|

काठमाडौं : तीन टुक्रामा विभाजित राप्रपा फेरि एक हुने तयारीमा जुटेका छन्।

कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशम्सेर नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकताको तयारी भएको हो।

राप्रपा प्रजातान्त्रिक काठमाडौंले आइतबार राजधानीमा गरेको चियापानमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्सेर राणाले राप्रपा छिट्टै एक हुने बताए।

अहिलेको सरकारले राम्रो काम नगरेको र जनतालाई कर र महँगीको मारमा पारेको उल्लेख गर्दै अध्यक्ष राणाले भने, 'तिहारलगत्तै पार्टी एक हुन्छ। त्यसपछि सरकार ले गरेको मूल्यवृद्धि र चर्को करको विरोधमा देशव्यापी रूपमा उत्रनेछौँ।'

गएको संसदीय निर्वाचनमा तीन टुक्रा भएर होमिएका तीनै दल राष्ट्रिय पार्टी बन्ने सकेका थिएनन्। देशभर प्रजातान्त्रिक गठबन्धन गरे पनि झापामा वामगठबन्धनसँगको तालमेलका कारण राप्रपाले संसदमा एक स्थान जितेको थियो।

पार्टी एकताको तयारी भइरहँदा चियापान कार्यक्रममा सहभागी केही नेताले भने राप्रपा अध्यक्ष कमल थापाको नाम नलिईकन उनीप्रति रोष प्रकट गरेका थिए।

राप्रपा प्रजातान्त्रिकका सहअध्यक्ष केशरबहादुर विष्टले 'एकता हुनु राम्रो भए पनि मरिसकेपछि पनि दु:ख दिने प्रवृत्ति'लाई भुल्न नहुने बताए।

प्रजातान्त्रिककै महामन्त्री विक्रम पाण्डेले नेतृत्वको भाग मिलाएर मात्रै एकता गर्नुपर्ने बताए।

सोही कार्यक्रममा सहभागी भएका कमल थापा नेतृत्वको राप्रपाका केन्द्रीय सदस्य दिनेश श्रेष्ठले त पार्टीको नाम राप्रपा रहने र अध्यक्ष पशुपतिशम्सेर राणा हुने ठोकुवा नै गरेका थिए। आफ्ना अध्यक्ष थापाप्रति आक्रामक देखिएका श्रेष्ठ राणाप्रति भने लचिलो ढंगले प्रस्तुत भएका थिए।

जिम्मेवारी राणालाई

राप्रपा प्रजातान्त्रिकको आइतबार नै बसेको बैठकले पार्टी एकताबारे निर्णय लिने अधिकार अध्यक्ष राणालाई दिएको छ। एकता वार्ता निर्णायक तहमा पुगेका कारण राणालाई यस्तो अधिकार दिइएको स्रोतले जनाएको छ।

उता, राप्रपाले पनि एकताबारे निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष थापालाई यसअघि नै दिइसकेको छ।

सहमति/असहमति

तीनवटै दलको मूल स्रोत राप्रपा नै हो। त्यसैले पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी मान्न तीनवटै दल तयार छन्।

राप्रपा स्रोतका अनुसार सामूहिक प्रणालीको नेतृत्वको कुनै विधि लिएर अगाडि बढ्न सक्ने अवस्था छ तर सिद्धान्तमा भने अझै कुरा मिलेको छैन।

अब एकीकृत हुने राप्रपाले राजसंस्थाको एजेण्डा खुलेर लिनुपर्ने मान्यतामा राप्रपाका नेताहरू पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पूर्वमन्त्री बुद्धिमान तामाङहरूको समूह छ। तर गणतन्त्रलाई स्वीकार गरिसकेकाहर" त्यसरी जान नसकिने मान्यतामा छन्। राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापालगायतका नेताहरू हाललाई संविधानलाई मानेर अघि बढ्न उचित हुने पक्षमा छन्।

गणतन्त्र पनि नभन्ने र राजसंस्था पनि नभन्ने गरी इतिहास र परम्पराको निरन्तरता अर्थात् सम्वर्द्धनवाद जस्तो शब्दावलीभित्र एकताको आधार खोज्नुपर्ने पक्षमा केही नेता लागेको स्रोतको दाबी छ।

२०४७ जेठ १५ गते स्थापना भएको राप्रपा पटक पटक फुट्ने र मिल्ने गर्दै आएको छ। पछिल्लो पटक २०७३ मंसिर ६ मा एक भएको राप्रपा गत निर्वाचनसम्म आइपुग्दा तीन टुक्रा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.