि ड्याङमा आवश्यक निर्मलीकरण गरी फूलको बोट रोप्नुपर्छ। बोट रोपिसकेपछि प्रत्येक १०/१० दिनको अन्तरालमा डढुवा रोग र कीराबाट जोगाउन भिटामिन दिने गरिन्छ।

मौसमअनुसार थोपा सिँचाइ गरी पानी दिने यस खेतीमा रोपेको केही समयमै पातहरू धेरै निस्किएर बोट गुम्सिने भएकाले तापक्रम मिलाउन र रोग लाग्नबाट बचाउन पहेँलो, रोग लागेको र सुकेको पात काटेर फाल्नुपर्ने युसवले बताए। बोट रोपेको दुई महिनामै फूल फुल्ने जरवेराको बोटमा पहिलो पल्ट फुल्ने कोपिला भने काटेर फाल्नुपर्ने युसवले बताए। उनले भने, ‘जरवेराको बोट रोपेको ६० दिनमै फूल फुल्ने भएकाले पहिलो आएको कोपिलालाई काटेर फाल्नुपर्छ। यसले गर्दा बोट मजबुत हुनुका साथै पछि फुल्ने फूलहरू राम्रो हुने गर्छन्।’ 

रोजगारीको अवसर प्रदान गर्दै

फूलखेतीसँगै बहुबालीमा व्यस्त रहेका मतांगी दम्पतीले आफूसँगै अरूलाई पनि व्यस्त बनाउन सफल भएकन छन्। उनीहरूले एक पुरुष र पाँच महिलालाई रोजगारीको अवसर प्रदान गर्दै आएका छन्। दैनिक रूपमा फर्मको रेखदेखका लागि एक पुरुषलाई तलबी रूपमा रोजगार दिइरहेका छन्। जरवेरा फूलको पात काट्न र आवश्यक गोडमेल गर्न दैनिक ५०० रुपैयाँ ज्याला दिएर पाँच जना महिलालाई रोजगारको अवसर प्रदान गर्दै आएका छन्।

हेर्नुहोस् फोटो :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.