|

उदयपुर : इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपीसहितको टोलीले स्थानीयसँग माफी मागेका छन्। प्रहरीले स्थानीय महिलामाथि दुर्व्यवहार गरेको भन्दै आइतबार बिहानदेखि उदयपुरको कटारी ४ मरुवाका स्थानीयले सिद्धिचरण राजमार्ग अवरुद्ध गरेपछि उनीहरूले माफी मागेका हुन्।

ईलाका प्रशासन कार्यालय, नगरपालिका, प्रहरी र स्थानीयबीच भएको वार्ताका क्रममा प्रहरीको तर्फबाट हुन गएको दुर्व्यवहारप्रति डिएसपी धुर्वकुमार श्रेष्ठले माफी मागेको इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले जानकारी दिए।

‘गएराति कसमस सिमेण्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने टिपरमा अवरोध गरेको भन्दै प्रहरीले अन्धाधुन्ध लाठी प्रहार, कुटपिट, गालीगलौज गरेको भन्दै स्थानीयले प्रहरीविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका थिए,’ उनले भने, ‘वार्तामा महिलाहरूमाथि अभद्र व्यवहार गर्ने जिम्मेवार पक्षले सार्वजनिक रूपमा महिलाहरूसँग माफी मागे, टिपर वैकल्पिक मार्गबाट मात्रै सञ्चालन गर्ने, द्वन्द सिर्जना नगर्ने, पीडित घाइतेहरूको ईलाका प्रशासन कार्यालयको रोहबरमा उपचार गर्ने, गालीगलौज गर्ने प्रहरीलाई आवश्यक विभागीय कारबाहीका लागि सिफारिस गर्ने सहमति भएको छ।’ त्यसैगरी प्रहरी नायव निरीक्षक श्यामबहादुर राउत र प्रहरी हवल्दार रामेश्वर खड्गालाई आवश्यक कारबाही गर्ने सहमति भएको पनि उनले बताए।

प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी श्रेष्ठको नेतृत्वमा मध्यराति पुगेको टोलीले महिलाहरूमाथि हातपात गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए। सडक अवरुद्ध हुँदा बिहानदेखि ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र जिल्लाकै पहाडी भेग हिँडेका यात्रुहरू अलपत्र परेका थिए। सहमतिपछि आइतबार दिउँसोबाट सबै यात्रुले यात्रा गर्न पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.