|

विराटनगर : लामो समयको प्रतीक्षापछि मोरङको विराटनगर १८ भेडियारीसम्म रेल आएको छ। भारतीय पक्षले आइतबार रेलका इन्जिन ल्याएर रेलवे ट्र्याकको सफल परीक्षण गरिएको छ। उक्त रेलको इन्जिनलाई सर्वसाधारणले भव्य स्वागत गरेका छन्।

भारतको बथनाहादेखि विराटनगर- १८ स्थित बुद्धनगरसम्मको आठ किलोमिटर क्षेत्रको रेलको ट्र्याक परीक्षणका क्रममा आइतबार रेलको इन्जिन आएको छ। निर्माण कम्पनी इर्कनका पदाधिकारी, भारतीय रेल विभागका अधिकारी सवार इन्जिन भारतको बथनाहादेखि नेपालको कस्टम यार्डसम्म आएको हो। न्यू बिजी रेल लाइन प्रोजेक्टअन्तर्गत उक्त ट्र्याक भारतीय निर्माण कम्पनी इर्कनले निर्माण गरेको हो। कम्पनीको प्रमुख आश्विनीकुमारले नेपालले रेल लाइनमा पर्ने जग्गा हस्तान्तरण गरे अबको डेढ वर्षभित्र कटहरीसम्म रेल पुग्ने बताए।

भारतीय ३७३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनाले हालसम्म २३५ करोड रुपैयाँ बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम भएको उक्त कम्पनीले जनाएको छ। भेडियारीसम्म रेलको नियमित संचालनका लागि भने अझै ४५ दिने लाग्ने निर्माण कम्पनीले जनाएको छ। उक्त रेलको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो डिसेम्बर १२ मा गर्ने जनाइएको छ।

भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८.६ किलोमिटर रहेको छ। नेपालतर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण कामले गति लिन भने सकेको थिएन। यद्यपि, उक्त विवाद हाल समाधान भइसकेको छ। नेपाल र भारत सरकारले सन् २०१० मा विभिन्न पाँच स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। यसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले नै गर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले व्यहोर्ने समझदारी गरिएको थियो। सोहीअनुसार भारत सरकारले उक्त रेल आयोजना निर्माण गरिदिएको हो।

नेपालतर्फको कटहरीमा जग्गा मुआब्जा विवादका कारण कामले गति लिन भने सकेको थिएन। सन् २०११ जनवरी २८ देखि सुरु भएको आयोजना लामो समयसम्म मुआब्जा विवादमा गुज्रिएको थियो। सन् २०१३ डिसेम्बरमा सम्पन्न गर्नेगरी भारतीय निर्माण कम्पनी इर्कनले ठेक्का लिएको उक्त काम विभिन्न अड्चन र ढिलासुस्तीले सात वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकिरहेको छैन। तेस्रो मुलुकबाट आयात हुने मालवस्तु कलकत्ता बन्दरगाहबाट विराटनगर नाकासम्म ल्याउन भारत सरकारले मालबाहक रेलको सुविधा भर्खरैदेखि मात्र अनुमति दिएको हो। तर जोगबनीमा कन्टेनर राख्ने ठाउँ नभएकाले कलकत्ताबाट रेलले ढुवानी गरेको मालवस्तु हाल बथनाहासम्म मात्रै ल्याउन सकिन्छ। रेलको लिक बिछ्याउने काम चाँडै सकियो भने रेल सीमा क्षेत्रमा मात्रै नभएर कटहरीसम्म आउनेछ र त्यसबाट नेपाललाई ठूलो राहत हुने स्थानीयको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.